प्रदेश २ काे जसपा संसदीय दलकाे नेतामा मूख्यमन्त्री राउत

Lalbabu-Raut
लोकपाटी न्यूज

धनुषा। जनता समाजवादी पार्टीले प्रदेश नम्बर २ को संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउतलाई चयन गरेको छ। जसपाका केन्द्रिय अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर संघीय सरकारमा राजेन्द्र महतोको नेतृत्वमा सहभागी भएसँगै  प्रदेश २ मा  जसपाका बहुमत सांसदहरुको हस्ताक्षरसहित अध्यक्ष उपेन्द्र यादव पक्षका मुख्यमन्त्री राउत संसदीय दलको नेतामा चयन भएका हुन्।

प्रदेशसभा सचिवालयमा आजै पत्र सहित जानकारी गराइने भएको छ। यससँगै प्रदेशमा समेत सत्ता समीकरण फेरबदल हुने सम्भावना पनि बढेको छ। जसपाका अर्का केन्द्रिय अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा जनकपुरधाममा चलिरहेको बैठकबाट संसदीय दलको नेतामा राउतलाई चयन गरिएको बैठकमा सहभागी एक नेताले बताए। बैठकमा सहभागी नेताका अनुसार बैठकबाट जसपाको संसदीय दलको विधान पारित गर्नुका साथै संसदीय दलको नेता समेत चयन गरिएको छ।

संघीय सरकारमा महन्थ-राजेन्द्र समुह ओली सरकारमा सहभागी भएसँगै प्रदेश- २ मा समेत सरकार पुनर्गठन हुने चर्चाबीच अध्यक्ष उपेन्द्र यादवले आफ्नै उपस्थितिमा संसदीय दलको बैठक बोलाएर संसदीय दलको विधान पनि पारित गराएका हुन्। बैठकमा तत्कालिन समाजवादी पार्टीका ३० र तत्कालिन राजपाबाट ६ जना प्रदेशसभा सदस्य गरी ३६ जनाले सो निर्णयमा हस्ताक्षर गर्नुका साथै अन्य केही प्रदेशसभा सदस्यहरुलाई समेत पक्षमा ल्याउने तयारी भइरहेको ती नेताको भनाइ छ। बैठकमा पार्टी सरकार बचाउने क्रममा अल्पमतमा पर्ने अवस्था आएमा मन्त्रालयहरूलाई फुटाएर मन्त्रालयको संख्या समेत विस्तार गर्नेबारे पनि छलफल गरिएको थियो।

एक नेताका अनुसार सामाजिक विकास मन्त्रालय फुटाएर सामाजिक र स्वास्थ्य मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय फुटाएर उद्योग, वन तथा वातावरण र पर्यटन मन्त्रालय बनाउने तथा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय फुटाएर भूमि, कृषि र सहकारी मन्त्रालय अलग-अलग बनाइने भएको छ। यादव पक्षले काँग्रेस र माओवादी केन्द्रसँग सत्ता साझेदारीका लागि छलफल अघि बढाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्