काठमाडौं। नेकपा एमाले कर्णाली प्रदेशसभा संसदीय दलको बैठक बोलाएको छ। कर्णालीमा एकल सरकार गठन गर्ने विषयमा छलफल गर्न एमालेले संसदीय दलको बैठक चैत २२ मा बोलाएको हो। चैत ५ मा बसेको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। तर, उक्त बैठकमा माधव नेपाल समूहका सांसदहरू अनुपस्थित भएका थिए।
चैत २२ मा बोलाइएको संसदीय दलको बैठकमा नयाँ सरकार गठनका विषयमा रणनीति तयार गरिने नेकपा एमालेका सांसद दानसिंह परियारले बताए। ‘नयाँ सरकार गठन र आगामी रणनीतिका विषयमा बैठकमा छलफल हुन्छ,’ उनले भने, ‘बैठकमा सबै सांसद उपस्थित हुनेछन्।’
नेपाल समूहका सांसद कुर्मराज शाहीले २२ चैतमा बस्ने बैठकमा आफूहरू सहभागी हुने बताए। ‘संसदीय दलको बैठकमा हामी पनि सहभागी हुन्छौं,’ उनले भने, ‘पार्टीको संसदीय दलको बैठकमा उपस्थित नहुने भन्ने हुँदैन।’ एमाले प्रदेशसभा संसदीय दल कर्णाली प्रदेशले मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलाई बुझाइसकेको छ।
प्रदेश प्रमुखको कार्यालयले एमालेले समर्थन फिर्ता लिएको विषयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई जानकारी पनि गराइसकेको छ। एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाही अल्पमतमा परेका छन्। उनले सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएकाले अब ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ।
संविधानमा सरकारमा प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी भएको दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेशसभासमक्ष प्रस्ताव राख्नुपर्ने संवैधानिक व्यवस्था छ। मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत प्राप्त गर्न नसके नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन्छ।



लोकपाटी न्यूज
