पुस महिनामा बढेको कर्जा लगानी माघमा घट्यो

लोकपाटी न्यूज

काठमाडौँ। पुसमा १ खर्ब ४३ अर्बले बढेको बैंकहरुको कर्जा लगानी माघ महिनाको शुरुवातमा घटेको छ। माघको पहिलो दुई दिनमा २७ वाणिज्य बैंकहरुले निक्षेप संकलन र कर्जा लगानी क्रमशः ३ अर्ब र ८ अर्ब रुपैयाँले घटेको हो। नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्याङ्क अनुसार माघ २ गतेसम्म बैंकहरुको निक्षेप संकलन ३७ खर्ब ७९ अर्ब रुपैयाँ रहेको छ। पुस २९ गते बैंकहरुको निक्षेप संकलन ३७ खर्ब ८२ अर्ब रहेकोमा दुई दिनमै निक्षेप ३ अर्बले घटेको हो।

यस्तै कर्जा लगानी पनि दुई दिनमा ८ अर्बले घटेर ३२ खर्ब ३६ अर्ब रुपैयाँमा झरेको छ। पुस अन्तिमसम्ममा यस्तो कर्जा ३२ खर्ब ४४ अर्ब रुपैयाँ थियो।

पुस अन्तिम साता बैंकहरुको निक्षेप र कर्जा लगानी दुबै ह्वातै बढेको थियो। अन्तिम एक सातामा मात्रै बैंकहरुको कर्जा लगानी ५८ अर्ब रुपैयाँले बढेको थियो भने निक्षेप संकलन २१ अर्ब रुपैयाँले बढेको थियो। तर माघ लागेपनि भने निक्षेप र कर्जा दुबैको तथ्याङ्क फेरीएको छ। पुस मशान्तमा बैंकहरुले कर्जाको साँवा र ब्याज तिर्न नयाँ कर्जा दिँदा बैंकहरुको कर्जा लगानी ह्वातै बढेको देखिएको हो।