सिभिल बैंककाे कार्यबाहक सीईयाेमा सुनिलकुमार पोखरेल

लोकपाटी न्यूज

काठमाडौं। सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले पदबाट राजीनामा दिएका छन्। कार्यकाल सकिन केही महिना बाँकी छँदै गुरुङले पदबाट राजीनामा दिएका हुन्। सीईओ गुरुङले दिएको राजीनामा बैंक सञ्चालक समितिले स्वीकृति समेत गरेको छ।

बैंक श्रोतले दिएको जानकारी अनुसार १७ वैशाखदेखि लागू हुने गरी उनको राजीनामा स्वीकृत भएको छ। गुरुङले सीईओबाट राजीनामा दिए पछि कार्यबाहक सीईओको जिम्मेवारी सुनिलकुमार पोखरेलले पाउने भएका छन्। पोखरेल अहिले बैंकको नायम प्रमुख कार्यकारी अधिकृत रहेका छन्। केही समय कार्यबाहकको भूमिका दिने र त्यसपछि पोखरेललाई नै सीईओको नियुक्ति दिने बैंक सञ्चालक समितिको तयारी छ।

बैंकले गुरुङको राजीनामा बैशाख १८ गतेबाट लागू हुने गरी स्वीकृत गरेको छ। त्यसपछि पोखरेलले कामु प्रमुख कार्यकारीको जिम्मेवारी सुरु गर्ने छन्। पोखरेल अहिले नायब प्रमुख कार्यकारी अधिकृत छन्। पोखरेल अनुभवी बैंकर हुन्। उनीसँग विदेशस्थित बैंकदेखि नेपालमै रहेको विदेशी बैंकमा काम गरेको अनुभव छ। उनले सन् १९९१ बाट बैंकिङ करिअर सुरु गरेका हुन्।

तत्कालिन ग्रिण्डलेज (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) बैंकमा उनले १९ वर्षभन्दा बढी काम गरेका थिए। त्यसपछि उनले एनआइसी एसियामा करिब ५ वर्ष काम गरे। नबिल बैंकमा एक वर्ष काम गरे। त्यसपछि उनी म्यानमारस्थित युनाइटेड अमरा बैंकमा काम गरे। त्यहाँ डेढ वर्ष काम गरेपछि उनले म्यानमारकै एजीडी बैंकमा अर्को डेढ वर्ष बिताए। उनी कुसोममा पनि आबद्ध छन्। यो काठमाडौं विश्वविद्यालयअन्तर्गतको शैक्षिक प्रतिष्ठान हो।