काठमाडौं। केपी ओली सरकारलाई समर्थन गर्ने तयारी गरेको जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले संसदीय दलको नेता चयन गरेको छ। यस अघि दलको नेता चयनमा विवाद हुँदै आएको जसपामा उपेन्द्र यादव पक्षको असझदारीकाबीच दलको नेता चयन हुन सकेको थिएन। तर, यादवविना ठाकुर पक्षले राजेन्द्र महतोलाई दलको नेता चयन गरेको हो।
महन्थ ठाकुर पक्षले समर्थन नगरे प्रधानमन्त्रीको सपथ लिएका केपी ओलीलाई बहुमत पुग्ने अवस्था छैन। २७ वैशाखमा जसपाको डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले विश्वासको मतको विपक्षमा भोट हालेका थिए। तर, महन्थ पक्ष तटस्थ बसेको थियो।
ठाकुर—महतो पक्षसँग १६ जना सांसद छन। उपेन्द्र यावद पक्षका अरु ४ जना सांसद आफ्नो कित्तामा आएको महतो पक्षका सांसद प्रमोद साहले दावी गरे। ‘अहिले हामीसँग २० जना सांसद हुनुहन्छ। अरू एकजना सांसदले पनि आउने प्रतिबद्धता जनाउनु भएको छ।’ कित्ता परिवर्तन गरेका सांसदको नामबारेमा भने उनले खुलाउन चाहेनन। ठाकुर निकट नेता डा. सुरेन्द्र झाले पनि सहमतिमा महतोलाई संसदीय दलको नेता चयन गरिएको बताए।
उपेन्द्र यादव पक्षका सांसद रामसहाय यादवले भने महतोलाई संसदीय दलको नेता चयन गरेको विषयमा आफूलाई कुनै जानकारी नभएको बताए। ‘कहिले संसदीय दलको बैठक बस्यो र कुन आधारमा महतोजी संसदीय दलको नेता चयन हुनु भयो। यसबारेमा मलाई थाहा छैन’ यादवले भने। ठाकुर महतो पक्षका सांसदहरूले बिहीबार भक्तपुरको डोलेश्वर रिसोर्टमा गई बैठक गरेका थिए। सो बैठकमा महतोलाई संसदीय दलको नेता चयन गर्ने सहमति भएको साहले बताए।



लोकपाटी न्यूज

