काठमाडौं। जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षभित्र विवाद चुलिएको छ। राजेन्द्र महतोको नेतृत्वमा ८ जना मन्त्री र २ जना राज्यमन्त्रीसहित जसपाको ठाकुर पक्ष सरकारमा सहभागी भएपछि उक्त समूहमा विवाद चुलिएको हो। ठाकुरलाई लामो समयदेखि साथ दिँदै आएका नेता राजकिशोर यादवले असन्तुष्ट सांसदहरुको नेतृत्व गरेका छन्। यादवले आफूसहित ५ जना सांसदहरुको छुट्टै समूह बनाएका छन्।
यादवनिकट स्रोतकाअनुसार ठाकुर पक्षका असन्तुष्ट सांसदहरु यतिवेला अर्का अध्यक्ष उपेन्द्र यादवसँग निरन्तर सम्वादमा छन्। जसपा सरकारमा गए यादव पनि मन्त्री बन्ने चर्चा चल्दै आएको थियो। तर, अन्तिममा यादवलाई ठाकुर र राजेन्द्र महतोले रोकेका थिए। ठाकुर र महतोको यो कदमपछि यादव रुष्ट बनेका हुन्। तर, ठाकुर पक्षका नेताहरुले भने यादव असन्तुष्ट नरहेको र आफूहरुको साथमै रहेको दाबी गर्दै आएका छन्। ठाकुर पक्षमा २० जना सांसद थिए।
तर, राजकिशोर यादवलगायत ५ जना सांसदले साथ छोड्ने भएपछि संसदीय दलमा पनि अब उपेन्द्र यादव पक्ष नै बहुमतमा पुग्ने भएको हो। जसपाको निर्णायक कमिटी कार्यकारिणी समितिमा भने यादव पक्षको स्पष्ट बहुमत छ। अहिले एक पक्षले अर्को पक्षलाई कारबाही गरेका छन्। दुवै पक्षको विवाद यतिवेला निर्वाचन आयोगमा पुगेको छ।



लोकपाटी न्यूज

