काठमाडौं। पार्टीभित्रको विवाद मिलाउन नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच छलफल सुरु भएको छ। दुई नेताले अन्य नेताहरुलाई समेत सँगै राखेर छलफल गर्न लागेकाले दुवै पक्षका अन्य नेताहरु पनि सहभागी भएका छन्।
छलफलका लागि ६ बजेको समय तय भएपनि प्रधानमन्त्री ओली पौने ७ बजेमात्र सिंहदरबार पुगेपछि छलफल सुरु भएको हो। छलफलमा ओली पक्षबाट ओलीसहित नेता ईश्वर पोखरेल विष्णु पौडेल, सुवास नेम्वाङ र रामबहादुर थापा बादल छन्। त्यसैगरी माधव पक्षबाट माधव नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, रघुजी पन्त सहभागी छन्।
ओलीसँग वार्तामा बस्नुअगाडि नेता नेपाल समूहको केन्द्रीय सदस्यहरुको भर्चुअल बैठक बसेको थियो। बैठकमा नेता नेपालले ओलीसँग भएको वार्ताबारे ब्रिफिङ गरेका थिए। आफू निकट केन्द्रीय सदस्यहरुलाई नेता नेपालले ओलीले पार्टीलाई २ जेठ २०७५ को अवस्थामा फर्काउन तयार भएको बताएका थिए।



लोकपाटी न्यूज

