सेटिङको भरमा अन्याय गरे निर्वाचन आयोग घेर्न जान्छौ : नेता नेपाल

madhav kumar nepal
लोकपाटी न्यूज

धनकुटा। नेकपा अध्यक्ष माधवकुमार नेपालले नेकपाको आधिकारिकता आफूहरुले पाउने दाबी दोहोर्‍याएका छन्। उनले यदि निर्वाचन आयोगले सेटिङको भरमा अन्यायपूर्ण निर्णय गरेमा तीन सय केन्द्रीय सदस्य आयोग घेर्न जाने चेतावनी दिए।

प्रतिगमनविरुद्ध धनकुटामा शनिबार आयोजित विरोधसभालाई संबोधन गर्दै नेपालले केन्द्रीय सदस्यको संख्याका आधारमा पार्टीको आधिकारिता आफूहरुले पाउने बताएका हुन्। उनले प्रतिगमनकारी ओलीले संवैधानिक आयोगहरुमा सेटिङ गरेर असंवैधानिक निर्णय गराउन सक्ने आशंका व्यक्त गरे। ‘म र प्रचण्ड नेतृत्वको नेकपा नै आधिकारिक हुने पक्का छ’, उनले भने, ‘तर सर्वत्र सेटिङ गरेको भरमा गलत निर्णय लिएमा तीन सय केन्द्रीय सदस्य हातमा नागरिकता लिएर आयोग घेर्न लान्छौं।’ चुनाव चिन्हसमेत आफ्नो पक्षमा हुने बताउँदै नेपालले व्यङ्य गर्दै भने, ‘ओलीसँग केवल बयलगाडा मात्र साथमा हुने छ।’

यसैगरी, प्रतिगामी कदमका कारण देश रोइरहँदा ओली उपरखुट्टी लगाएर गैरजिम्मेवारी बनेको नेपालको आरोप थियो। मुलुक र जनताप्रतिको चिन्ता कहिल्यै नलिने ओली उखानटुक्का सुनाउँदै हिँडेको उनले बताए। वर्षौं संगत गर्दासम्म नचिनेको भन्दै उनले पछिल्लो १५ वर्षसम्म ओलीले आफूलाई दुस्ख दिनुसम्म दिएको गुनासो गरे।

फरक प्रसङ्गमा नेता नेपालले ओली नेतृत्वको सरकारको कार्यकालमा मुलुकभर १४ हजार बलात्कारका घटना भएको बताउँदै अपराधीले उन्मुक्ति पाउने गरेको उल्लेख गरे। बालुवाटारको संरक्षणमा अधिकांश घटनाका दोषी उम्किएको उनको भनाइ थियो। निर्मला पन्त, भागरथी भट्टलगायत बलत्कारको सिकार भएका घटनामा सरकारले दोषीलाई अझै कारबाही गर्न नसक्नु दुखद् रहेको बताए। ‘अधिकांश अपराधका घटनामा बालुवाटारको संरक्षण हुने गरेको छ’, उनले भने, ‘कतिले सजाय पाए ओलीसँग जवाफ छ ?’

सभालाई नेकपा स्थायी कमिटी सदस्यहरु वर्षमान पुन र भीम आचार्य, रामकुमारी झाँक्री, हेमराज भण्डारीलगायतले संबोधन गरे।