काठमाडाैँ। बेलायतको हाउस अफ लर्ड अर्थात् उपल्लो सदनमा नेपालमा बढ्दै गइरहेको कोभिड-१९ संक्रमण विरुद्धको लडाइँमा बेलायतको सहभागिता हुनुपर्ने बहसले प्रवेश पाएको छ। नियमित रूपमा बस्ने गरेको उपल्लो सदनको बिहीवारको छलफल नेपाललाई सहयोग गर्ने विषयमा केन्द्रित थियो।
निकै छोटो चलेको बैठकमा नेपालले बेलायतका हरेक मोर्चामा सहयोग गरेको र हामीले हाल नेपालले भोगेको संकटमा सहयोग गर्नुपर्ने वक्ताहरूको राय थियो। आफ्नो भनाइ राख्दै लर्ड ल्यान्कास्टर अफ किम्बोल्टनले नेपाललाई २० लाख खोप उपलब्ध गराउन अनुरोध गरेका थिए। नेपाल लगायत विकासोन्मुख राष्ट्रहरूलाई बेलायतले खोप उपलब्ध गराउन पहल गरिसकेको र नेपालका लागि करीब ३ लाख ५० हजार कोभ्याक्स छुट्याइसकेको कुरा सदनलाई सरकारको तर्फबाट लर्ड अहमद अफ विम्बल्डनले जानकारी दिए।
२ दिनअघि मात्र नेपालका परराष्ट्रमन्त्रीसँग छलफल भएको र यहाँस्थिति नेपाली दूतावासका प्रतिनिधिसँग पनि छिट्टै भेटेर आफ्नो योजना राख्ने अहमदले सदनलाई बताए। बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले पनि सम्बन्धित निकायमा निरन्तर रूपमा संवाद भइराखेको र सकारात्मक प्रतिक्रिया आएको बताए।
केही दिनअघि मात्र बेलायतकी चर्तित नायिका जुवाना लुम्लेलगायत करीब ५० जना बेलायतीहरूले नेपाललाई खोप उपलब्ध गराउन सरकारलाई पत्र लेखेर आग्रह गरेका थिए। नेपाली संघसंस्थाले संस्थागत रूपमै पिटिसनमार्फत ऐक्यवद्धता चलाएर दबाब दिन समाजसेवी रमेशराज पण्डितले अभियान नै सञ्चालन गरेका छन्।



लोकपाटी न्यूज