‘सही विचार माटोले जन्माउँछ!’

Dilaram Acharya
लोकपाटी न्यूज

डिलाराम आचार्य / दृष्टिकोण निर्माण सजिलो र अप्ठ्यारो दुवै प्रक्रियाबाट हुन्छन्। मानिसहरूको दृष्टिकोण निर्माणको प्रश्न आफैँमा एक जटिल प्रक्रिया पनि हो। विशिष्ट दृष्टिकोण निर्माणको निम्ति विशिष्ट, अध्ययन, चिन्तन, मनन, सामाजिक सम्बन्ध र संघर्षहरुको विशिष्ट योगदान हुन्छ। अर्कोतर्फ स्वतःस्फूर्त रूपमा पनि दृष्टिकोणहरू निर्माण भइरहेको हुन्छ। हरेक मानिसहरूका आ-आफ्ना दृष्टिकोणहरू हुन्छन्। ती एक आपसमा हुबहु मिल्छन् भन्ने पनि हुँदैन। स्वतःस्फूर्त रूपमा निर्माण भएका दृष्टिकोणहरू मुख्यतः तदर्थवादी किसिमका हुन्छन्। बाबुआमा, घरपरिवार, समाजसँगको संगतबाट नै प्रारम्भिक दृष्टिकोणहरू निर्माणको प्रक्रिया सुरु हुन्छ। हाम्रो समाजको बनावटको आम प्रवृत्तिले मानिसहरूलाई प्रारम्भमा प्रदान गर्ने तदर्थवादी दृष्टिकोण नै हो। उमेर बढ्दै जाँदा सामाजिक सम्बन्धहरूको विस्तार हुँदै जानेक्रममा स्कुल, कलेज, विश्वविद्यालय, पेसा, व्यवसाय, जागिर वा जीविका उपार्जनका विभिन्न उपायको निम्ति क्रियाशीलता बढ्दै जाँदा सामाजिक सम्बन्धहरूको पनि विस्तार हुँदै जान्छ। त्यसरी नै दृष्टिकोणहरू पनि खारिँदै र विकसित हुँदै विशिष्ट दृष्टिकोणहरू निर्माण हुँदै जान्छन्।

मेरो दृष्टिकोण निर्माणको सन्दर्भमा जीवन जिउने जटिलताहरूले दृष्टिकोण निर्माणमा प्रभावहरू पार्ने नै भए। बाल्यकालमै पाको मानिसको जिम्मेवारी वहन गर्नुपर्ने, १० वर्षको उमेरमै केही न केही कमाउनको निम्ति बिदेशीनु पर्ने र विदेशमा बाल श्रमिकको रूपमा आफ्नो बाल्यकाल गुजार्नु पर्ने बाध्यताहरूले दृष्टिकोण निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको हुनुपर्छ। भारतमा बाल श्रमिकको रूपमा काम गर्दा र पछि पनि भोग्नुपरेका उत्पीडनहरू आफूले भोगेका र देखेका घटनाहरूले पनि कमोबेश मनस्थितिमा एउटा छाप पारेकै हुनुपर्छ। यही पृष्ठभूमिमा १६ वर्षको उमेर पार गर्दै जाँदा कम्युनिस्ट आन्दोलनमा संलग्नताले दृष्टिकोण निर्माणको सन्दर्भमा महत्त्वपूर्ण भूमिका खेलेको हुनु पर्छ। कम्युनिस्ट पार्टीमा सामेल भएपछि पार्टीका नीति कार्यक्रमहरू घोषणा र विधानहरू पढ्दा आफ्नै दुःख कष्ट र अपमान र अप्ठ्याराहरूसँग परिचित भएर तयार पारिएका सामग्रीहरू जस्तो आत्मबोध भएको थियो। तिनै कार्यक्रम र घोषणाहरूको प्रभावले आफू एकदमै ठिक ठाउँमा संगठित भएको अनुभूति हुन्थ्यो। त्यसरी भारतमा ६ वर्ष जागिर गरेपछि कम्युनिस्ट पार्टीमा सामेल हुने मात्र होइन कि केही समयपछि पूर्णकालीन कार्यकर्ता पनि बनियो। त्यसरी कम्युनिस्ट आन्दोलनले भित्री देखि आकर्षण बढाउँदै लग्यो। आन्दोलनप्रतिको आस्था र विश्वास झनपछि झन् कसिलो हुँदै गयो।

पेशेवर कार्यकर्ता बनेपछि कैयौं अप्ठ्यारा र जटिलताहरू थिए नै। तर मनमा एक प्रकारको आत्मसन्तुष्टि पनि थियो। आन्दोलनको काममा पूर्ण समय दिन पाएकोमा आफ्नो वर्ग समुदायप्रति योगदान गर्न सकेको छु भन्ने आत्मसम्मान जागृत भएर आउँथ्यो। त्यो समयको आन्दोलन भित्रको मानसिकता र स्प्रिट एकदमै त्यागी र समर्पित खालको हुन्थ्यो। कतैबाट केही पाइहालिन्छ कि भन्ने मानसिकता बिलकुलै हुँदैनथ्यो वा नगन्ने मात्रामा सुषुप्त रूपमा मात्र हुन्थे। आन्दोलनको त्यस्तै परिस्थितिमा सामेल भएर मेरो दृष्टिकोण निर्माण निरन्तर अगाडि बढिरह्यो।

बाल्यकालमा भोग्नुपरेको पिडा र दुःखहरूले पछिल्ला जिन्दगीका दुःखहरू अप्ठ्याराहरू अपमान र अवहेलनाहरूलाई सहजै सहन गर्न सक्ने चेतना निर्माण गर्न धेरै नै मदत गर्‍यो। परिस्थितिले उत्पीडित समुदायको अन्तिम विन्दुमा पुराएको अवस्थाबाट आफ्नै जीवन संघर्षका अनुभवको जगमा मेरो चेतना निर्माण हुँदै गयो। प्रगतिशील दृष्टिकोण निर्माणको प्रश्न पनि मूलभूतरूपले त्यही जगबाट माथि उठ्ने क्रमसँगै हुँदै गयो।

सामाजिक जिन्दगीका पछिल्ला घटनाहरूमा कैयौं अवस्थामा मानिसहरूले हराउन खोज्ने, गलाउन खोल्ने, घुँडा टेकाउन खोल्ने, जिन्दगीका आफ्नै कैयौं पिडादायक घटनाहरू, पारिवारिक अभाव गरिबीका समस्याहरू पनि नभएका होइनन्। तर ती सबै समस्या हरूसँग दृढता पूर्वक सामना गरेर अगाडि बढ्न मेरो निम्ति बाल्यकालीन जीवनका कठिन अनुभवहरूले पछिल्ला दुःख कष्टहरूलाई सहज र सजिला कामहरू जस्तै अनुभव हुन थाले। मेरा अगाडिका चुनौतीहरूलाई मैले सजिलै हाँसी हाँसी सामना गरेर अगाडी बढ्न सक्ने परिस्थिति बन्यो। सुन्दर सपनाहरू बोकेको तर कठिन, रोमाञ्चित र उत्साहजनक तर चुनौतीपूर्ण, क्रान्तिकारी आन्दोलनको जीवन यात्रामा समर्पित भएर अगाडि बढ्न मेरो बाल जिन्दगीका महत्त्वपूर्ण अनुभवहरूको संगालो ले धेरै ठूलो मदत र निरन्तर हिम्मत, धैर्यता र साहस प्रदान गरिरहे।

मैले भोगेको आफ्नो बाल्यकालका दुःख कष्टहरू र अनुभवहरू कुनै स्कुल कलेज वा विश्वविद्यालयमा हासिल गरेको ठूला उपाधिहरू भन्दा फरक प्रकृतिका तर कमसल छैनन् भन्ने दृष्टिकोण निर्माण हुँदै गयो। कष्टकर जिन्दगीको एउटा गहिराई छामेको कारणले कतै न कतै अलि रुखो, कठोर, निर्भीक, अटेर, जिद्दी जस्तो पनि बनाए होला। तर मेरो अनुभवमा विनम्रताको कतै कमी थियो भन्ने लाग्दैन आफ्नो जीवनमा। बाल्यकालको कठिन जीवन संघर्षका अनुभवले उमेर बढ्दै जाँदा मनमा साहास पैदा भएको अनुभव हुन थाल्यो। दृढता, स्पष्टता आँट र जस्तोसुकै कठिनाइसँग पनि सामना गर्न सक्छु भन्ने आत्मविश्वास पैदा गर्न महत्त्वपूर्ण भूमिका खेल्यो। मेरो चेतनाको मुख्य श्रोत घरपरिवारसँगको १० वर्षको संयुक्त जीवन, छोटो स्कुले जीवन र बाल्याकालको कठिन श्रमिक जीवनबाट प्राप्त गरेका अनुभव मुख्य हुन्। त्यसरी प्राप्त चेतनालाई परिमार्जन गर्न भने कम्युनिस्ट आन्दोलनसँगको सामीप्ययताले नै मुख्य बल पुर्‍याएको हो। यो कुरामा मलाई कुनै घमण्ड त छैन। तर आफैप्रति आफ्नो विगतप्रति गर्व भने अवश्य छ र हुन्छ। जीवनको त्यो भोगाइबाट आजसम्मका हजारौं दुःख कष्ट हेला होचो अपमान हन्डर टक्करका साथै मान सम्मान सुखद अनुभव र भोगाइहरूको लामो शृंखलालाई फर्किएर सर्सती हेर्दा गर्वको अनुभूति भएर आउँछ। यो कुनै घमण्ड हैन जिन्दगीका यथार्थहरूको आत्मबोध हो भन्ने म ठान्दछु।

त्यो बेला हामीहरू पार्टीमा सामेल हुँदाको परिस्थिति आजको भन्दा धेरै नै फरक र उत्कृष्ट थियो। पार्टीका साथीहरूमा त्याग, समर्पण, निरन्तरता र लगनशीलताको भावनाबाट ओतप्रोत हुन्थे। आफ्ना सहयोद्धा, सह यात्रीहरूलाई असाध्यै नजिकबाट माया गर्ने सहयोग गर्ने तर वैचारिक र व्यवहारिक कमजोरीको प्रश्नमा खोलस्त र तीव्र आलोचना गर्ने वातावरण थियो। त्यो वातावरणले पनि आफूले आफैँलाई माझ्न ढेरै मद्दत गर्‍यो। अर्कोतर्फ पार्टीभित्र तीव्र वैचारिक बहसहरू पनि सञ्चालन हुँदैथियो। तत्कालीन चौमभित्र तीव्र किसिमले वैचारिक मतभेदहरू चलिरहेका थिए। त्यही मतभेद कै सिलसिलामा पार्टीहरू विभाजन पनि भए पटक पटकका वैचारिक मतभेदहरूमा हामीहरू पनि आफ्नो ठाउँबाट आफ्नो बुझाइ र आफ्नो चेतना अनुसार सामेल हुँदै गयौ ती वैचारिक अन्तर संघर्षहरुको संलग्नताले हामीहरूलाई वैचारिक रूपमा थप स्पष्टता ल्याउन भने धेरै ठूलो मदत मिल्यो।

आन्दोलनमा सामेल भइसकेपछि नयाँ चेतना नयाँ दृष्टिकोण र नयाँ विचारको आधारमा आफूलाई तयार पार्न भरमग्दुर कोसिस गरियो। कथनी र करणी मा भिन्नता नहोस् भनेर सजगता पूर्वक जीवन व्यवहारलाई नयाँ चेतना अनुसार ढाल्न निरन्तर कोसिस जारी राखियो। आन्दोलन भित्रै आदर्श एउटा भन्ने गर्ने अर्कै प्रकारका दोहोरो चरित्रहरू पनि थिए छन् र भइरहन्छन्। त्यस प्रकारको चरित्र प्रति कहिले मोह भएन र कुनै आकर्षण पनि रहेन।

त्यति बेला संख्यात्मक हिसाबले आन्दोलनमा सामेल साथीहरूको संख्या ज्यादै कम थिए। तर वैचारिक हिसाबले धेरै ठूलो ऊर्जा र तागत थियो। समर्पणको भावना थियो कुनै लोभ लालच र पद लोलुपता थिएन। त्यसैले सबल र सशक्त थियो आन्दोलनको तागत। त्यही सम्पूर्णरूपले समर्पणको तागतले नै हामीलाई विविध संघर्षका माध्यमहरू हुँदै यहाँसम्म ल्याई पुर्‍याएको हो भन्ने कुरामा कुनै भ्रम छैन र हुनुहुँदैन। आज संख्याको हिसाबले धेरै विशाल संख्या कम्युनिस्ट पार्टीमा सामेल भएको छ। तर वैचारिक हिसाबले स्खलनको यात्रामा ओरालो लागिरहेको अवस्था जस्तो छ। वैचारिक स्पष्टता त्याग समर्पण इतिहासका सुन्दर शब्द मात्रै बन्न पुगेका छन्। आजको जीवन व्यवहारसँगको सबन्ध र साइनो क्रमशः नगण्य जस्तै बन्दै गइरहेको वर्तमान परिस्थिति छ। वैचारिक हिसाबले कमजोर हुँदै आफ्नै आदर्शहरूबाट स्खलित भइरहेको दुखद अवस्था तिर हाम्रो आन्दोलन गईररहेको छ। छिटै ठोस र गम्भीर कदम चालेर परिस्थितिलाई सँभाल्न सक्ने हो भने कम्युनिस्ट पार्टीमा सामेल यो विशाल संख्या धेरै ठूलो पुँजी पनि हुनसक्छ भविष्यको हाम्रो न्याय र समानताकोआन्दोलनको निम्ति। तर त्यसको लागि धेरै गम्भीर र सामूहिक पहलकदमीको आवश्यकता छ र नेतृत्वबाट एउटा आँट र छलाङ पनि।

भारत प्रवासमा नै छदाको सन्दर्भमा हामीले गरेका दुई वटा कारबाहीहरूप्रति मलाई पछुतो छ। एउटा संस्कार, परम्पराको सन्दर्भमा सर्वहारा विश्व दृष्टिकोण अनुसार मिलेन भनेर पूजापाठ सित जोडेर एक जना कमरेडलाई कारबाही गरियो। तर पछि देश भित्रबाटै पार्टीका ठूला नेताले आफ्ना अभिभावकको निधनको असोज बारेर सेतो पहिरन गरेर दिल्ली पुग्नु भयो। यो देखेर हामी आफ्नो कारबाहीप्रति एकातिर र अर्कोतिर पार्टीका बढे नेताप्रति दुबिधामा पर्‍यो। हामीले त्यतिखेर ठूला नेतालाई बेठिक भन्न सकेनौं। तर नेतृत्वपंक्ति मानै त्यस प्रकारका अस्पष्ट दृष्टि कोणहरू थिए। एउटा अर्को कारबाही पार्टीको एक जना जिल्ला स्तरीय नेताले आफूले रक्सी खाएर सामान्य मजदुरको पाकेको भातको कसौंडीसँग भकुण्डो खेल्नुभएछ। मजदुरले रुँदै राती रिपोट गरे। त्यो कुरा मैले थाहा पाएपछि तुरुन्तै ६ महिनाको निम्ति पार्टी सदस्यबाट कारबाही गर्ने निर्देशन दिए। तर पछि कारबाही परेका सदस्यले केन्द्रमा रिपोर्ट गरेछन्। केन्द्रीय समितिको बहुमतले कारबाही फुकुवा गर्ने निर्णय गर्‍यो। त्यो निर्णयले मलाई धेरै नै दुखी तुल्यायो। किन कि त्यो कारबाही रक्सी खाएको कारणले होइन। एक जना मजुरको पाकेको भात रातिको समयमा लात्ताले हानेर पोखिदिएको कारणले गरिएको थियो। त्यो विषय सामान्य नभएर दृष्टिकोणसँग गम्भीर रूपले जोडिएको थियो भन्ने मेरो बुझाइ थियो र छ।

यहाँ म सम्झन चाहन्छु कमरेड मोहनविक्रम सिंहले मलाई पटक पटक भन्नुहुन्थ्यो तपाईंले बुद्धिजीवीहरूको सम्मान गर्नु हुन्न भन्ने कुरा आइरहन्छ। त्यसमा सुधार गर्नुपर्‍यो। मैले सुधार गरेकी गरिन। त्यो आफ्नो ठाउँमा छ। तर म आज यहाँ भन्न चाहन्छु यो कुरा मिठो लाग्छ कि तीतो। त्यो मलाई थाहा छैन। मेरो दृष्टिकोण निर्माणमा पहिलो मेरो जिन्दगीको बाल्यकालका अनुभवहरू, दोस्रोमा कम्युनिस्ट पार्टीसँगको आबद्धता, तेस्रोमा कमरेड मोहनविक्रम सिंहको नै भूमिका छ। उहाँले तत्कालीन पार्टीको निर्णयअनुसार समयको एक कालखण्डमा मेरो जिन्दगीको सकारात्मक प्रयोग हुने अवसर जुटाई दिनुभयो। सायद २०४२ र 0४३ साल तिरको कुरा हुनु पर्छ। पार्टी केन्द्रमा एउटा योजना बनेछ। बुद्धिजीवीहरूलाई मजदुरहरूले प्रशिक्षित गर्ने व्यवस्था मिलाउने, त्यसको लागि मजदुरहरू मध्यबाट म छानिए छु। मलाई खबर भयो। म देशभित्र आए। प्युठान, अर्घाखाँची, कपिलवस्तु, रुपन्देही, नवलपरासी चितवन हुँदै काठमाडौंसम्म विभिन्न बुद्धिजीवीहरूलाई कतै राति र कतै दिनमा, कतै सामूहिक र कतै छुट्टाछुट्टै छलफल र अन्तरक्रियाहरू आयोजना गरेर उहाँहरूको विचार सुन्ने र आफ्नो विचार दृष्टिकोणहरू बताउने काम गरियो। काठमाडौंको छलफल डिल्लीबजारस्थित सिन्धु नाथा प्याकुरेलको घरमा भएको त्यो छलफलमा सिन्धु नाथ प्याकुरेल मुक्ति प्रधानलगायतका बुद्धिजीवीहरूको उपस्थित थियो। त्यसको संयोजन डा. बाबुराम भट्टराईले गर्नुभएको थियो।

त्यो अभियानले हाम्रो देशका बुद्धिजीवीहरुले देश समाज राष्ट्र राष्ट्रियता परिवर्तन र यो सबैमा आफ्नो भूमिकाको बारेमा कसरी सोच्दछन् ? कसरी विचार गर्छन् ? देशमा के भइदिए हुन्थ्यो भन्ने चाहन्छन् र त्यसको निम्ति आफूहरू कतिसम्म त्याग गर्न तयार छन् र छैनन् भन्ने कुराको भित्री र गहिरो गरी बुझ्ने र अनुमान लगाउने अवसर प्राप्त भएको थियो। तर मेरो कुराबाट उहाँहरूलाई कस्तो अनुभव भयो भन्ने कुरा मसँग कुनै जानकारी छैन। एउटा भर्खरको कलकलाउँदो मजदुर ठिटो र उसका जोगीका जस्ता त्याग तपस्या बलिदान मुखी कुराहरूले उहाँहरूले तीतो र मीठो दुवै अनुभव गर्नुभयो होला भन्ने मेरो अनुमान छ। उहाँहरू मध्ये धेरैजसोसँग निरन्तरको संवाद र सम्पर्क भने कुनै न कुनै रूपमा आज पनि जारी नै छ।

त्यस्तै डा. बाबुराम भट्टराईले आफ्नो पढाइ सिध्याएर काठमाडौं आएपछि कुरा हो। सायद २०४४ र ४५ तिरको उहाँले आफ्नो डेरा भुराँखेलमा काठमाडौंका विभिन्न बुद्धिजीवीहरूको हप्तामा एक दिन छलफलको आयोजना गर्नु हुँदो रहेछ। त्यो बेला म पनि काठमाडौं आएको रहेछु अखिल नेपाल युवक संघको राष्ट्रिय सम्मेलनमा सहभागी हुन। त्यो सम्मेलन गोदावरी भन्दा माथिको जंगलमा उद्घाटन भएको थियो। मेरो बसाइ बाबुराम जी कै डेरामा हुन्थ्यो। त्यसैले बुद्धिजीवीहरूको एउटा छलफलमा सहभागी हुने अवसर मलाई पनि जुरेको थियो। त्यो दिन अरू दिनभन्दा कम बुद्धिजीवीहरू भेला भएका रहेछन् भन्ने मैले जानकारी पाएँ। जे होस छलफल सुरु भयो एक जना बुद्धिजीवी वक्ताले देशका सबै पार्टीले कुन-कुन पार्टीले के के गर्नुपर्छ भनेर देशका सबै पार्टीको निम्ति विस्तृत योजना प्रस्तुत गरे। उनको कुरा सुनेर मैले प्रश्न गरेँ। पार्टीहरूले त त्यसो गर्नुपर्छ भन्नुभयो तर त्यसमध्ये तपाईंको आफ्नो कुरा चाहिँ कुन हो ? अहिले पनि म प्रष्टरुपमा सम्झन्छु उनले झटपट जवाफ दिए। बुद्धिजीवीहरूले त सबैलाई बुद्धि दिने हो। उनीहरूको आफ्नो केही हुँदैन। उनको जवाफ सुनेर बाबुरामजी जोडले हाँस्नुभयो र म पनि हाँसेँ। त्यो बेला त्यहाँको छलफलको रमाइलो अनुभूति पनि छ मनमा।

बुद्धिजीवीहरूको बुद्धि बजारको विकाउ माल जस्तै, जसलाई जे चाहिन्छ किनेर घर लगे हुने। त्यसरी मेरो हाम्रो देशका बुद्धिजीवीहरूको बारेमा विभिन्न धारणाहरू बन्दै गए। यद्यपि बुद्धिजीवीहरूको महत्त्वपूर्ण भूमिकाले नै मानव समाजलाई विज्ञान/प्रविधि, साहित्य कला दर्शनशास्त्र राजनीति शास्त्र लगायतका क्षेत्रमा ठूलो उपलब्धि प्राप्त भएको छ भन्ने कुरा मा प्रस्ट छु। सबै बुद्धिजीवीहरू एकनास हुँदैनन् भन्ने बुझाइमा मेरो दृष्टिकोण स्पष्ट छ र उच्च सम्मान पनि गर्छु। तर बजारमा विकाउ बुद्धि किनेर कहिल्यै घर लगिएन र किमार्थ लगिने पनि छैन।

अन्त्यमा पञ्चायती शासनको समय थियो। दसैंको मौकामा अर्घाखाँची आफ्नो गाउँ अर्घामा जुटेको बेला एउटा बनमा विचार मिल्ने हामी युवाहरू जम्मा भएर छलफल गर्दै थियौं। सही विचार कहाँबाट आउँछ भन्ने विषयमा। हाम्रो छलफललाई गाई हेर्न आएका एक जना किसानले पनि नजिकैबाट सुनिरहेका थिए। हाम्रो कुरा सुनेर उनले बिचमै फ्याट्ट भनिहाले सही विचार माटो मुनिबाट आउँछ। त्यो सुनेर त्यति बेला हामीलाई धेरै नै रिस उठ्यो। हामीले तिनको कुराको वास्ता गरेनौं र आफ्नो छलफल जारी राख्यो। आज आएर विचार गर्दा हामीभन्दा धेरै बुद्धिमानी त तीनै किसान रहेछन्। माटोमा किसानले दुःख गरेर बीउ रोपेपछि उम्रन्छ फल्छ र पाक्छ त्यही खाएपछि बुद्धि आउँछ। नखाईकन बुद्धि आउने त कुरै भएन। त्यसरी माटो मुनिबाट बुद्धि आउँदो रहेछ भन्ने कुरा सत्य रहेछ। तिनै किसानले भनेजस्तै बुद्धि माटो भूमिबाट प्राप्त हुन्छ भन्ने कुरानै भोतिकवादी दृष्टिकोणको सटिक विश्लेषण पो हो कि भने लाग्दछ। यस्तै विभिन्न घुम्तीहरूमा विभिन्न परिस्थितिहरूको सामना गर्दै अगाडि बढ्दै जाँदा दृष्टिकोणहरू पनि निर्माण हुँदै गए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्