वीरेन्द्रनगर। कर्णाली प्रदेशसभा बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बिहीबार पनि अवरुद्ध गरेको छ। पारेको छ। आफ्ना मागको सुनुवाइ नभएको भन्दै एमालेले प्रदेशसभा बैठकमा अवरोध पुर्याइएको हो।
बिहीबारको बैठकमा एमाले सांसद तथा पूर्वमन्त्री दल रावलले आफ्नो पार्टीले उठाएको मुद्दाको बारेमा बोलेका थिए। उनले भने, ‘हाम्रो पार्टीले नैतिक ढंगले राजनीतिक मुद्दा उठाएको छ। योतर्फ सरकारको ध्यान किन छैन ? ३९ सिट रहेको प्रदेशसभामा २० सिट एमालेको हुँदा हुँदै पनि १८ सिट रहेका दुईटा दलहरूले सरकार चलाइरहेका छन्।’ नैतिक, लोकतान्त्रिक र वैधानिक रूपमा यो कत्तिको सत्य हो भनेर उनले प्रश्न गरे।
उनले देशको अर्थतन्त्र मजबुत गराउनेदेखि सामाजिक सुरक्षाका कामहरू ओली सरकारले मात्र गरेको दाबी गरे। रावलले जनताको प्यारो पार्टी नेकपा एमालेमाथि ढुंगा हानिँदैछ भनेर आक्रोश पोखे। झण्डै १४ मिनेट चलेको सदनमा रावलले ११ मिनेट जति आफ्नै पार्टीको गुनगान गाउनेदेखि ओलीले गरेको कामको प्रशंसा मात्र गरे। त्यसपछि उनले कर्णालीको अन्तर्राष्ट्रिय स्तरमा छवि विग्रनेगरी कर्णालीको सरकार अघि नबढोस् भन्दै आजको सदनको कामकारबाही अघि बढ्दैन भनेर आफ्नो भाषण टुंग्याएका थिए।
त्यसपछि प्रतिपक्ष दल रोष्टममा विगत जस्तै उभिइरह्यो। सभामुखले पटक-पटक आसन ग्रहण गर्न अनुरोध गर्दा पनि एमालेले नटेरेपछि सभामुख शाहीले असार २७ गते दिउँसो २ बजेसम्मका लागि स्थगित गरे। संसद् चल्न नसकेपछि प्रदेश सरकारको आगामी बजेटमाथिको छलफल पनि अनिश्चित बनेको हो।
यही असार १ गते प्रदेश सरकारले संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको छ। तर संसद् बैठक चल्न नसक्दा बजेटमाथि हालसम्म छलफल नै हुन सकेको छैन। असारभित्रै बजेट पारित गर्नुपर्ने बाध्यता छ। तर सरकार र एमालेबीच सहमति जुट्न नसक्दा बजेटमाथिको छलफल सुरु नै भएको छैन। एमालेले आफ्ना मागको सुनुवाइ नहुँदासम्म संसद् बैठक चल्न नदिने अडान लिएको छ। एमालेको यही अडानका कारण संसद् बैठक लगातार अवरुद्ध हुँदै आएको हो।



लोकपाटी न्यूज
