अजोड इन्स्योरेन्सकाे तेस्रो त्रैमाससम्मकाे खुद नाफा ६ करोड ११ लाख रुपैयाँ

लोकपाटी न्यूज

काठमाडाैँ। अजोड इन्स्योरेन्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ६ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ७३.८७ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ३ करोड ५१ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो। यस अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क लगायत अन्य आम्दानीको स्रोतहरु समेत बढेपछि नाफामा उल्लेख्य सुधार देखिएको हो।

इन्स्योरेन्सको खुद बीमाशुल्क पनि ६१.६४ प्रतिशतले बढेर २९ करोड ९० लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको चैतसम्ममा कम्पनीले १८ करोड ४९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। यस्तै कम्पनीको पुर्नबीमा कमिशन पनि ४९.१७ प्रतिशतले बढेर १३ करोड ४९ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आय २४.२२ प्रतिशतले बढेर २ करोड ३९ लाख रुपैयाँ पुगेको छ।

चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा ७ करोड ५५ लाख, बीमा कोषमा ९ करोड २९ लाख र महाविपत्ती कोषमा ८३ लाख रुपैयाँ संचित छ।यस अवधिमा इन्स्योरेन्सले १ लाख ५ हजार ९० वटा बीमालेख जारी गरी १ अर्ब २ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। इन्स्योरेन्सले कुल ३ हजार ३५० वटा दाबी बापत ५० करोड २९ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ३ हजार ९४४ वटा दाबी बापत ४३ करोड ९३ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ८ रुपैयाँ १५ पैसा, प्रतिशेयर नेटवर्थ ११७ रुपैयाँ ६८ पैसा र मूल्य आम्दानी अनुपात ११०.४३ गुणा रहेको छ।