काठमाडौं: कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको कामप्रतिरी राष्ट्रपति विद्यादेवी भण्डारीले खुसी व्यक्त गरेकी छन्। विश्वमा कोरोना भाइरस (कोभिड-१९) विरूद्धको खोप लगाउन प्रारम्भ भएको डेढ महिनाभित्रै भारतको सहयोगमा नेपाल सरकारले खोप अभियान सुरु गरेकोमा राष्ट्रपति भण्डारी खुसी भएकी छन्।
कोभिड-१९ विरुद्धको खोप शुभारम्भको अवसरमा बुधवार शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले पहिलो चरणमा नै नागरिकलाई खोप उपलब्ध गराउने राष्ट्रको सूचीमा नेपाल पनि सामेल हुन सफल भएकोमा हर्षित भएको जनाएकी छन्। कोभिड-१९ महामारीको रोकथाम, नियन्त्रण र उपचारमा अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मी लगायत उच्च जोखिममा रहेका व्यक्तिलाई प्राथमिकताका आधारमा खोप निःशुल्क उपलब्ध गराउने सरकारको निर्णय सराहनीय भएको बताउँदै राष्ट्रपति भण्डारीले सबै नागरिकलाई चरणवद्ध रुपमा खोपको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरिन्।
खोप अभियानलाई सफल पार्न जनप्रतिनिधि, समाजसेवी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी लगायत समाजका सबै क्षेत्रको सहभागिता अपरिहार्य रहेको जनाउँदै भण्डारीले खोप लगाएपछि पनि मास्कको अनिवार्य प्रयोग गर्न, एकअर्काको बीचमा कम्तिमा २ मिटरको भौतिक दूरी कायम राख्न र पटक-पटक साबुनपानी वा स्यानिटाइजरले हात सफा गरी कोभिड-१९ को रोकथाम तथा नियन्त्रणमा योगदान पुर्याउन सबैमा आह्वान पनि गरेकी छन्।
विश्वका सबै राष्ट्रमा खोपको न्यायोचित वितरण समुचित मूल्यमा हुनुपर्छ भन्ने नेपालको स्पष्ट मान्यता रहेको राष्ट्रपति भण्डारीले जनाएकी छन्। ‘कोभिड-१९को विश्वव्यापी महामारीले मानव सभ्यता र विकासलाई चुनौती दिइरहेको छ । यस महामारीबाट लाखौं व्यक्तिहरूले ज्यान गुमाउनुपरेको छ भने करोडौं व्यक्तिहरु प्रभावित भएका छन् । यसको प्रभावबाट हाम्रो देश पनि अछुतो रहन सकेन । कोभिड-१९ विरूद्धको अभियानमा अग्रपंक्तिमा रही सेवा प्रदान गर्नुहुने डाक्टर, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाई कर्मचारी लगायत सबैमा हार्दिक आभार व्यक्त गर्दछु,’ शुभकामना सन्देशमा उल्लेख छ, ‘उहाँहरूका लागि सहज वातावरण सिर्जना गर्ने परिवारका सदस्य र समुदायप्रति सम्मान व्यक्त गर्दछु।’



लोकपाटी न्यूज

