कामना विकास बैंकको नाफामा २.६२ गुणा वृद्धि

लोकपाटी न्यूज

 काठमाडौं । कामना सेवा विकास बैंकले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सोमवार सार्वजिन गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २ दशमलव ६२ गुणा वृद्धि भएको हो । गत आवको दोस्रो त्रैमासमा कम्पनीले रू १४ करोड ८५ लाख १९ हजार नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू ३९ करोड ४७ हजार पुगेको हो ।

चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी १९ प्रतिशत र सञ्चालन नाफा ६४ प्रतिशत वृद्धि भएकाले नाफा बढेको छ । सो अवधिमा उक्त कम्पनीको वितरणयोग्य नाफा रू २७ करोड १९ लाख ६७ हजार रहेको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू ३८ अर्ब १८ करोड ४१ लाख ६२ हजार निक्षेप संकलन गरेको छ भने रू ३१ अर्ब २० करोड २८ लाख १५ हजार कर्जा लगानी गरेको छ ।

चुक्तापूँजी रू। २ अर्ब ५४ करोड १ लाख रहेको कम्पनीले जगेडा कोषमा रू ४९ करोड ५३ लाख १८ हजार र रिटेन्ड अर्निङमा रू २६ करोड ८९ लाख ७६ हजार सञ्चित गरेको छ । चालू आवको दोस्रो त्रैमासमा नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ । गत आवको दोस्रो त्रैमासमा प्रतिशेयर आम्दानी रू ११ दशमलव ६९ रहेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू ३० दशमलव ७१ पुगेको छ । त्यसैगरी चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ७ दशमलव ९८ प्रतिशत, तरलता अनुपात २४ दशमलव शून्य ५ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १३० दशमलव शून्य ९ रहेको छ ।