काठमाडौं। पार्टीको आधिकारिकता दाबीका लागि नेकपाको प्रचण्ड-नेपाल पक्षका नेताहरु निर्वाचन आयोग पुगेका छन्। टोलीमा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पनि सहभागी छन्।
सोमबारको केन्द्रीय समिति बैठकको निर्णय अनुसार उक्त पक्षले निर्वाचन आयोगमा राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार नेकपाको वैधानिकताको दाबी पेश गरेको छ। प्रतिनिधिसभा विघटनपछि राजनीतिक रूपमा नेकपा फुटिसकेको छ। तर, कानूनी रूपमा भने नेकपा अझसम्म एउटै छ।
यसअघि दुवै समूहले राजनीतिक दल सम्बन्धी ऐनको दफा ५१ अनुसार त्यही विवरण अध्यावधिक गर्न आयोगलाई पत्र लेखेका थिए। तर गत माघ ११ गते बसेको निर्वाचन आयोगको बैठकले दुवै पक्षका दाबी अस्वीकार गरेको थियो। आयोगले पार्टी एकतापछि २०७५ साल जेठ २३ गते बुझाएको ४४१ केन्द्रीय सदस्य तथा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्षलाई मान्यता दिएको थियो।
निर्वाचन आयोगका पदाधिकारीसँग बोल्दै पोखरेलले १० पुसमै ‘हामी यहाँ छौ’ भनेर बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहितको बहुमत केन्द्रीय सदस्यको संख्या बुझाइसकेको उल्लेख गरे। आवश्यक परे फेरि पनि ती हस्ताक्षरकर्तालाई सशरीर उपस्थित गराउन सक्ने पनि पोखरेलले दाबी गरे।
त्यसक्रममा पोखरेलले आयोगले पुरानो ४ सय ४१ केन्द्रीय सदस्यलाई आधिकारिक मान्ने तर त्यसैको बहुमतले गरेको निर्णयलाई अस्वीकार गर्नु गलत भएको निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियासहितको टोलीसक्षम प्रतिक्रिया दिएका छन्।
नेकपामा अहिले दुवै पक्षले दलको नाम, सूर्य चिन्ह, झण्डा आफ्नो भएको भन्दै सार्वजनिक कार्यक्रममा प्रयोग गर्दै आइरहेका छन्। यी कुरामा आएको विवादको निरुपण ऐनको दफा ४४ अनुसार हुने व्यवस्था छ। दफा ४४ मा दलको नाम, छाप, विधान, झण्डा, निर्णयलगायतका कुरामा विवाद भएमा आधिकारिकता दाबी गर्ने पक्षले दलको केन्द्रीय समितिको ४० प्रतिशत सदस्यको हस्ताक्षर सहित विवाद प्रारम्भ भएको तीस दिनभत्रि आयोग समक्ष आधार तथा प्रमाणसहित दाबी पेस गर्न सक्ने व्यवस्था छ।



लोकपाटी न्यूज

