प्रधानमन्त्री र जसपा नेताहरुबिच वालुवाटारमा छलफल जारी

Jasapa
फाइल तस्बिर
लोकपाटी न्यूज

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) का नेताहरू प्रधानमन्त्री केपी ओलीसँग आफ्ना माग र सत्ता समीकरणबारे छलफलका लागि बालुवाटार पुगेका छन्। सचिवालय बैठक सकेपछि जसपाका नेताहरु आफ्ना मागबारे प्रधानमन्त्रीसँग छलफलका लागि प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटार पुगेका हुन्।

प्रधानमन्त्री ओलीलाई भेट्न नेताहरू पूर्वप्रधानमन्त्री तथा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव तथा वरिष्ठ नेताहरू राजेन्द्र महतो र अशोक राई बालुवाटार गएको केन्द्रीय कार्यकारिणी समिति सदस्य केशव झाले बताए।यसअघिका छलफलमा अध्यक्ष ठाकुर र नेता महतोमात्रै सहभागी हुने गरेको भए पनि बिहीबारको बैठकपछि पाँच शीर्ष नेता सहभागी भएका हुन्।

जसपाको शीर्ष नेताहरूको बिहीबारको बैठकले पाँच शीर्ष नेताहरूलाई वर्तमान राजनीतिक परिस्थिति र दलले विगतदेखि उठाउँदै आएका मागबारे छलफल गर्ने जिम्मेवारी दिएको थियो। मंगलबार बसेको जसपाको संसदीय दलको बैठकले रेशम चौधरीमाथिको मुद्दा र मधेस आन्दोलनका क्रममा आन्दोलनकारीमाथि लगाइएका मुद्दा फिर्ता र संविधान संशोधनको मागलाई केन्द्रमा राखेर सबै पार्टीसँग छलफल गर्ने निष्कर्ष निकालेको थियो।

बिहीबारको बैठकबाट पाँचैजना शीर्ष नेताहरूले वर्तमान राजनीतिक परिस्थिति र आफ्ना मागहरूबारे तीनवटै दल सत्तारुढ एमाले, समर्थक माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग छलफल गर्ने निर्णय गरेका थिए। प्रधानमन्त्रीसँग छलफल गरेपछि शेरबहादुर देउवा र प्रचण्डसँग पनि वार्ता गर्ने तय नेता झाले बताए। जसपाले संसदीय दलको शुक्रबार बैठक बोलाएको छ।

आजै बसेका जसपाको शीर्ष नेताहरुको बैठकले सत्ता समीकरणको विषयमा संसदमा रहेका प्रमुख तीन दलसँग शीर्ष नेताले संयुक्त छलफल गर्ने निर्णय गरेको थियो।