काठमाडाैँ। नेकपा एमालेभित्रको विवाद समाधानका लागि बिहीबार साँझ एमाले कार्यदलमा रहेका दाेस्राे तहका नेताको बैठक बस्ने भएको छ।
एमालेको केपी ओली पक्षले एकलौटी रुपमा गरेको महाधिवेशन आयोजक कमिटी र त्यसले गरेका कामकारबाहीलाई सर्वोच्चले अवैध ठहर्याएको छ। सर्वोच्चको पछिल्लो आदेशपछि सबै सम्मिलित स्थायी कमिटी बैठक बस्ने तयारी गरे पनि बैठक बस्न सकेको छैन। स्थायी कमिटी बैठकको तयारी र नयाँ परिवेशअनुसार अघि बढ्न आज साँझ ललितपुरको समिट होटलमा कार्यदलमा रहेका नेताहरु बैठक बस्न लागेको बताइएको छ।
एमालेको माधव नेपाल पक्षले पार्टीलाई ०७५ जेठ २ को अवस्थामा पुर्याउनुपर्ने माग गर्दै आएको छ। लामो समयसम्म त्यसमा आनाकानी गरेका ओली ससर्त सो मितिमा फर्किन तयार भएका छन्। दुई साताअघि उनले पार्टी एकताका लागि भन्दै अपिल जारी गरेका थिए। तर, त्यसका लागि नेपाल पक्षले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चमा बुझाएको हस्ताक्षर फिर्ता लिनुपर्ने उल्लेख गरेका छन्।
त्यसको जवाफमा नेपाल समूहले प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधिसभा विघटन अवैध रहेको भन्दै सो फिर्ता लिएमा समस्या समाधान हुने बताएको थियो।



लोकपाटी न्यूज

