काठमाडौं। एक वर्षअघि तत्कालिन संघीय समाजवादी र राष्ट्रिय जनता पार्टीबीच भएको एकीकरणबाट जन्मिएको जनता समाजवादी पार्टी (जसपा) विभाजनतर्फ उन्मुख भएको छ। पार्टीको आन्तरिक विवाद चर्केपछि पार्टी विभाजनतर्फ धकेलिएको हो।
(जसपा)को उपेन्द्र यादव समूहको कार्यकारिणी समिति बैठकले पार्टीमा देखिएको विवाद समाधानका लागि अर्का अध्यक्ष महन्थ ठाकुरसँग अन्तिम पटक छलफल गर्ने निर्णय गरेको छ। जसपामा यादव र ठाकुर गरी दुई अध्यक्ष रहेका छन् भने संघीय परिषद् अध्यक्षको रुपमा डा बाबुराम भट्टराई रहेका छन्।
जसपाको पूर्व राजपा घटक र पूर्व संघीय समाजवादी घटकले छुट्टाछुटै बैठक बस्ने र छुट्टाछुट्टै निर्णय गर्न थालेपछि जसपा विभाजनको डिलमा पुगेको जसपाका नेताहरु बताउछन्। शुक्रबार अध्यक्ष महन्थ ठाकुर समूहले वरिष्ठ नेता राजेन्द्र महतोलाई एकलौटी निर्णय गर्दै संसदीय दलको नेता घोषणा गरेको छ भने शनिबार उपेन्द्र यादव समूहले पार्टीको कार्यकारिणी समितिको बैठक गरेर महतो संसदीय दलको नेता नभएको निर्णय गरेको छ।
शनिबारको बैठकमा यादव सहूमले गत विहीबार पार्टीका सांसदहरुलाई ठाकुर समूहले भक्तपुरस्थित एक रिजर्टमा राखेको विषयमासमेत आपत्ति प्रकट गरेको छ। कार्यकारिणी समिति सदस्य मो. इस्तियाक राइले भने, ‘आज कार्यकारिणी समितिको बहुमत सदस्यको बैठक बस्यो। बैठकमा ओली सरकारबारे गरिएको व्यवहार, सांसदहरुलाई रिजर्टमा राखेकामा आपत्ति जनाइएको छ।’
पार्टीको अनुशासन उल्लघंन गर्ने काम अध्यक्ष ठाकुर र नेता महतोले गरेको निष्कर्ष बैठकले निकाले उनले बताए । भक्तपुरको रिसोर्टमा लगेर पार्टीका सांसदलाई थुनेर राख्नु, कुनै अर्को पार्टीका सांसदको उपस्थितिमा पार्टीका निर्णयहरु गराउनु पार्टीको अनुशासन विपरित कार्य भएको बताउँदै इस्तियाकले यस विषयमा ठाकुरसँग अन्तिमपटक छलफल हुने बताए। छलफलमा कुरा नमिले विधान अनुसार अगाडि बढ्ने निर्णय भएको उनको भनाइ छ।
बैठकले केन्द्रीय समितिको बैठक बोलाउने निर्णय पनि गरेको छ। भौतिक उपस्थितिमा सम्भव नभए भर्चुअल माध्यमबाट भएपनि केन्द्रीय समितिको बैठक बस्ने र सो बैठकबाट निर्णयहरु गर्दै अगाडि बढ्ने निर्णय भएको उनले बताए। ‘कुनै पनि निर्णय सर्वसम्मतिले भएन भने बहुमतका आधारमा अगाडि बढ्ने निर्णय भएको छ। त्यसअघि अध्यक्ष ठाकुरसँग अन्तिम पटक छलफल गरिन्छ’, उनले भने।
ठाकुर समूहले ३२ जना सांसद मध्ये आफूहरुसँग बहुमत रहेको दावी गरे पनि यादव समूहले भने आफूसँग बहुमत रहेको दावी गरेको छ। यादव समूहले ५१ सदस्यीय कार्यकारिणी समितिमा पनि आफूहरुको बहुमत रहेको दावी गरेको छ। शनिबारको बैठकमा २८ जना उपस्थित रहेको सो समूहको दावी छ।
शनिबार कार्यकारिणी समितिको बैठक जारी रहेका बेला अध्यक्ष महन्थ ठाकुरले एक विज्ञप्ति जारी गर्दै बैठक नबोलाइएको बताएका थिए।



लोकपाटी न्यूज

