छवि सुवेदी
सन् १९४२ को अगस्ट १५ को साँझ सात बजेपछि अङ्ग्रेज प्रधानमन्त्री विन्स्टन चर्चिल क्रेमलिन प्रवेश गरे। मौसम युद्धको थियो। सोभियत भूमिमा फासिवादी अतिक्रमणकारीहरुका विरुद्ध घमासान युद्ध भइरहेकोले मस्को यसै पनि तनावमा थियो।
क्रेमलिनमा सोभियत संघका प्रमुख कमरेड स्टालिनसँगको बैठकपछि चर्चिल फर्किन खोज्दै थिए। स्टालिनले आफ्नो निवासमा निम्तो दिएपछि चर्चिल उतै लागे। क्रेमलिनस्थित स्टालिनको चार कोठे डेरामा प्रवेश गरेपछि चर्चिलले मोलोतोभसँगै उभिएकी एउटी किशोरी देखे। ती किशोरीसँग स्टालिनले चर्चिलको परिचय गराए। तिनै थिइन्, स्टालिनकी छोरी स्वेतलाना। स्वेतलानाको शिष्टता र आफ्ना बाप्रतिको न्यानो व्यवहारबाट चर्चिल द्रवीभूत भए।
उनले मनमनै भने, बोल्शेभिकहरुको पनि परिवार हुँदो रहेछ। स्टालिनका जेठो छोरा याकोभ त्यति बेला हिट्लरको सेनाद्वारा बन्दी बनाइएका थिए। उनलाई नाजी सेनाले लडाइको मोर्चाबाट पक्राउ गरेको थियो।
त्यो साँझ चर्चिल र स्टालिन बिच नेपोलियनसँगको युद्ध, लाल सेना, सामूहिक खेतीदेखि धेरै विषयमा अन्तरङ्ग कुराकानी भए। बिचबिचमा जर्मनसँगको लडाइको मोर्चाबाट आएका खबरहरू दुवै नेताले ध्यान दिएर सुन्थे। चर्चिलले कम्युनिस्ट राष्ट्रप्रमुखको डेरामा खानपिन गरेको र झन्डै रातभर कुरा गरेर बिताएको त्यो पहिलो पटक थियो। चर्चिलले बुझे, कम्युनिस्टहरूमा पनि भावना हुँदो रहेछ। आँसु र हाँसो हुँदो रहेछ।
पूँजिवादी संसारले भयंकर क्रूर तानाशाह भनेर प्रचार गरिएका स्टालिनप्रति उनकी किशोर छोरीको प्रेमभाव र आत्मीयताले चर्चिललाई साँच्चिकै सोच मग्न बनाइदियो। स्टालिन आफ्नी कान्छी छोरीलाई खुब माया गर्थे र ‘सानी भङ्गेरी’ भनेर बोलाउँथे। सोभियत संघलाई समृद्ध समाजवादी मुलुक बनाउन स्टालिनले धेरै काम गर्नुपर्यो। विश्व जित्छु भनेर चौतर्फी युद्ध छेडेको हिट्लरलाई धुलो चटाउने लडाइको मोर्चा उनैले सम्हाल्नुपर्यो । त्यही लडाइमा उनले जेठो छोरा गुमाउनुपर्यो। सन् १८४३ मा याकोभको बन्दी अवस्थामा रहस्यमय मृत्यु भयो। सायद हिट्लर छोराको हत्या गरेर स्टालिनलाई मनोवैज्ञानिक हिसाबले ध्वस्त बनाउन चाहन्थे।
स्टालिनको देहान्त भएको झण्डै चौध वर्षपश्चात छोरी स्वेतलानाले सन् १९६७ को मार्च ९ गते नयाँ दिल्लीस्थित अमेरिकी दूतावासमा शरण मागिन्। त्यसको केही समयपछि युरोप हुँदै न्यूयोर्क पुगिन् र सोभियत सरकारको आलोचना गरिन्। स्वेतलानाले यसो गर्नुको पछाडि धेरैले मृत स्टालिनलाई दोषी देखे। स्टालिन त सानी भङ्गेरीलाई औधी माया गर्थे। आफ्नो सन्तानले पार्टी र नागरिकता त्याग गरेको कल्पना पनि स्टालिन गर्न सक्दैन थिए। त्यसै गरी स्वेतलाना आफ्नो विवेकले भ्याएको निर्णय लिन त्यतिकै स्वतन्त्र थिइन्। उनले छाडेको सोभियत संघ भित्रभित्रै मक्किँदै थियो। गोर्वाचेभ सत्तामा आएपछि रुस फर्केकी स्वेतलानाले आफ्नै आँखाअगाडि आफ्ना बा र बाका साथीहरूले ठूलो मिहिनेत गरेर हुर्काएको सपना गर्ल्यामगुर्लुम ढलेको देखिन्। उनले सन् १९९२ मा पुनः रुस छोडिन्। उनले रुस छाडे पनि, कम्युनिस्ट पार्टी छाडे पनि मानिसहरूले उनलाई स्टालिनकी छोरी भन्न छाडेनन्।
माओ त्सेतुङ्गका जेठा छोरा माओ एनिन्ङ्ग सन १९५० मा कोरिया युद्धमा कोरियाली स्वतन्त्रताको निमित्त अमेरिकी सेनासँग लड्दालड्दै मारिए। सन् १९२९ मा जन्मिएकी माओकी जेठी छोरी जिन्हुआले आफ्ना बा-आमालाई धेरै लामो समयसम्म देख्न समेत पाइनन्। उनलाई ती कठिन दिनहरूमा स्थानीय एक किसान परिवारले जिम्मामा लिएर हुर्कायो। कम्युनिस्ट नेताहरूको भूमिगत या खुला पार्टी जीवनका उतारचढावहरूको प्रभाव आफ्नो परिवारमा पर्ने नै हुन्छ। कम्युनिस्ट विरोधीहरूले प्रचार गरेजस्तो विलासी जीवन न त स्टालिनले बाँचे, न त माओले नै। यी नेताहरूले सामना गर्नु परेको आँधी तुफानको भुमरीबाट सन्तानहरू एकाध अपवादबाहेक टाढाको सुखसयलमा हुर्किन पाएनन्।
नेपालमा कम्युनिस्ट पार्टीले सत्तरी वर्ष पार गरेको छ। यसका नेताहरूले कठिन भूमिगत जीवन व्यहोर्नुपरेको इतिहास छ। कति सहिद भए। आफ्ना अभिभावकहरूको संघर्षमय जीवनको प्रभाव छोराछोरीमा परेको छ। धेरैजसो नेताका सन्तानहरू राजनीतिमा छैनन्। वि. सं. २०५२ मा जनयुद्धको थालनी गरेपछि नेपाली कम्युनिस्ट आन्दोलनको एक क्रान्तिकारी धार नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्व भूमिगत भयो।
जनताको बिचमा, संगठनको सुरक्षा कवचमा नेताहरूको भूमिगत दिनचर्या पार्टी काममा बित्थ्यो। आफ्ना छोराछोरीको पढाइ र पालनपोषण भूमिगत नेतृत्वको निमित्त चुनौतीपूर्ण थियो।
पार्टीका तत्कालीन महामन्त्री कमरेड प्रचण्डले आफ्ना छोराछोरीलाई विद्यालयबाट निकाल्नुभयो र पार्टीमा भर्ती गराउनु भयो। धेरै राजनीतिक पण्डितहरूले नपढेको र हेप्ने गरेको जनयुद्ध स्वयंमा एक विश्वविद्यालय थियो। कमरेड रेनु दाहालहरूले पढेको त्यही विश्वविद्यालयमा हो। विद्यार्थी, महिला, किसान र मजदुरहरूको बिचमा संगठन गर्नु, नेपाली क्रान्तिको गडगडाउँदो नदीमा हेलिनु उक्त विश्वविद्यालयमा कमरेड रेनु दाहालहरूले पढ्ने मुख्य पाठ्यक्रम थियो। राजाका सन्तान मात्र राजा हुने संस्कारमा हुर्किएकाहरूलाई जनयुद्धको घामपानी सहेर आएका सन्तानहरूले राजनीति गरेको मन नपर्नु स्वभाविक हो।
नेतृत्व भनेको निर्जीव यन्त्र होइन। नेताहरूसँग पनि कोमल भावना हुन्छ। त्यही कोमल भावनामाथि मनपरी आक्रमण गर्नु राजनीतिक कायरता र बेइमानी हो। आज कमरेड प्रचण्डको परिवारसँग जोडेर उहाँमाथि जति पनि अराजनीतिक आक्रमण भएको छ, त्यसले हाम्रो कमजोर सांस्कृतिक परिचयलाई अभिव्यक्त गरेको छ। धेरै नेताका सन्तानहरू राम्रा र महँगो विद्यालयमा पढ्छन्। थप अध्ययनका लागि विदेश जान्छन्। भूमण्डलीकरणको आकर्षक पासोमा झुन्डिन्छन् र उतै हराउँछन्।
जनयुद्धको नेतृत्वमा रहेका केही नेताहरूले आफ्ना सन्तानलाई संघर्षको मोर्चामा पठाए। कमरेड प्रचण्ड, कमरेड पोस्टबहादुर बोगटी, कमरेड कृष्णबहादुर महरा आदि नेताका छोराछोरीहरूले सयौँ, हजारौँ नेपाली छोराछोरीहरुलेझैँ संघर्षको कठिन पाठ्यक्रम रोजे।
जेलनेल बसेको, भूमिगत राजनीतिका कठिनाइँहरु भोगेको नेतृत्वले संघर्षको बाटो रोजेका, आफ्नै पहिचान बनाएका नेताका सन्तानहरूको मुक्तकण्ठले प्रशंसा गर्नुपर्ने हो। उनीहरूलाई इमानदारीपूर्वक भुइँमान्छेहरुको पक्षमा उभिन प्रेरित गर्नुपर्ने हो। अपमान, असहिष्णुता र अविश्वासले नेताको उचाइ बढ्दैन।
वेनिटो मुसोलिनीले सन् १९२५ मा इटालीको शासन आफूमा केन्द्रित गरे। उनको विपक्षमा बोल्नेहरूलाई कठोर सजाय दिइन्थ्यो। सन् १९४३ मा मन्त्रीसमेत रहेका उनका ज्वाइँ ग्यालेजो कायनो मुसोलिनीको विपक्षमा उभिए। सन् १९४४ को जनवरी ११ का दिन मुसोलिनीले आफ्नै ज्वाइँलाई झुण्डाएर मारे। त्यसको दुई दिनअघि नै छोरी इड्डा मुसोलिनी भेष बदलेर जेनेभातर्फ भागेकी थिइन्। अन्यथा फासिवादविरुद्ध षड्यन्त्र गरेको आरोपमा ज्वाइँसँगै छोरीलाई समेत मुसोलिनीले झुण्ड्याउने थिए।
छोरी इड्डाले भनिन्, ‘म आफूलाई तानाशाहकी छोरीका रूपमा भन्दा फासिवादद्वारा हत्या गरिएका कायनोको जीवनसाथीको रूपमा चिनाउन मन पराउँछु।’ इड्डाले मुसोलिनी थर त्यागेको घोषणा गरिन्। अजम्बरी शासनको सपना देखेका मुसोलिनीलाई आफ्नै छोरीले छोडिन्। क्रूर फासिवादको विरुद्ध निर्भीकतापूर्वक उभिइन्। छोरीले छाडेको एक वर्षभित्रै अनन्तः शासनको सपनामा डुबेका मुसोलिनीको सत्ता मात्र ढलेन, भौतिक जीवन नै समाप्त भयो।
इतिहासले पुष्टि गर्छ, नेता या शासकका सन्तानहरू आफ्ना अभिभावकका फगत अन्ध अनुयायी मात्र हुँदैनन्, आलोचक र विरोधी पनि हुन्छन्। सही बाटोमा सहयोगी मात्र हुँदैनन्, नेतृत्व गर्ने हैसियत पनि राख्छन्।
(नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता सुवेदी बुद्धिजीवी संगठनका नेता हुन्।)



लोकपाटी न्यूज

