पर्वत। जिल्लाको रती खोला र अम्बोट खोलामा निर्माण सम्पन्न दुई पक्कीपुलको एक साथ उद्घाटन भएको छ। मोदी गाउँपालिकाको डिमुवा–राम्जा–चित्रे सडकमा पर्ने रतीखोलापुलको राष्ट्रिय सभाअध्यक्ष गणेश प्रसाद तिमिल्सिना र कुश्मा नगरपालिकाको अम्बोट–दुर्लुङ सडकमा पर्ने अम्बोट खोला पुल भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्गले आइतबार उद्घाटन गरेका हुन।
रती खोलामा निर्माण भएको पुल १० करोड ४५ लाख ९८ हजारको लागतमा निर्माण सम्पन्न भएको पुलको लम्बाई ७० मिटर रहेको छ । दुवैतिर १.७५ मिटरको फुटपाथ रहेको पुलकाे चौडाई ७.५० रहेको छ। यो पुलनिर्माण भएपछि वर्षैादेखि खोलाबाट हिड्न बाध्य मोदीगाउँ पालिका वडा नं ६,७ र ८ का बासिन्दा हर्षित भएका छन्।
यो पुललाई पोखरा–बागलुङ राजमार्गको वैकल्पिक सडकको रुपमा प्रयोग गर्न सकिने छ। यस पुलले मोदीगाउ चित्रे-आर्थर-कार्र्कीनेटा हुँदै पर्वतको दक्षिण तथा स्याङ्जा जिल्ला समेत पुग्न सकिन्छ। धार्मिक तथा पर्यटकीय सडकको रुपमा विकास भईरहेको पोखरा–पामे–पन्चासे सडकलाई समेत यस पुलले जोड्ने छ।
त्यसैगरी अम्बोट खोलामा निर्माण सम्पन्न पुलले कुश्मा नगरपालिका वडा नं ३ का साथै मोदी गाउँपालिकाको वडा नं ४ को हलहले, क्याङ तथा वडा ५ को बाजुङका स्थानीय लाभान्वित हुने भएका छन्।
अम्बोेट खोलामा निर्मित पुलको लम्बाई २५ मिटर र चौडाई ७ दशमलव ५० मिटर रहेको छ । सिग्गल स्पान रहेको यो पुल ४ करोड १७ लाख ६२ हजार रुपैयाँ लागतमा निर्माण भएको हो । अम्बोट खोलापुलले दुर्लुङबाजुङ -हलहले -क्याङ-लेस्पार सडकको कनेक्टीभिटीको रुपमा काम गर्ने स्थानीयले बताएका छन्।
विकास निर्माणका कामको गति बढाउनुपर्छ: अध्यक्ष तिमिल्सिना
राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले पूर्वाधार विकास निर्माणको काममा देशले थप गति दिनुपर्ने बताएका छन्। पुल उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले सरकारले आगडि बढाएका काम समयमा सम्पन्न गर्न सम्बन्धित कार्यालय तथा निर्माण व्यवसायीले आफ्नो कामको गतिमा बृद्धि गर्नुपर्ने बताएका हुन।उनले राजनीतिक परिवर्तन सँगै समृद्धिको यात्रामा अगाडि बढेको अवस्थामा समयमा काम सपन्न नहुँदा योजनाहरु अलपत्र पर्ने गरेकोमा चिन्ता व्यक्त गरे। उनले आफ्नो गृह जिल्ला पर्वतमा अहिले संघीय सरकार तथाप्रदेश सरकारमार्फत राष्ट्रिय गौरव मध्यपहाडी, कालिगण्डकी करिडोर लगायत सडक तथा पक्कीपुल थुप्रै योजना अगाडि बढेको जानकारी गराए ।
‘पर्वतमा पूर्वाधारको क्षेत्रमा थुप्रै काम भइरहेको छ,’ उनले भने, ‘अब लाख करोडको होइन, हामीले अर्बको योजना अगाडि बढाएका छौै। ‘पोखरा-राम्जा-रिडी सडक वैकल्पिक राजमार्गको रुपमा काम सुरु हुँदै छ। ग्रामिण सडक सुधार आयोजनाअन्तर्गत १०० किमी सडक पर्वतमा निर्माण हुँदैछ।’
अध्यक्ष तिमिल्सिनाले पर्वत जिल्लामा आवश्यक विकास निर्माणको काममा जनताको प्रतिनिधिका रुपमा आफूले हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरे।
प्रधानमन्त्री ओली नेतृत्वको पार्टी नै आधिकारिक मन्त्री नेम्वाङ्ग
भौतिक पूर्वाधार तथा यातायात मन्त्री नेम्वाङ्गले केपी ओली नेतृत्वको सरकार गठनकै बेलादेखि काममा आफ्नै पार्टीका नेताहरुबाट सरकार सञ्चालनका व्यवधान सिर्जना भएको बताए। पुल उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीलाई चक्रव्यूहमा फसाउने षड्यन्त्र भएपनि सफल नभएको बताए। उन्ले भने ‘महाभारतमा अभिमन्यूलाई फसाएजस्तै प्रधानमन्त्रीलाई फसाउन खोजिए पनिउहाँ त्यो चक्रव्यूह तोडेर बाहिर निष्कन सफल हुनुभयो।’
तिमिल्सिनाले वर्तमान सरकार जनताको सामाजिकका साथै ठूला ठूलाविकासको पूर्वाधारमा लागेको बताए। मन्त्री नेम्बाङ्गले सत्तरी बर्षको कम्युनिष्ट आन्दोलनमा इतिहासकै ठूलो पार्टी निर्माण भई करिब दुई तिहाई बहुमतका साथ सरकार भएता पनि नेताहरुबाट धोका भएको बताए। उनले प्रधानमन्त्री केपी शर्मा ओली नै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का आधिकारी अध्यक्ष रहेको र उनले नेतृत्व गरेको नेकपा नै संस्थाापन भएकाले कोही भ्रममा नपर्न समेत आग्रह गरे। उनले आधिकारीक अध्यक्ष जो हो सूर्य चुनाव चिन्ह उनैसँग रहने बताए। जसले अहिलेसम्म सूर्य चिन्हलिएर निर्वाचन लडेकै छैन, उसैले सूर्य चिन्ह हाम्रो हो भन्दै हिड्नु हास्यास्पद भएको उल्लेख गरे ।



लोकपाटी न्यूज

