सुर्खेत। नेकपा एमालेले कर्णाली प्रदेशमा नयाँ सरकार गठनका लागि पहल थालेको छ। प्रदेशसभामा बहुमतमा रहेकाले एमाले आफ्नो नेतृत्वमा सरकार गठन गरेर अघि बढ्न नयाँ सत्ता समिकरणको तयारीमा लागेको हो। यता कांग्रेसले पनि सत्तारोहणको अवसर पाउने सम्भावना देखिएको छ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा आएको ‘विभाजन’ सँगै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। नयाँ सरकार बनाउन एमालेसँग एक्लै बहुमत रहे पनि उसले कांग्रेसलाई पनि सहयात्री बनाउने मनस्थिति बनाएको हो। संसदमा ६ सिट भएको कांग्रेस पनि सत्तामा जान लालायित देखिएको छ।
३९ सदस्यीय कर्णाली प्रदेश सभामा नेकपा एमालेका सभामुखसहित २०, माओवादी केन्द्रका १२ र राप्रपाका एक सांसद छन्। एमाले र माओवादी केन्द्रको समिकरण भंग भइसकेको अवस्था छ। एमालेसँग एक्लै सरकार बनाउन सक्ने हैसियत नभएको होइन। तर, आगामी दिनमा पार्टीभित्रको आन्तरिक द्वन्द्व चुलिनसक्ने आँकलनका साथ एमालेले सरकारमा कांग्रेसको साथ चाहेको छ।
कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले अब बन्ने सरकारमा आफूहरु सहभागी हुने बताए।‘हामी सरकारमा सहभागि हुने भनेर नै चुनाव जितेर आएका हौं। अवसर आएको खण्डमा नजाने कुरै भएन नि,’ उनी भन्छन्, ‘हामीले अहिलेसम्म कोसँग सहकार्य गर्ने भन्ने चाहिँ निर्णय लिइसकेका छैनौं।’ नेता शाहीले कोसँग सहकार्य गर्ने भन्ने विषयमा निर्णय लिन आफूहरु स्वतन्त्र भएको दाबी गरे।
‘यसमा हामीलाई केन्द्रबाट कुनै हस्तक्षेप हुँदैन,’ उनले भने। यसअघि संसदमा प्रमुख प्रतिपक्षीको भूमिका खोसिने भएका कारण पनि काँग्रेस सत्तामा जान खोजिरहेको हो। नेकपाको एकता भंग भएर एमाले र माओवादी पुनर्जिवित भएसँगै प्रदेश सभामा कांग्रेस दोस्रोबाट तेस्रो ठूलो पार्टीमा झरेको छ। पहिलोमा एमाले र दोस्रोमा माओवादी छन्।
यता नेकपा एमालेले काँग्रेसलाई साथ लिएर सरकार बनाउने गृहकार्य थालेको छ। एमालेका तीन मन्त्रीले राजीनामा दिइसकेका र नेपाल पक्षका नौ जना सांसदहरु पनि एकढिक्का भएर आएको अवस्थामा नयाँ रणनीति बनाउन एमाले कस्सिएको हो। ‘कांग्रेसलाई दुई मन्त्री दिएर सत्ता सहकार्य गर्न सकिने खालको कुरा भइरहेको छ,’ एमाले स्रोत भन्छ, ‘यसका लागि वार्ताहरु भइरहेका छन्।’
एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने तयारी गरेका छन्। मुख्यमन्त्रीले राजिनामा दिएर मार्ग प्रसस्त गर्नुपर्ने एमाले सांसद सुशील थापाले बताए। ‘मुख्यमन्त्रीले विश्वासको मत लिन सक्नु हुदैन’ सांसद थापाले भने, ‘उहाँले बैशाखमा राजीनामा दिएपछि एमालेको नेतृत्वमा सरकार गठन हुन्छ।’
मुख्यमन्त्रीले विश्वासको मत लिनुभन्दा राजीनामा दिनु पर्ने थापाले बताए। ‘अहिले माओवादी केन्द्रको १२ जना सांसद हुनुहुन्छ। यसमा उहाँहरूले १३ पनि पुर्याउन सक्नुभएको छैन,’ उनले भने, ‘यस अवस्थामा उहाँहरूले कसरी विश्वासको मत लिन सक्नुहुन्छ र !’ मुख्यमन्त्रीले अन्तिम समयसम्म विश्वासको मत लिने प्रयास गरे पनि सफल नहुने थापाले बताए।



लोकपाटी न्यूज
