इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीच मर्जरको तयारी, सबैभन्दा ठूलो बैंक बन्दै

लोकपाटी न्यूज

काठमाडौं। लामो रस्सा कस्सीपछि दुई ठूला बैंक नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक एकआपसमा गाभिने भएका छन्। नेपाल राष्ट्र बैंकको मर्जर एन्ड एक्विजिसनको नीतिअनुसार यी दुई बैंक गाभिने भएका हुन्। गाभ्ने गाभिनेसम्बन्धी समझदारीपत्रमा बिहीबार हस्ताक्षर भएको छ। समझदारीपत्रमा नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे तथा हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतमले हस्ताक्षर गरे।

दुवै बैंक एकआपसमा गाभिएपछि बैंकको नाम हिमालयन एन्ड नेपाल इन्भेष्टमेन्ट बैंक रहनेछ। सञ्चालक समितिको अध्यक्षमा पाँडे तथा प्रमुख कार्यकारी अधिकृतको रूपमा हाल हिमालयन बैंकको सीईओ अशोक शमशेर राणा रहने सहमति भएको छ। त्यसैगरी गाभिएपछि गठन हुने बैंकको सञ्चालक समितिमा दुवै बैंकको तर्फबाट ३-३ जना सञ्चालक नियुक्त हुने तथा नयाँ सञ्चालक समितिले एकजना स्वतन्त्र सञ्चालकको नियुक्ति गरी जम्मा ७ जनाको सञ्चालक समिति हुनेछ। मर्जरपछि बैंकको चुक्ता पुँजी। २६ दशमलव ९४ अर्ब रुपियाँ हुनेछ। हाल नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १६ दशमलव २६ अर्ब तथा हिमालयन बैंकको चुक्ता पुँजी १० दशमलव ६८ अर्ब रुपियाँ रहेको छ। नयाँ बन्ने बैंक चुक्ता पुँजीका आधारमा देशकै सबैभन्दा ठूलो बैंक बन्ने भएको छ। अहिलेसम्म करिब २७ खर्ब रुपियाँ चुक्ता पुँजी भएको कुनै बैंक छैन।

मर्जरका सम्बन्धमा दुवै बैंकका अध्यक्षले सहमतिपत्रमा हस्ताक्षर गरेको भए पनि शेयर मूल्यको स्वाप रेसियोका विषयमा भने खुलाइएको छैन। यसअघि हिमालय बैंकको १०२ रुपियाँ र नेपाल इन्भेष्टमेन्ट बैंकको १ सय रुपियाँ शेयर मूल्य कायम भएको चर्चा चले पनि त्यसमा सहमति हुज सकेको थिएन। पुनः डीडीए गरेपछि स्वाप रेसियो निर्धारण हुने बताइएको छ। दुवै बैंकका संस्थापक लगानीकर्ता एउटै पारिवारिक पृष्ठभूमि रहेकाले मर्जरमा जान दबाब परेको थियो। मर्जरपछि बैंकको कुल निक्षेप ३ खर्ब ११ अर्ब रुपियाँ र कर्जा लगानी २ खर्ब ८७ अर्ब रुपियाँ पुग्नेछ। त्यसैगरी रिजर्भमा १९ अर्ब ७४ करोड पुग्नेछ। हाल नेपाल इन्भेष्टमेन्ट बैंकको जगेडा कोष १४ अर्ब १० करोड रुपियाँ र हिमालयन बैंकको ७ अर्ब ६७ करोड रुपियाँ रहेको छ। कर्जा लगानीतर्फ नेपाल इन्भेष्टमेन्टको १६० अर्ब ९८ करोड र हिमालयन बैंकको १२७ अर्ब १४ करोड रुपैयाँ रहेको छ। निक्षेपतर्फ नेपाल इन्भेष्टमेन्ट बैंकको १६८ अर्ब २९ करोड र हिमालयन बैंकको १४३ अर्ब ७० करोड रुपियाँ रहेको छ।

त्यस्तै हाल हिमालयन बैंकको ६९ वटा शाखा र इन्भेष्टमेन्ट बैंकका ८३ शाखा गरी कुल १५२ वटा शाखा कार्यालय रहेछन्। जसमा एक दर्जनबढी शाखा कार्यालय एकै स्थानमा हुने भएकाले स्थानान्तरण हुने छन्। मर्जरपछि बन्ने नयाँ बैंकका कर्मचारीको संख्या २५ सय पुग्नेछ। हिमालयन र इन्भेष्टमेन्ट बैंकले कर्मचारी व्यवस्थापनको लागि स्वेछिक अवकासको योजना एकीकृत कारोबार अगाडि बढाउने भएका छन्।सहमतिपछि दुवै बैंकका अध्यक्षले उत्कृष्ट बैंक बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। मुलुकको एक सबल एवम् सक्षम बैंकको रुपमा वित्तीय बजारमा स्थापित भई ग्राहकलाई थप उत्कृष्ट सेवा तथा सुविधा प्रदान गर्न तथा लगानीकर्ताहरुलाई राम्रो प्रतिफल दिन सक्षम हुने विश्वास र प्रतिबद्धताका साथ मर्जर कार्यमा लागेको दुवै बैंकका अध्यक्षले जनाएका छन्।