कोरोनाका कारण विदेशमा ३१९ नेपालीको मृत्यु

coronadeath
फाइल तस्वीर
लोकपाटी न्यूज

काठमाडौं। कोरोना भाइरस (कोभिड १९)  को संक्रमणबाट विदेशमा ३१९ जनाको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघका अनुसार यो साता यूकेमा एकजना र दक्षिण अफ्रिकामा एकजनाको मृत्यु भएको हो।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै विदेशमा कोरोना भाइरसबाट विदेशमा २० देशमा ३१९ पुगेको छ। संघको स्वास्थ्य समिति संयोजक सन्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५४ हजार पाँच सय ९१ नेपालीमा कोरोना संक्रमण देखिएको छ।

तीमध्ये ५२ हजार ९ सय ४५ जना कोरोना मुक्त भएका छन्। यो कुल संक्रमितको ९५ प्रतिशत हो। गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, जापान, दक्षिण अफ्रिकालगायत मध्यपूर्वमा रहेका थप नेपालीमा कोरोना संक्रमण देखिएको छ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार ब्रिटेन र दक्षिण अफ्रिकामा देखापरेको कोरोना भाइरसको नयाँ स्वरुप  (कोरोना भाइरस भेरियन्ट) विरुद्ध अहिले बजारमा आएका खोपहरु प्रयोग गर्न सकिने भएको छ। स्वास्थ्य समिति संयोजक सापकोटाका अनुसार पछिल्लो छोटो अनुसन्धानले फाइजर र बायोएन्टेक लगायतका भ्याक्सिन नयाँ प्रकृतिको कोरोना भाइरसको विरुद्धमा प्रभावकारी हुने देखाएको हो।

नेपालमा कोरोना महामारी घट्दो क्रममा रहे पनि स्वास्थ सावधानी आवश्यक रहेको स्वास्थ समितिले जनाएको छ । हाल दैनिक भइरहेका कुल परीक्षण गरेकामध्ये कम्तीमा १० प्रतिशतमा संक्रमण हुने गरेको पाइएको भन्दै समितिले जोखिम कम नभएको उल्लेख गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्