काठमाडाैँ। प्रभु लाइफ इन्स्योरेन्सले खुद बीमाशुल्क र नाफा सुधार गरेकाे छ। इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा खुद बीमाशुल्क ११५.६० प्रतिशत र खुद नाफा १४८.३४ प्रतिशतले बढेको वित्तीय विवरण सार्वजनिक गरेको हो।
प्रभु लाइफले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा एक अर्ब ८ करोड ८४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ५० करोड ४८ लाख रुपैयाँ मात्रै खुद बीमाशुल्क आर्जन गरेको थियो। यस्तै कम्पनीले लगानी, कर्जा तथा अन्य आयबाट १८ करोड ५९ लाख रुपैयाँ आम्दानी गरेको छ।
यस अवधिमा कम्पनीको खुद नाफा पनि १४८.३४ प्रतिशतले बढेर १३ करोड ७८ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ५ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। सर्वसाधरणलाई आईपीओ निष्काशन गरेपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुगेको छ। यस अवधिमा कम्पनीको जगेडा कोषमा ३६ करोड ६० लाख रुपैयाँ, जीवन बीमा कोषमा १ अर्ब ७६ करोड ५८ लाख रुपैयाँ र महाविपत्ती जगेडा कोषमा २ करोड ५७ लाख रुपैयाँ सञ्चित छ।
मंसिर २९ गतेदेखि पुस २ गतेसम्म सर्वसाधारणमा आईपीओ जारी गरेको कम्पनीको चुक्तापूँजी २ अर्ब पुगेको छ। कम्पनीको जगेडा कोष रकम पनि यसवर्ष १३० प्रतिशत बढेर ३६ करोड ६० लाख ६४ हजार कायम भएको छ।
यस अवधिमा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ९ रुपैयाँ १९ पैसा, प्रतिशेयर नेटवर्थ २०७ रुपैयाँ ८८ पैसा र मूल्य आम्दानी अनुपात ८७.०५ गुणा रहेको छ। चालु आर्थिक वर्षको चैत सम्ममा कम्पनीले एक लाख ७ हजार ३१६ वटा बीमालेख जारी गरी एक अर्ब १३ करोड ९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। यस अवधिमा कम्पनीले २०४ वटा दाबी बापत ५ करोड ३४ लाख रुपैयाँ भुक्तानी गरेको छ भने १० वटा दाबी बापत ७५ लाख रुपैयाँ भुक्तानी गर्न बाँकि छ।



लोकपाटी न्यूज

