काठमाडाैँ। प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपतिले गरेकाे संसद् विघटनकाे कदमका विरुद्ध कानुनी र राजनीतिक दुवैरुपमा प्रतिरोध गर्ने निर्णय गरेको छ। सभापति शेरबहादुर देउवाको निवासमा शनिवार बिहान बसेको शीर्ष नेताहरुको बैठकले यस्तो निर्णय गरेको हो। बैठकपछि बाेल्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री र राष्ट्रपतिको कदमका विरुद्ध विपक्षी गठबन्धनमा रहेका सबै दल र नेताहरुले संयुक्त रुपमा कानुनी र राजनीतिक लडाई लड्ने निर्णय भएको जानकारी दिए।
उनका अनुसार केहीबेरपछि विपक्षी गठबन्धनको बैठक बानेश्वरस्थित संघीय संसद भवनमा बस्दैछ। बैठकले कसरी याे कदमकाे प्रतिरोध गर्ने भन्नेबारे थप कार्यक्रमहरु स्पष्ट रुपमा तय गर्नेछ। विपक्षी गठबन्धनका तर्फबाट शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एमालेका १४९ सांसदहरुलाई बानेश्वरस्थित संघीय संसद भवनमा बोलाइएको छ।
‘पहिले सर्वदलीय छलफल गर्ने, त्यसकालागि हस्ताक्षर गर्ने सबै सांसदहरुलाई संसद भवनमा बोलाइएको छ, त्यसपछि अदालतमा रिट हाल्ने र अरु कार्यक्रमहरु बनाएर प्रतिरोध गर्ने कुरा भयो,’ नेता पौडेलले भने। राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वान बमोजिम संविधानको धारा ७६ (५) अनुसारको प्रधानमन्त्रीका लागि विपक्षी गठबन्धनका १४९ सांसदको हस्ताक्षरसहित कांग्रेस सभापति देउवाले शुक्रबार राष्ट्रपति समक्ष दाबी पेश गरेका थिए।
उता एमाले र जसपाको संसदीय दलको समर्थनसहित प्रधानमन्त्री केपी ओलीको पनि दाबी परेको थियो। तर, मध्यरातमा राष्ट्रपति भण्डारीले दुवै दाबी पत्रहरु खारेज गर्दै मन्त्रीपरिषद्को सिफारिसमा प्रतिनिधिसभाको विघटन गरेकी थिइन्। प्रतिनिधिसभाको विघटनसँगै पहिलो चरणको चुनाव कात्तिक २६ गते र दोश्रो चरणको चुनाव मंसिर ३ गते गर्ने घोषणा समेत गरिएको छ।



लोकपाटी न्यूज

