महासचिव र अध्यक्षबाहेक अरुलाई हटाउने निर्णय भएको छैन :एमाले प्रवक्ता ज्ञवाली

pradip gyawali pic
लोकपाटी न्यूज

काठमाडौं। परराष्ट्रमन्त्री एवम् नेकपा एमालेका प्रवक्ता प्रदीप कुमार ज्ञवालीले अध्यक्ष र महासचिव बाहेकका सबै पदाधिकारी खारेज गरीएको र जिम्मेवारीबाट हटाइएको भनि संचार माध्यममा आएका विषयहरु गलत रहेको बताएका छन्।

नेकपा एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले तत्काललाई माओवादी केन्द्रसँग एकता टरेको पनि बताए। फागुन २३ मा नेकपा खारेज भएर साविककै दुई पार्टी ब्यूँतिएपछि निर्वाचन आयोगले १५ दिनभित्र एकताको नयाँ प्रक्रियामा आउन एमाले र माओवादी केन्द्रलाई पत्र काटेको थियो।

‘महासचिव र अध्यक्षबाहेक अरुलाई हटाउने निर्णय भएको होइन’, उनले भने, ‘नवौँ महाधिवेशनबाट निर्वाचित सबै पदाधिकारीको पद यथावत छ।’ ज्ञवालीले पार्टी एकता प्रक्रियामा माओवादी केन्द्रबाट आएका नेताहरुको व्यवस्थापन नगरी नियमित बैठकमा जान नमिल्ने र प्रचण्ड छाडेर आएका नेताहरुले पनि आफूहरुलाई अध्यक्ष केपी ओलीले आह्वान गर्नुपर्ने भनेको सन्दर्भमा आज विशेष बैठकले बातवरण सहज पारिदिएको बताए ।

यही फागुन ७ गते बस्ने केन्द्रिय कमिटी बैठकमा सवै विषयको छलफल हुने प्रवक्ता ज्ञवालीको भनाई छ । उनले अहिलेलाई महाधिवेशन आयोजक समिति बनाउने बाटो खोलिएको बताए। ‘कसैलाई हटाइएको छैन। आयोजक कमिटी बनाउने बाटो खोलिएको छ। अहिले भएका पदहरु यथावत नै छन्’, उनले भने, ‘आजको बैठकमा सबै पक्षकालाई निम्ता नपुगेको हुन सक्छ। तर चैत ७ मा सबैलाई निम्तो पुग्ने गरी बोलाउँछौँ।’

 ‘पुन:स्थापित भए पनि २०७५ जेठ ३ को होइन, यो त नयाँ एमाले हो’, उनले भने, ‘यो एकता प्रयासलाई आगामी दिनमा पनि अगाडि लैजान्छौँ। तर तत्काल माओवादीसँग एकता हुने सम्भावना देखिएन।’