विराटनगर। नेकपा एमालेको प्रदेश १ को संसदीय दलले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका आफ्ना सांसदलाई सात दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ। बुधबार बसेको एमाले प्रदेश १ को संसदीय दलको बैठकले मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका आफ्ना सांसदलाई सात दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिने निर्णय गरेको हो।
मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वास प्रस्तावमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरूले हस्ताक्षर गरेका छन्। सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र ब्युँतिएपनि एमालेका सांसदहरूले मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिएका छैनन्।
उता नेपाल पक्ष पनि मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिन सहमत भएको छ। एमाले संसदीय दलको बुधबार बसेको बैठकमा नेपाल समूहका प्रदेशसभा सदस्यहरु पनि सहभागी भएका थिए। अविश्वासको प्रस्ताव फिर्ता लिने जानकारी गराउन आफ्नो पक्षका दुई जना सांसद बैठकमा सहभागी भएको नेपाल पक्षका नेता राजेन्द्र राईले जानकारी दिए।
‘अहिलेलाई अविश्वासको प्रस्ताव फिर्ता लिने निर्णय भएको छ,’ उनले भने, ‘त्यहीँ विषयमा जानकारी गराउन हाम्रा दुई जना साथीहरु जानु भएको छ।’ प्रदेश १ सभामा एमालेका ५१ सांसद छन्, जुन बहुमत हो।



लोकपाटी न्यूज

