काठमाडौं। भर्खरै आईपीओ निष्काशन गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको आम्दानी र खुद नाफा घटेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ३५ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२।५४ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४० करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकको खुद ब्याज आम्दानी घटेसँगै खुद नाफा घट्न पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २७ करोड ६० लाख रूपैयाँ रहेको छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.७२ प्रतिशत घटेर ५६ करोड ९४ लाख रुपैयाँमा सीमित भएको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा १२.३२ प्रतिशत घटेर ५० करोड ३५ लाख रुपैयाँमा झरेको छ।
१२ अर्ब चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १ अर्ब ९४ करोड २५ लाखरुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको जगेडा कोषमा ४९।६६ प्रतिशत बढेको हो। पुस मसान्तसम्ममा बैंकले ३२ करोड ४४ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ६१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। समीक्षा अवधिमा बैंकको निक्षेप २९.८० प्रतिशत बढ्दा कर्जा १७७.०५ प्रतिशत बढेको हो। नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ६ रुपैयाँ ७१ पैसा रहेको बैंकको यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर ५.८७ रुपैयाँमा सीमित भएको छ। बैंकको प्रतिशेयर नेटवर्थ ११६ रुपैयाँ १९ पैसा रहेको छ।



लोकपाटी न्यूज

