काठमाडौं। मंगलबारदेखि लागू हुनेगरी काठमाडाैँ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले आगामी ७ असारसम्म जारी निषेधाज्ञा केही खुकुलो बनाएसँगै बैंकहरूको कोटा प्रणाली पनि हटेको छ।
नयाँ भेरियन्टसहित तीव्र रूपमा फैलिएको कोरोना भाइरसको दोस्रो संक्रमणको लहर केही कम हुँदै गएपछि काठमाडाैँ उपत्यकालगायत मुलुकभरका स्थानिय प्रशासनले दैनिक आर्थिक गतिविधीलाई पनि केही खुकुलो गर्ने निणर्य गरेसँगै अब बैंकहरूले पनि आफ्नो सेवालाई बिस्तारै बढाउँदै लैजाने भएका छन। उपत्यकामा स्थानीय प्रशासनले विगत तीन साताअघि बैंकहरूलाई सीमित शाखा खोल्न कोटा तोकेको थियो। त्यसबेला काठमाडौं जिल्लामा केन्द्रीय कार्यालयबाहेक तीन, ललितपुरमा दुई र भक्तपुरमा एक शाखा मात्र खोल्न निर्देशन दिएको थियो।
अहिले स्थानीय प्रशासनले पनि बैंक तथा वित्तीय शाखा खोल्न गरेको कडाइमा खुकुलो गरेसँगै चालू आर्थिक वर्ष समाप्तिको अन्तिम महिना १ असारदेखि बैंकका शाखाहरू यसअघिको तुलनामा धेरै खुल्ने भएका हुन्। नेपाल राष्ट्र बैंकले अब मंगलबारदेखि कोरोना संक्रमणबाट बच्नका लागि आवश्यक मापदण्डका सम्पूर्ण स्वास्थ्य सुरक्षा अपनाएर बिस्तारै यसअघिको कोटा प्रणाली हटाउँदै थप शाखा खोल्न सरकारसँग आग्रह गर्ने बताएको छ।
राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले अब चालू आवको अन्तिम महिना असार मसान्त लागेकाले बैंकहरूमा सेवाग्राही थपिने र बैंकहरूको काम पनि धेरै हुने भएकाले एक दिन बिराएर बैंकका शाखाहरू खोल्न आग्रह गरिने बताए। अब स्थानीय प्रशासनले पनि बैंकको कर्मचारीलाई परिचयपत्र देखाएर हिँडडुल गर्न दिने भनेकाले बिस्तारै बैंकिङ सेवा बढाउँदै लैजाने तयारीमा राष्ट्र बैंक जुटेको छ। सोमबार एक निर्देशन जारी गर्दै राष्ट्र बैंकले सरकार तथा विश्व स्वास्थ्य संगठनको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गरी सेवा प्रवाहमा संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न आवश्यक सम्पूर्ण उपायहरू अवलम्बन गर्न सबै बैंकहरूलाई यस्तो भनेको हो।
राष्ट्र बैंकले काठमाडाैँ उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको निणर्यअनुसार बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन जारी गर्दै यसअघि शाखाहरूको संख्यामा लगाएको संख्यात्मक बन्देज हटाएको हो। यसअघिको निर्देशनमा सीमित शाखासमेत २५ प्रतिशत मात्र कर्मचारी राखेर खोल्न पाइने भनिएको थियो। तर, सोमबार जारी भएको यस नयाँ निर्देशन अनुसार शाखा सञ्चालनमा केही लचक व्यवस्था गरिएको छ।
बैंक तथा वित्तीय संस्थाले आफ्नो व्यावसायिक निरन्तरतालाई उच्च प्राथमिकता राखी कार्यलय उपस्थित नभई सम्पादन गर्न असम्भव हुने कामको लागि मात्र कार्यलयमा उपस्थित गराई सेवा प्रदान गर्न सबै बैंकहरूलाई निर्देशन दिएको छ। यसैगरी, सबै बैंकहरूलाई अझै संक्रमण फैलिने जोखिम कायमै रहेको भन्दै सकेसम्म घरबाटै आफ्नो सेवा प्रदानमा जोड दिन राष्ट्र बैंकले सुझाएको छ।



लोकपाटी न्यूज

