नारायणप्रसाद शर्मा
कुनै पनि वस्तु, व्यक्ति वा घटनाको जन्म, विकास र मरण वा विनासको मुख्य कारण आन्तरिक नै हुन्छ भने बाह्य कारण महत्वपूर्ण त हुन सक्छन्। तर मुख्य र निर्णायक हुन सक्तैनन् र होइनन् पनि। यो मार्क्सवादी द्वन्द्वात्मक भौतिकवादी दार्शनिक मान्यता हो। क्रान्तिको उत्थान र पतन, सफलता र असफलता, विकास र विनास अर्थात् क्रान्ति र प्रतिक्रान्तिका मुख्य कारक पनि क्रान्तिकारी नै हुन्छन् अर्थात् क्रान्तिकारीहरुका आन्तरिक विचार, राजनीति, संगठन, संघर्ष र संस्कृति नै क्रान्ति वा प्रतिक्रान्तिका लागि निर्णायक कारण हुन्छन्, बाह्य कारणहरु त महत्वपूर्ण भएपनि ती सहायक नै हुन्छन् र यस्तो भइआएको छ।
उपरोक्त सन्दर्भ थाहा भए पनि जुन नेताको नेतृत्वमा क्रान्तिको निर्णय, सुरुवात, विस्तार र विकास हुन्छ, उही नेताकै नेतृत्वमा प्रतिक्रान्तिको बिजारोपण, संरक्षण र सम्वर्द्धन भई क्रान्तिको सम्पूर्ण रुपले विनास हुन्छ भन्ने थाहा थिएन/भएन। यो थाहा नहुनु र यस्तो होला कि भनी अनुमान र आशंका नगर्नु अनि सावधानी र सचेतता पनि अवलम्बन नगरिनुसमेत क्रान्तिकारीकै कमजोरी हो र त्यो यहाँको सन्दर्भमा पनि भयो। तर त्यस्तो नेतृत्वको विरोध गर्नुको साटो उल्टै उसलाई अन्धसमर्थन र पूर्ण विश्वासका साथ सहयोग गर्नु, नेतृत्वको पक्षपोषण र केन्द्रीकरणमा प्रतिस्पर्धा नै गरी प्राधिकार बनाउन र देवत्वकरण गर्न अहं भूमिका निभाउनु त झन् हाम्रो ब्लन्डर नै भएको हो। कसैले यहाँनेर यो कमजोरी भयो भनेर तर्क र तथ्य पेश गरेमा त्यसलाई विभिन्न तर्कवितर्क र कुतर्क गरेर क्रान्तिकारी नेतृत्वतर्फबाटै त्यस्ता गल्ती/कमजोरी ढाकछोप गर्ने प्रयाससमेत हुनु झन् ठूलो कमजोरी हो र यस्तो पनि यहाँ प्रशस्तै हुने गरेको हो।
पार्टी र नेतृत्वका नीति, विधि र प्रवृत्तिमा भइरहेका यस प्रकारका प्रतिक्रान्तिका प्रक्रियाहरुमा जब विचारगत र आचारगत, राजनीतिक र सांस्कृतिक, संगठनात्मक र कार्यक्रमिक आदि विविध पक्षहरुमा चौतर्फी विचलन, विघटन र विसर्जनका संकेतहरु बारम्बार देखिन थाले, तब ती विषयमा सूचना र सन्देशका अतिरिक्त सुझाव र दवाव दिइए पनि तिनको कुनै अर्थ र औचित्य हुने स्तरमा दिन सकिएन। तत्पश्चात् जब त्यसप्रकारका क्रान्तिविरोधी चिन्तन/प्रवृत्तिहरु नेतृत्व पंक्तिदेखि क्रमशः तलतिर देखिँदै, दोहोरिँदै र बढ्दैबढ्दै जान थाले तब तीप्रति असहमति र विरोध पनि धेरैथोरै प्रकट गरिए पनि तिनको समेत खासै प्रभाव र दवाव परेन किनकि दवाव र प्रभाव पर्ने/पार्ने हदसम्म हामी क्रान्तिकारी भनिनेले पनि केही गर्न सकिएन। अझ यहाँसम्म कि मुख्य नेतृत्वका वरिपरिदेखि क्रमशः तलसम्मबाटसमेत त्यस प्रकारका नीति र कृतिहरुको अवलम्बन र कार्यान्वयन गर्न थालियो।
नेतृत्वका क्रान्तिविरोधी हर्कतहरुको पूर्ण रुपले पक्षपोषण र महिमामण्डन गरेर तिनै गलत, विकृत र विसङ्गत शैली र संस्कारको आदर्शीकरण र उदात्तीकरणसहित व्यापक विस्तार गरी कार्यान्वयन पनि गरियो। यस्तो अति नै हुँदै गएपछि मात्र क्रान्तिकारी पंक्तिले सामूहिक र संगठित विरोध गर्न त थालियो। तर नेतृत्वलाई सुनाउने र मनाउने हदसम्म त्यो संघर्ष चर्काउन पनि सकिएन। यसो गर्न नसक्नुमा पनि क्रान्तिकारीहरुको उदारवादी प्रकारको कमजोरी नै भएको हो। फेरि कथम् विचलित नेतृत्व सुन्न तयार भएको भए पनि त्यो लागू हुन गाह्रो हुने अवस्था नै विकसित भइसकेको थियो किनकि समय धेरै घर्किसकेको थियो र यसबिचमा पार्टीको माथिदेखि तलसम्म र यहाँसम्म कि समर्थक/शुभचिन्तकहरुसम्म त्यो प्रतिक्रान्तिकारी चिन्तन/प्रवृत्ति र संस्कार/संस्कृतिले गहिरो गरी जरा गाडिसकेको थियो। यस्तो हुँदासम्म पनि क्रान्तिकारी नेतृत्व पंक्तिका तर्फबाट प्रभावकारी कदम र कार्यक्रम अवलम्बन र कार्यान्वयन गर्न/गराउन नसक्नु पनि गम्भीर कमजोरी भएको हो।
कहाँसम्म भयो भने यो अन्तर्संघर्षका दौरानमा आवेग र प्रतिशोधको मात्रा र प्रक्रिया यति बढ्यो कि जिन्दगीभरि जस्तो दुई विपरीत धाराका अर्थात् क्रान्तिकारी र अवसरवादी वा भनौं स्वाभिमानी र दलाल प्रवृत्ति र धाराका बिचमा संघर्षरत दुईथरी नेतृत्वका रुपमा परिचित र स्थापित नेताहरुबिचमै अपवित्र, अनैतिक, अवान्छित, अस्वाभाविक र असैद्धान्तिक गठबन्धनसमेत भयो र मूल नेतृत्वका विरुद्ध एकीकृत रुपमा खुलियो र बोलियो। तर जालझेल, झुठ/फरेब, छल/प्रपञ्च र षड्यन्त्र गर्न माहिर बनिसकेको प्रतिक्रान्तिकारी विश्वासघाती मूल नेतृत्व र दलाल बनिसकेको अवसरवादी सहायक नेतृत्वबिच नै पुनः गठबन्धन भयो र क्रान्तिकारीहरु एक्लिने र अल्पमतमा पर्ने गरी उक्त कदम प्रत्युत्पादक नै भयो। उक्त गठबन्धन हुनु राजनीतिक रुपले स्वाभाविक नै भए पनि यसबाट प्रतिक्रान्ति र प्रतिक्रान्तिकारीहरु झन् सबल र सुदृढ भए भने क्रान्ति र क्रान्तिकारीहरु कमजोर र विशृङ्खलित। यसरी आफैलाई कमजोर र विशृङ्खलित पार्ने र दलालहरुलाई पार्टी र सत्तामा हालीमुहाली गर्ने स्थितिमा पुराउने गम्भीर गल्ती गर्न पुग्नु क्रान्तिकारीहरुको स्वयंमा आत्मघाती कार्य नै हुन गएको हो।
त्यही अवस्थामा अन्तर्विरोध चर्किंदै तिक्त, दुश्मनीपूर्ण र प्रतिशोधपूर्ण हुँदै गयो र क्रान्तिकारी पंक्तिमा अन्तर्संघर्षप्रति नै यति धेरै निराशा, अविश्वास, वितृष्णा र पलायन बढ्यो कि उही प्रतिक्रान्तिकारी र अवसरवादी दलाल नेतृत्वको गठबन्धनयुक्त पार्टीमा बस्नु, संघर्ष गर्नु र रुपान्तरण वा विजयको आशा गर्नुमा रत्तिभर पनि विश्वास भएन। फलस्वरुप केन्द्रीय समितिभन्दा तल रहेका थुप्रै क्रान्तिकारीहरुसम्म अन्तर्संघर्ष नचल्दै र उनीहरुलाई स्पष्ट पारेर समेट्ने वातावरण नबन्दै हतारमा विद्रोहको नाममा पार्टीमा विभाजन आयो। त्यो विभाजन हतारमा हठात् र बलात् भएको थियो र आवेग र प्रतिशोधकै फलस्वरूप भएको थियो भन्ने कुरा विभाजनको चार वर्ष बित्दा नबित्दै क्रान्तिकारी पंक्तिमै फेरि अर्को विभाजन आयो। विचित्र विडम्बना त अझ के भयो भने संस्थापन क्रान्तिकारी भनिएको पंक्तिमै अर्को वर्ष बित्दानबित्दै पुनः अर्को विभाजन भयो र संस्थापनको तलदेखि माथिसम्मकै बहुमत पंक्ति आफैले घोषणा गरेको प्रतिक्रान्तिकारी र लाल गद्दारहरुसँग मिसिन पुगियो।
यी सम्पूर्ण विभाजनहरु र समग्र विचलनका पछाडि मूल क्रान्तिकारी नेतृत्वले क्रान्तिकारीहरुको सही मूल्यांकन गर्न नसक्नु र धूर्त, गुटवादी र षड्यन्त्रकारी अवसरवादीहरुलाई अति विश्वास गर्नु र नेतृत्व नै हस्तान्तरण गर्नु, उत्तराधिकारी निर्माणमा कुनै एक निश्चित क्षेत्रलाई प्राथमिकता, प्रोत्साहन र प्रमोसन गर्नुजस्ता उदारवादी र संकीर्णतावादी कमजोरीहरु भएका छन्, जुन कमजोरीहरु संसार हल्लाउने स्तरमा पुगेको माओवादी पार्टी र दसबर्षे जनयुद्धसहितको क्रान्तिको आज यो स्तरमा विचलन, विभाजन, विघटन र विसर्जन हुनका लागि कम जिम्मेवार छन् भन्यो भने सैद्धान्तिक र दार्शनिक रुपले समेत अर्को गल्ती हुन पुग्छ।
हो, यो कुरा बेग्लै हो कि आफैले भरविश्वास गरिएका काखमा सुताइएका समकालीन सर्वोच्च नेतृत्व र उत्तराधिकारी बनाइएका नेताहरुबाट नै आफू, क्रान्ति र क्रान्तिकारी नेतृत्वप्रति अन्तरघात र विश्वासघात गरी प्रहार गरिएको कृतघ्नी लात र घातबाट नै नेपाली माओवादी पार्टी र आन्दोलनको आजको यो क्षतविक्षत अवस्था भएको हो। त्यसैले अवसरवादी, व्यक्तिवादी, महत्वाकांक्षी र उपभोक्तावादी र यहाँसम्म कि सुरुसुरुका भाट र भ्रष्ट अनि अन्ततिर भँडुवा दलाल र गद्दारहरुको कम बदमासी र बेइमानी हो भन्न खोजियो भने पूरै गल्ती हुन्छ। त्यसैगरी ठिक यहींनेर साम्राज्यवादी, विस्तारवादीलगायतका देशी/विदेशी प्रतिक्रियावादी शक्तिकेन्द्रहरु र तिनका जालझेल, चलखेल, षड्यन्त्र, दमन र समनजन्य विविध प्रकारका प्रभाव, दवाव र हस्तक्षेप पनि कम्युनिस्ट पार्टी र आन्दोलनलाई ध्वस्त र त्रस्त पार्नमा त्यत्तिकै महत्वपूर्ण कारणहरु रहेका छन् भन्ने कुरा कहिल्यै बिर्सनु हुन्न।
राजनीतिमा जब नेतृत्व पंक्तिबाटै विचार, सिद्धान्त र मूल्यमान्यताको अवलम्बनमा अनदेखा, अवमूल्यन र अवहेलना हुन थाल्छ, विधि, पद्धति र प्रक्रियाको उल्लंघन हुन थाल्छ, तब स्वार्थ, सुविधा र अवसरले निर्णायक महत्व र स्थान पाउन थाल्छ र भयो पनि त्यस्तै। भन्नाले संसदवादी चिन्तन र उपभोक्तावादी संसदीय सुख सुविधाभोगको संस्कृतिजन्य आशा र लालसाप्रति क्रान्तिकारी भनिएकाहरु धेरै नै ग्रसित र आकर्षित भएर यो एकता भएको रहेछ। फलस्वरूप संसदीय अभ्यास अर्थात् चुनावमा भाग लिने र आफू र आफ्ना आसेपासे र गासेदासे बने/बनाइएकालाई विभिन्न नियुक्तिहरुमा सेट गर्ने र सत्ता र शक्तिलाई उपयोग गरेर व्यक्ति, पार्टी र आफ्नो स्वार्थ समूह अनि आफ्नो क्षेत्रका जनताका केही आर्थिक स्वार्थहरु पूरा गर्ने र त्यही बहानामा कमिसन, सहयोग, चन्दा आदि पाउन राम्रैसँग आदत परेकोले नेतृत्वको एउटा पंक्ति पुनः पूरानै घरमा फर्किएको रहेछ। यो कुरा फर्किएका नेतृत्वपंक्तिका तीन दर्जनजति सदस्यहरुमध्ये क्रान्तिकारी चिन्तन र चरित्र अनि स्वभाव र शैली बरकरार राखेका स्वाभिमानी आधा दर्जनजति सदस्यबाहेक नेकपा बनिसकेपछि सबै सेट भएबाट पनि पुष्टि हुन आयो।
यो कुराको थप पुष्टि वर्तमानको नेकपाको एकता र विभाजनका बेलामा पनि भएको छ। यस प्रकारको क्रान्तिहीन, सिद्धान्तहीन, नैतिकताहीन र मूल्यमान्यताहीन नितान्त अवसरवादी, व्यक्तिवादी र पदप्रतिष्ठावादी एकता र विभाजन हुँदापनि सबैजसोले अन्धसमर्थन र वा अन्धविरोध गर्नु विचित्र विडम्बना भएको छ। आज नेकपाको एकीकरण प्रक्रिया पूरा नभइसक्दै पुनः विभाजनमा जाँदा पनि केही अपवादलाई छोडेर सबैका सबै क्रान्तिकारी भनिएकाहरु समेत यो वा त्यो गुटमा सामेल भएर कस्तो र कत्रो गल्ती गरेका छन् ? स्वयंमा स्पष्ट छ।
क्रान्तिकारीहरु नै संसदीय गोलचक्करमा फसेर केहीले औपचारिक रुपले नै जबर्जस्ती मध्यावधि निर्वाचन थोपर्ने भन्ने र केहीले संसद पुनर्स्थापना गर्ने भनेर पुरानो, डेट एक्स्पायर र असफलसिद्ध भइसकेको दलाल पुँजीवादी संसदीय व्यवस्थालाई संरक्षण र सम्वर्द्धन गर्न मरिहत्ते गर्नु र आफूहरुलाई अझै पनि एक नम्वरकै क्रान्तिकारी भनी आत्मरती गर्नु के–कस्तो हास्यास्पद कमजोरी हो स्वयंमा छर्लङ्ग छ। क्रान्तिकारी भनेर चिनिएका र मानिएका नेताहरु स्वयं संसदवादको भासमा डुबेर यस्ता भेंडा र हनुमानदास होलान् र क्रान्तिलाई पूरै तिलाञ्जली दिँदै उफ्रिएलान् भन्ने कल्पनासम्म पनि गर्न नसक्नुसमेत सच्चा क्रान्तिकारी भन्नेहरुको पनि त गम्भीर कमजोरी नै हो।
अझ आज माघको दोस्रो हप्तासम्मको आइपुग्दा यी क्रान्तिकारी कम्युनिस्ट भनिनेहरु जमयुद्ध र जन आन्दोलनका उपलब्धिहरु जोगाउने बहानामा आफ्नो खाइपाई आएको संसदवादी पदप्रतिष्ठा र हैसियत जोगाउन टुप्पिदेखिको बल लगाइरहेका छन् र संसदवाद, संविधानवाद, विधि पद्धतिवाद र लोकतन्त्रवाद जस्ता उही गन्हाएको संसद, संसदीय व्यवस्था र संसदीय मूल्य मान्यताको संरक्षण र सम्वर्द्धनमा ज्यान छाडेर लागेका छन्। मूलतः उनीहरु दुवैले र अंशतः मध्यमार्गी एकतावादीले पनि वैकल्पिक क्रान्तिकारी सोंच, सिद्धान्त, शक्ति, संगठन, संघर्ष, सत्ता, शैली र संस्कृति आदि पूरै बिर्सिएबाट क्रान्ति त तिनका दिलदिमागदेखि नै पूर्णरुपले डिलिट गरेको भन्ने छर्लङ्ग भएको छ। तर इमान्दार क्रान्तिकारीले यो संसदीय भ्रम, भ्रष्टता, भास र भाँडभैलोलाई समयमै चिन्न र चिर्न नसक्नु स्वयंमा ठूलै कमजोरी हो जो ज्यादै दुखद विडम्बना पनि हो।
यहाँसम्म आइपुग्दा मूलधाराको भनिएको सत्ताधारी कम्युनिस्ट नामको शक्ति, व्यक्ति र प्रवृत्तिका साथै सदन, सकार र सत्ताबाहिर रहेका माओवादी स्कूलकै अन्य क्रान्तिकारी धाराका सैद्धान्तिक र व्यावहारिक दुवैथरी क्रान्तिकारीहरुको मौनता, अन्यौलता र ढुलमुलपना पनि सानो कमजोरी होइन। संसदवादी अवसरवादीहरुबिचमा टुटफुट र निषेधको हदसम्म अन्तर्विरोध र अन्तर्ध्वंश चर्किरहेको यो बेलामा वैकल्पिक क्रान्तिकारी बाटो देखाएर छरिएर रहेका र निस्क्रिय हुँदै गरेका क्रान्तिकारीहरुलाई समेटेर अघि बढ्नुपर्नेमा रहस्यमय ढङ्गले चुप लाग्नु पनि कम कमजोरी होइन।
हो, क्रान्तिकारीको शक्ति र संगठनात्मक स्थिति कम छ र उनीहरुलाई घेरावन्दी र नाकाबन्दी पनि छ अनि दमन र धरपकड पनि छ, तथापि ती सबै प्रतिकूलतालाई अनुकूलतामा बदल्ने पहल र प्रयत्न पनि नदेखिनु वा जो देखिएको आशाका त्यान्द्रारुपी २३ दलीय कार्यगत एकता र बन्दै गरेको ४ दलीय रणनीतिक संयुक्त मोर्चा पनि हाल कार्यान्वयनमा लैजाने पहल र हिम्मत नगरेर आफू मात्र होइन, अरुलाई पनि केही गर्न नदिने गरी अनिर्णयको बन्दी बन्ने/बनाउनेजस्तो घातक काम हुँदै गरेको छ जो हदैसम्मको दुखद आश्चर्य हो।
यी समग्र कमीकमजोरीका कारण क्रान्तिकारी कम्युनिस्ट पार्टी र क्रान्तिलाई केही महत्त्वपूर्ण शिक्षा प्राप्त भएका छन्। ती हुन्,
१. क्रान्तिकारी कम्युनिस्टहरुको लागि क्रान्तिकारी विचार/सिद्धान्तको अध्ययन र अवलम्बनको अहं महत्व छ।
२. पार्टी एकता वा बिभाजनका बेलामा पर्याप्त सैद्धान्तिक/राजनीतिक बहस गरी मूलभूत विषयमा सापेक्षित सहमति भएर सत्ता वा संघर्षमा समेत एक चरणसम्म सहकार्य गरेर व्यावहारिक रुपले पनि स्पष्ट नभई हतार र हचुवामा हठात् र बलात् एकता वा फूट दुवै प्रत्युत्पादक वा निरर्थक हुन्छन्।
३. कम्युनिस्ट पार्टी र आन्दोलनमा पार्टी र मुख्य नेताहरुको क्रान्तिकारी विचारअनुसारको क्रान्तिकारी आचार÷व्यवहार अनिवार्य छ र यसलाई कसी बनाएर तिनको मूल्यांकन गर्नुपर्छ।
४. नेतृत्वको विचार र आचारमध्ये कुनै एकमा थोरै पनि विचलन आयो भने प्रतिक्रान्ति त्यहीँबाट सुरु हुने चरम खतरा हुन्छ। तसर्थ समयमै सतर्क भई दोस्रो/तेस्रो तहका नेतृत्व पंक्तिले र यहाँसम्म कि कार्यकर्ता/जनताले पनि आवश्यकताअनुसार नेताहरुलाई साथ÷सहयोगका साथै आलोचनात्मक चेतसहित प्रश्न/शंका, सुझाव÷दवाव, खबरदारी/हस्तक्षेप र निषेधसम्म पनि गर्नु नितान्त जरुरी हुन्छ, अन्यथा प्रतिक्रान्ति अवश्यम्भावी छ।
५. क्रान्तिकारी कम्युनिस्ट पार्टीमा पनि पार्टीभित्रै अवसरवादी र दक्षिणपन्थीहरु जन्मनसक्ने र हावी हुनसक्ने अनि तिनले पार्टी र क्रान्तिलाई धरासायी बनाउने खतरा मूलतः पार्टीभित्रैबाट हुने गर्छ। तसर्थ पार्टीभित्रैका क्रान्तिकारी नेतृत्वपंक्तिले कमभन्दा कम कमीकमजोरी गर्ने र जो भएका गल्ती/कमजोरीलाई नदोहोराउने गरी शुद्धिकृत र रुपान्तरित भई पार्टीभित्रै निरन्तर लड्ने र क्रान्तिका लागि सदा सचेत, साहसी, सक्रिय, समर्पित र संघर्षशील इमान्दार क्रान्तिकारी नेतृत्वलाई मात्र उत्तराधिकारी सोंच्नु वा बनाउनुपर्दो रहेछ अन्यथा तिनै उत्तराधिकारीहरु स्वार्थी र अवसरवादी परे भने पार्टी र क्रान्तिको विसर्जन तिनैले गर्दा रहेछन्।
६. नेतृत्वमा सिर्जनशीलता र गतिशीलताका नाममा हुनसक्ने दक्षिणपन्थी अवसरवादी विचलन र स्खलन तथा सिद्धान्तनिष्ठता र दृढताका नाममा पैदा हुने यान्त्रिकता र जडताका कारण पार्टी र क्रान्तिको बन्ध्याकरण र संकुचनप्रति हमेसा होशियार हुनु अत्यावश्यक छ।
७. आवेग र प्रतिशोधको राजनीतिले तत्क्षणिक तुष्टि त होला। तर दीर्घकालीन उपलब्धि गुम्ने खतराप्रति परमसचेत हुनुपर्दछ।
८. कम्युनिस्ट पार्टीको शीर्ष नेतृत्वपंक्ति दीर्घकालीन रणनीतिक महत्वका कामहरुमा भूमिगत रुपले र अन्य नेताहरु तात्कालिक कार्यनीतिक महत्वका कामहरुमा खुला रुपले केन्द्रित हुनुपर्दछ। यसरी भूमिगत र खुला, वैधानिक र अवैधानिक, शान्तिपूर्ण र सशस्त्र संगठन र संघर्षको समायोजन हुनुपर्छ।
९. दीर्घकालसम्म संसदको उपयोग क्रान्तिकारी होइन, भ्रान्तिकारी हो र यसले अन्ततः पार्टी र क्रान्तिलाई संसदवादी भासमा लगेर डुबाउँछ।
१०. आवश्यक त्याग/तपस्या, साहस/समर्पण र लगानी/कुर्वानी बिना क्रान्ति असम्भव मात्र होइन, भएको क्रान्तिलाई निरन्तरता दिन र प्रतिक्रान्तिलाई रोक्न नसकिने रहेछ।
११. कम्युनिस्ट आन्दोलनमा आस्था/निष्ठा, मूल्य/मान्यता र नीति/नैतिकताको राजनीतिको अत्यधिक महत्त्व छ।
१२. एकता र विभाजनको मुख्य आधार भावनालाई भन्दा विचारलाई, नेतालाई भन्दा नीतिलाई, शक्तिलाई भन्दा क्रान्तिलाई र पद/प्रतिष्ठालाई भन्दा लक्ष्य/उद्देश्यलाई बनाउनुपर्दछ। अनि यस क्रममा हतारो र चटारो गर्ने, हठ र बल प्रयोग गर्ने, जालझेल र हुलहाल गर्ने गर्नै हुँदैन।
१३. साम्राज्यवादी युगमा कम्युनिस्ट पार्टीमा दक्षिण्पन्थी विचलनको विगविगी हुने हुँदा यसप्रति गम्भीर र सावधान हुनु जरुरी हुन्छ भने देश, काल र परिस्थितिको सापेक्षता, मौलिकता र विशेषताअनुरुप क्रान्तिकारी सिर्जनशीलता प्रयोग गरी पार्टी र क्रान्तिलाई अघि बढाउन सिपालु बन्नै पर्दछ।
१४. सच्चा क्रान्तिकारीहरुले ठोस परिस्थितिको ठोस विश्लेषणसँगै क्रान्तिकारी संश्लेषण गर्नु र सोअनुसार अघि बढ्नुपर्दछ।
१५. पार्टीभित्री संघर्ष र एकता वा फुटमा माओका मुख्यतः यी दुई भनाइहरुलाई विशेष रुपले ध्यान दिनुपर्दछ।
एक, विचारधारा र राजनीतिक कार्यदिशा सही वा गलत हुनुले सबै कुराको निधो गर्दछ। दुई, मार्क्सवाद लागू गर, संशोधनवाद होइन, खुला र स्पष्ट होऊ, जालझेल र षड्यन्त्र नगर, एकताबद्ध होऊ, नफुट।



लोकपाटी न्यूज

