काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा आठ हजार तीनसय पाँच जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ६९५ पीसीआर र ३९२ जनामा गरिएको एन्टीजने परीक्षणमा उक्त संख्यामा कोरोनाका नयाँ संक्रमित थपिएका हुन्।
यो संख्यासँगै हालसम्म नेपालमा कोरोनाबाट संक्रमित हुनेहरुको संख्या चार लाख ८८ हजार ६४५ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा ६ हजार पाँच सय ४३ जनाले कोरोना भाइरसको संक्रमण जितेका छन्। मन्त्रायका अनुसार यो संख्यासँगै हालसम्म कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेको संख्या तीन लाख ६६ हजार ९४६ पुगेको छ।
बुधबार एक्कासी २४६ जनामा पुगेको मृत्युको संख्या भने बिहीबार घटेको छ। बिहीबार देशभर एकसय ९० जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। यससँगै हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच हजार सात सय ८७ पुगेको छ। कोरोना संक्रमित मध्ये निको हुने दर ७१.१ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै हालसम्म नेपालमा कोरोनाविरुद्धको भ्याक्सिन २१ लाख १३ हजार ८० जनाले पहिलो डोज लगाएका छन् भने, दोस्रो डोज चार लाख २६ हजार पाँचसय १० जनाले लगाएको मन्त्रालयले जनाएको छ।



लोकपाटी न्यूज

