काठमाडौँ। प्रधानमन्त्री केपी ओली सैनिक मुख्यालय जंगीअड्डा पुगेका छन्।बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा करिब डेढ घण्टा दुई पक्षबीच वार्ता भएको थियो। वार्ता सकिए लगतै प्रधानमन्त्री ओली सैनिक मुख्यालय पुगेका हुन्।
सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच पहिलो चरणको वार्ता सकिएको छ। अब दोस्रो चरणको औपचारिक वार्ता कहाँ बस्ने भनेर खुलाइएको छैन। सरकारकोतर्फबाट वार्ता टोलीमा गृहमन्त्री रामबहादुर थापा , प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई तथा विप्लव समूहबाट खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदय चलाउने सहभागी थिए। ‘आजको वार्ता सकिएको छ, फेरि बस्ने गरी उठ्नुभएको छ,’ स्रोतले भन्यो।
दुई पक्षबीच आ-आफ्नो कुरा राख्नेमा आजको बैठक सीमित भएको बताइएको छ। प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार आजको वार्ता सम्पन्न भएको र वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी गराएका छन्। स्रोतका अनुसार प्रकाण्ड र चलाउने बुधबार बिहानै बालुवाटार प्रवेश गरेका थिए भने गृहमन्त्री थापा ९ बजेतिर बालुवाटार पुगेपछि साढे ९ बजे तिरबाट वार्ता सरु भएको थियो।
वार्तामा विप्लव समूहले आफूहरुमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने सर्त अघि सारेको थियो भने पक्राउ परेका नेतारकार्यकर्ताको रिहाइ र उनीहरुमाथि लगाइएको मुद्दा फिर्ता गर्नुपर्ने भनेको छ। मंगलबार सरकारले वार्ताका लागि गृहमन्त्री बादलको नेतृत्वमा सरकारी वार्ता टोली र प्रकाण्डको नेतृत्वमा विप्लव समूहको वार्ता समिति गठन गरेको थियो।



लोकपाटी न्यूज

