राष्ट्रिय वाणिज्य बैंक संचालक समितिका अध्यक्ष धनिराम शर्माद्वारा शपथ ग्रहण

लोकपाटी न्यूज

काठमाडौं।  राष्ट्रिय वाणिज्य बैंक लिमिटेड संचालक समितिका अध्यक्ष धनिराम शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष शपथ लिएका छन् । अध्यक्ष शर्माले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम बिहीबार पद तथा गोपनीयताको शपथ लिएका हुन् । बैंक संचालक समितिको बिहीबार बसेको बैठकले धनिराम शर्मालाई अध्यक्षमा चयन गरेको हो । अध्यक्ष धनिराम शर्मा नेपाल सरकार अर्थ मन्त्रालयका सह सचिव हुन् । शर्मा यस अघि नै नेपाल सरकार अर्थ मन्त्रालयबाट बैंकको संचालकको रुपमा नियुक्त भई कार्यरत थिए ।

शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ, अन्य उच्च पदाधिकारीहरु र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
अर्थमन्त्रालयका सहसचिवसमेत रहेका शर्मा अर्थबाट प्रतिनिधित्व गर्दै बैंकको सञ्चालक थिए ।

यसअघि गत भदौमा नै बैंकको अध्यक्ष बनाउनेगरी विवादस्पद छबि भएको उपप्रधानमन्त्री ईश्वर पोख्रेलका सम्धी उपेन्द्रकेशरी कोइरालालाई बैंकको अध्यक्ष बनाउने योजनाका साथ सञ्चालक नियुक्ति गरिएपछि चर्को विरोध भएको थियो । तर सार्वजनिक रुपमा नै कोइरालालाई बैंकको अध्यक्ष बनाउन नहुने भन्दै विरोध भए पनि त्यतिबेला बैंक सञ्चालक नियुक्त भए पनि अध्यक्ष बन्नबाट बन्चित बने । जसले गर्दा बैंक अध्यक्षविहीन थियो ।

त्यसको साढे चार महिनापछि उनी नभइ धनीराम शर्मा बैंकको अध्यक्ष चयन भएका छन् । बिहीबार बसेको सञ्चालक समितिको बैठकले शर्मालाई अध्यक्ष चयन गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए । उनले आजै राष्ट्र बैंकका गभर्नरसमक्ष पद तथा गोपनीयताको सपथ लिएर कार्यभार समेत ग्रहण गरिसकेका छन् । यसअघि पनि अध्यक्ष नरहेको अवस्थामा उनकै अध्यक्षतामा बैंक सञ्चालक समितिको बैठक बस्ने गरेको सीईओ श्रेष्ठले बताए ।