काठमाडौं। विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को दोस्रो लहर नेपालमा सुरु भइसकेको छ। सरकारले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि बुधबारदेखि दुई साता लामो लकडाउन गर्ने भएको छ।
कोभिड–१९ को संक्रमण बढेर निषेधाज्ञा जारी गरिएको अवस्थामा आम नागरिक घरभित्रै हुने भएकाले अनेकौं विषयमा सोच्ने फुर्सद हुन सक्छ। एकातिर महामारीको त्रास र अर्कोतिर आर्थिक संकटका कारण मानिसहरुको मनोबल कमजोर हुन सक्छ। घरमा बसेको अवस्थामा अधिकांश मानिसहरु इन्टरनेटमा व्यस्त हुने भएकाले सञ्चारमाध्यमले सम्प्रेषण गर्ने सूचना र समाचारले उनीहरुको मनोबल र दृष्टिकोण निर्माणमा प्रत्यक्ष प्रभाव पार्दछ।
कोभिड–१९ का विषयमा सूचना वा समाचार प्रकाशित गर्दा सञ्चारमाध्यमहरुले विशेष ध्यान दिनुपर्दछ, जसका कारण नागरिकमा सत्य तर मनोबलयुक्त भावना सम्प्रेषित हुन सकोस्। तसर्थ, सञ्चारमाध्यमले कोभिड–१९ को संकटको बेलामा दोषारोपण र भेदभाव घटाउन महत्वपूर्ण भूमिका खेल्नुपर्छ।
नोभल कोरोनाभाइरस (कोभिड–१९) को प्रकोपले हाम्रो समुदायमा दोषारोपण र भेदभाव बढाएको छ। कोभिड–१९ सँग सम्वन्धित दोषारोपणको मात्रा यी तीन कुरामा आधारित छन्ः १. यो नयाँ रोग हो र यसको बारेमा धेरै कुराहरू अझै पनि थाहा छैन। २. थाहा नभएका कुराको बारेमा हामी प्राय डराउँछौं र ३. त्यो डर ‘अरू’सँग जोड्न सजिलो छ। सर्वसाधारणमा दुविधा, तनाव र त्रास रहेको बुझ्न सकिन्छ।
यी कारणहरूले हानीकारक रुढीवादी मान्यताहरूलाई बढावा दिइरहेका छन्। दोषारोपण र भेदभावका लागि सबैभन्दा जोखिममा यिनीहरू रहन्छन्ः भाइरसको परीक्षणमा पोजेटिभ देखिएका मानिस र उनीहरूका परिवारहरू विदेशबाट फर्किएका मानिस र उनीहरूका परिवारहरू र यो संकटको बेला अत्यावश्यक सेवा दिनका लागि कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतका सेवा प्रवाहकर्ता र उनीहरूका परिवारका सदस्यहरू। मानिसहरू यी व्यक्तिहरूले उनीहरूको समुदायमा रोग फैलाउँछन् भनेर प्रायः डराउने गर्दछन्। हरेक दिन हामीले यी व्यक्तिहरूलाई बहिस्कार गरेको र कहिलेकाहिँ शारीरिक हमला पनि गरेको समाचारहरू सुनिरहेका छौं।
यो पिडामा पर्नेका लागि मात्र नभई सबैका लागि हानीकारक छ। दोषारोपण गर्नाले मानिसहरू एक्लिन सक्छन्। विभेदबाट जोगिनका लागि मानिसहरूले उनीहरूको रोग लुकाउन सक्छन् र यसले उनीहरूलाई अत्यावश्यक मेडिकल हेरचाहबाट टाढा राख्न सक्छ। यसले मानिसहरूलाई स्वस्थ दैनिकी र व्यवहारहरूको पालना गर्न पनि निरुत्साहित गर्न सक्छ।
यसमा पत्रकार र सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुन्छ।
कोरोनाभाइरस र संक्रमण हुनबाट जोगिने उपायको बारेमा सर्वसाधारणलाई सही सूचना तथा जानकारी दिनुका साथसाथै, प्रवाह गरिएको सूचना तथा जानकारीले यो संकटबाट प्रभावित मानिसका विरुद्धमा दोषारोपण र भेदभाव बढाउँदैन भन्ने कुरा सुनिश्चित गर्न पनि पत्रकार र सञ्चारकर्मीको महत्वपूर्ण भूमिका हुन्छ। रोग र यसको प्रभाव खुला रूपमा, इमान्दारितापूर्वक र प्रभावकारी रूपमा छलफल र सम्बोधन गर्न सकिने वातावरणको सिर्जना गर्नु जरूरी छ।
आशाका कथाहरू बाँडौं,
चिन्ता बढिरहेको समयमा, सञ्चारमाध्यमले सही सूचना प्रदान गर्ने र मिथक र हल्ला चिरेर सही सूचना दिने मात्र नभई मानवताको सकारात्मक पक्ष प्रस्तुत गर्न पनि एकदमै महत्वपूर्ण भूमिका खेल्छन्। यो लकडाउनको सामना गर्दै अन्य मानिसहरूसँग प्रविधीको माध्यमबाट जोडिएका व्यक्तिहरू वा कठीन समयमा जीवन व्यवस्थित गरिरहेका व्यक्तिहरूको कथा र समाचार प्रोफाइल गर्ने समय पनि हो र यसले अरूलाई विभिन्न उपायहरूसँगै राम्रा अभ्यासहरूको बारेमा सुसूचित गराउँछ।
कोभिड–१९ को संकटको क्रममा दोषारोपण वा भेदभाव भोगेका व्यक्तिको दृष्टिकोणको बारेमा पनि कथा वा समाचार प्रवाह गर्न सकिन्छ। उनीहरूका कथाहरू र तपाईंका शब्दहरूले मानिसहरूलाई दोषारोपण र भेदभावले उनीहरूमा मात्र नभई समग्रमा समुदायमा पर्न सक्ने वा परेको नकारात्मक असरका बारेमा बुझाउँछ। सहानुभूतिका कथन वा कथाहरू बाँड्नुहोस्, जसले नयाँ कोरोनाभाइरस (कोभिड–१९) बाट प्रभावित मानिस वा समुदायको संघर्ष र अनुभवलाई मानवीय बनाउँछ। यो महामारीको अग्रपंक्तिमा रहेर काम गरिरहेका (स्वास्थ्यकर्मी, स्वयंसेवी, समुदायका नेतृत्व, सुरक्षाकर्मी, सञ्चारकर्मी इत्यादि) लाई सहयोग र प्रोत्साहन हुने गरी सञ्चार गर्नुहोस्।
यो हामीलाई एकताबद्ध बनाउने, सहयोगका ससाना गतिविधि र मानिसहरूले एक अर्कालाई कसरी सहयोग गरिरहेका छन् भन्ने कथा र समाचार बाँड्ने समय पनि हो।
गोपनीयताको सम्मान गरौं,
कोभिड–१९ को परीक्षण गर्दा पोजेटिभ देखिएका व्यक्तिहरू र उनीहरूको परिवार, सहकर्मी र साथीहरूको गोपनीयताको सम्मान गर्नुपर्छ। अनुमतिविना उनीहरूको नाम, ठेगाना, पारिवारिक पृष्ठभूमि, व्यक्तिगत र मेडिकल रेकर्डको सूचना खुलासा गर्ने वा संकेत दिने पनि गर्नु हुँदैन।
कहिलेकाहिँ सानो समुदायमा बस्ने मानिसहरूको स्थान, समुदाय वा गाउँको नाम उल्लेख गर्दा मात्र पनि उनीहरूको परिचय खुलासा हुन सक्छ। विरामीको फोटो वा भिडियो पनि अनुमतिविना प्रकाशन वा प्रसारण गर्नु हुँदैन।
भेदभाव नगरौं,
कसैको उमेर, लिंग, जातीय पृष्ठभूमि, धर्म, कानूनी अवस्था, अपांगता, वैवाहिक अवस्था, रोगलगायतका कुरा समाचारसँग प्रत्यक्ष रूपमा सम्वन्धित भएमा मात्र उल्लेख गर्नुपर्छ। असान्दर्भिक रूपमा उल्लेख गर्नाले दोषारोपण र विभेद सिर्जना गर्न सक्छ। कोभिड–१९ लाई कुनै पनि स्थान, देश र क्षेत्र, राष्ट्रियता र जातसँग नजोड्नुहोस्। भाइरसले जुनसुकै सामाजिक र आर्थिक अवस्था, राष्ट्रियता, वर्ण, जात, धर्म वा लिंग भएको मानिसलाई असर गर्न सक्छ।
सनसनी नफैलाऔं,
हानीकारक हुने गरी कुनै पनि विषयलाई सनसनी बनाउने प्रलोभनबाट टाढा रहनुहोस्। सनसनीपूर्ण भाषा र तस्वीरहरूले अनावश्यक तनाव सिर्जना गर्नुका साथै थप डर फैलाउन सक्छ। कोभिड–१९ को बारेमा सञ्चार गर्दा र समाचार बनाउँदा भेदभावपूर्ण, अपमानजनक, धम्कीपूर्ण र सनसनीपूर्ण भाषा र स्वर प्रयोग नगर्नुहोस्। साथै, समाचार वा लेखमा पाठकलाई तान्नका लागि सनसनीपूर्ण हेडलाइन प्रयोग नगर्नुहोस्।
रोल मोडल प्रस्तुत गरौं,
लक्षण हुन सक्ने व्यक्तिहरू परीक्षणमा नआएको वा यस्तै खालका नकारात्मक समाचारहरूको सट्टामा सञ्चारमाध्यमले विदेशबाट फर्केर सेल्फ क्वारेन्टिनमा बसिरहेका व्यक्तिहरू (उनीहरूको अनुमतिसहित) वा स्वास्थ्यकर्मीहरूलाई सकारात्मक रोल मोडलको रूपमा चित्रण गरी समाचारहरू प्रस्तुत गर्न सक्छन्। यी व्यक्तिहरूको समाचार, सवाल र चुनौतीहरूलाई चित्रण गर्नाले सञ्चारमाध्यमले मानिसहरू दोषारोपण वा भेदभावको डरविना नै सहज रूपमा उनीहरूको लक्षणहरू बताउन सक्ने वातावरण सिर्जना गर्न सक्छन्।
संक्रमितलाई दोष नलगाऔं,
मानिसहरूले ‘कोभिड–१९ सार्ने’, ‘अरूलाई सार्ने वा ‘भाइरस फैलाउने’जस्ता शब्दहरू प्रयोग नगर्नुहोस्, किनभने यसले नियतवश संक्रमण फैलाएको भन्ने अर्थ लाग्दछ र दोष देखाउँछ। यसको सट्टामा मानिसहरूमा कोभिड–१९ ‘भएको’ वा ‘संक्रमण भएको’ भन्नुहोस्। साथै, यो रोग भएका मानिसलाई ‘कोभिड–१९ केसहरु’ वा ‘पीडितहरु’ नभन्नुहोस्। साथै, ‘कोभिड–१९ का शंकास्पद’ वा ‘शंकास्पद केसहरु’को प्रयोग नगर्नुहोस्। यसको सट्टामा ‘कोभिड–१९ भएका वा हुन सक्ने व्यक्ति’, ‘कोभिड–१९ को उपचार गराइरहेका व्यक्ति’, ‘कोभिड–१९ बाट निको भइरहेका व्यक्ति’ वा ‘कोभिड–१९ को संक्रमणपछि मृत्यु भएका व्यक्ति’ भन्नुहोस्।
सत्यको सही विश्लेषण गरौं,
कोभिड–१९ सँग सम्बन्धित आधिकारिक तथा विश्वासनीय जानकारीका लागि नेपाल सरकार, विश्व स्वास्थ्य संगठनजस्ता निकायहरूका वेबसाइट हेर्नुहोस्। यी वेबसाइटहरूमा तपाईंको जिज्ञासाको जवाफ दिन सक्ने अद्यावधिक जानकारीसहित प्रवक्ताको बारेमा पनि जानकारी राखिएको हुन्छ।
कोभिड–१९ प्रकोप हरेका लागि एक चुनौतीपूर्ण समय हो। हामी सबै जना एक वा अर्को गरी कुनै न कुनै हिसावले प्रभावित छौं। यो अनुभवबाट सकारात्मक हिसावले हामी सबैजना ठीक भएको सुनिश्चित गर्न सञ्चारमाध्यमसहित हामी सबैजनाको महत्वपूर्ण भूमिका छ।
(एजेन्सीको सहयोगमा।)



लोकपाटी न्यूज

