देशभक्तिको कसीमा ओली र प्रचण्ड

Manahari Timilsina-11
मनहरि तिमिल्सिना

पहिलो विश्वयुद्धमा फ्रान्ससँग पराजयपछि जर्मन नागरिकहरुमा राष्ट्रभक्तिको भावना चरमचुलीमा पुग्यो। विश्वको भौगोलिक विभाजन र पुनर्विभाजनको लडाइँले विश्व ध्रुवीकरणमा थियो। पराजित भएबापत् बर्षेनि तिर्नुपर्ने जरिवानाका कारण जर्मन नागरिकहरुमा देशभक्तिपूर्ण भावना बढोत्तरी हुनु स्वाभाविकै थियो। अर्कोतिर सन् १९२९–१९३३ को अवधिमा विश्वको पुँजीवादी अर्थतन्त्रमा चरम सङ्कट देखा पर्‍यो। यी सबै परिघटनाहरुलाई नजिकबाट नियालिरहेका कुटिल खेलाडी एडोल्फ हिटलरले राष्ट्रवादको नारा दिए र सन् १९३३ मा जर्मनीको सत्ता आफ्नो हातमा लिए।

हिटलरको मूल उद्देश्य युरोपमा कम्युनिस्ट विरोधी र यहुदी विरोधी विचार प्रवाहित गरी सत्ता नियन्त्रणमा लिनु थियो। तर, रुसी समाजवादको प्रभावले विश्वव्यापी तरङ्ग लिइरहेको थियो। तसर्थ, हिटलरले राष्ट्रिय समाजवादी जर्मन मजदुर पार्टी स्थापना गरे। उनको दल युरोपभरि नाजी जातिको एकल सत्ताको स्थापना गर्न चाहन्थ्यो। तर, राजनीतिक र सामाजिक क्षेत्रमा देखापरेको समाजवादप्रतिको लहरका कारण उनले आफ्नो पार्टी समाजवादी पार्टी भएको हवाला दिए। अनि, आफ्नो पार्टीको लक्ष्य राष्ट्रियता र समाजवाद भएको भ्रम दिएर जर्मनीमा निरकुङ्श सत्ताको अभ्यास गरे। हिटलरको निरङ्कुश सत्ताको अभ्यास जर्मन नागरिकहरुको देशभक्तिपूर्ण भावनाको ‘ओपन ब्ल्याकमेलिङ’ थियो। फासीवादी र निरङ्कुशतावादी शासनका समर्थकहरुले यसलाई राष्ट्रवादको आदर्श मोडल मान्दै आएका छन्।

दक्षिण अफ्रिकाका अश्वेत राष्ट्रपति नेल्सन मण्डेला जीवनभर रङ्गभेदका विरुद्धमा लडे। जीवनको उत्तरार्धमा मण्डेला भन्थे, ‘‘म जीवनभर अफ्रिकी जनताको सङ्घर्ष र मुक्तिका पक्षमा लडेँ, मैले मनमा एउटा विचार राखेको छु, जसमा प्रजातान्त्रिक र स्वतन्त्र समाज छ, जहाँ प्रत्येक व्यक्तिहरु एकताबद्ध भएर, मेलमिलाप गरेर बराबर अवसरहरुका साथ बाँच्नेछन्, यसका लागि म सधैँ मर्न तयार छु।’’ मण्डेलाका उक्त विचार शासनद्वारा उत्पीडनमा पारिएका जाति र राष्ट्रहरुका निम्ति आदर्श विचार रहँदै आएको छ। उनीहरु यसलाई राष्ट्रियताको प्रगतिशील मोडल मान्दै आएका छन्।

मण्डेला काला जातिहरुमाथि गरिने अत्याचार र रङ्गभेदका विरुद्धको सङ्घर्षमा समर्पित थिए। उनी ठान्थे, ‘‘प्रत्येक जाति राज्यको दृष्टिमा बराबर छ, उनीहरुलाई राजकीय सत्ता र समाजमा बराबरीको अधिकार प्रत्याभूत हुनुपर्दछ।’’ तर, मण्डेलामाथि काला जातिलाई उचालेर राज्य विप्लव निम्त्याएको गम्भीर अभियोग लाग्यो। सन् १९६२ मा उनी समातिए र आजीवन काराबासको सजाय सुनाइयो। उनको प्रजातान्त्रिक र प्रगतिशील राष्ट्रवादी विचारले अन्ततः विजय हासिल गर्‍यो र सन् १९९४ मा उनकै नेतृत्वमा बहुजातीय राष्ट्रिय सरकार बन्यो। सन् १९९३ मा मण्डेलाले विश्व शान्ति नोबेल पुरस्कारसमेत प्राप्त गरे। आज तिनै मण्डेला विश्व इतिहासमा रङ्गभेदको अन्त्य, बहुराष्ट्रिय प्रजातन्त्रको स्थापना र प्रगतिशील राष्ट्रवादका प्रवर्तकका रुपमा प्रख्यात छन्।

वि.सं. २००७ सालमा जनताको सङ्घर्षको बलमा स्थापित शिशु प्रजातन्त्रलाई निमोठ्न राजा महेन्द्रले राष्ट्रियताकै नारा दिए। उनको राष्ट्रियताको दायराभित्र महिला, दलित, मुस्लिम, आदिवासी, जनजाति, अल्पसङ्ख्यक र सीमान्तकृतहरु अट्दैनथे। १२५ भन्दा बढी जाति, १०० भन्दा बढी भाषा, दर्जनौँ धर्म, विभिन्न जाति र समुदायका आफ्नै मौलिक संस्कृति भएको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक मुलूकभित्र सबैले समान अवसरका साथ बाँच्न पाएनन्। त्यसैको परिणामस्वरुप नेपालमा सङ्घीयता र जातीय, क्षेत्रीय मुक्तिको बहस अगाडि आयो। आज नेपाली समाज जुन धरातलमा उभिएर राजनीतिक मुद्दाहरुको अभ्यास गर्दैछ, त्यो उत्पीडनको अन्त्य र नागरिकहरुको समान अवसरको आकांक्षाकै प्रतिफल हो।

वर्तमानमा नेपालका दुई वामपन्थी नेता राष्ट्रवादको आफ्नै मोडल र बहसमा छन्। प्रधानमन्त्री केपी शर्मा ओली जातीय मुक्तिको नाराले राष्ट्रिय एकता र सामाजिक सद्भाव कमजोर हुने आफ्नो विचारलाई राष्ट्रवादी विचारका रुपमा प्रस्तुत गर्दै आएका छन्। आन्तरिक वा सार्वजनिक मञ्चहरुमा उनी खुलेआम घोषणा गर्छन्, ‘‘म जीवित रहुञ्जेल राष्ट्रिय एकता कमजोर हुन दिन्नँ। म राष्ट्रिय एकता र सामाजिक सद्भावको पक्षमा छु, जातीय, क्षेत्रीय मुक्ति र पहिचानको कुरा सुन्न पनि चाहँदिनँ।’ राष्ट्रवादको पहिलो मोडलका पक्षधरहरु ओलीको अडानलाई राष्ट्रिय अडान र स्वाभिमानको प्रतीक ठान्छन्।

राष्ट्रियताको अर्को बहसमा नेकपाका अध्यक्ष प्रचण्ड छन्। उनको राष्ट्रियता केपी ओलीद्वारा प्रस्तुत मोडलभन्दा ठीक विपरीत छ। प्रचण्ड भन्छन्, ‘‘उत्पीडित वर्ग, जाति, क्षेत्र र लिङ्गलाई समान अधिकार दिएर, उनीहरुको पहिचान र अधिकार स्थापित गरेर मात्र राष्ट्रियतालाई बलियो बनाउन सकिन्छ। एउटा शासक हुने र अर्को शाषित हुने मनोविज्ञान बोकेर राष्ट्रियता बलियो बन्नै सक्दैन। कुनै एउटा भाषा, भूगोल, जाति वा समुदायको पक्षमा उभिएर अरु जातिमाथि दासत्व लादेर राष्ट्रियता बलियो बन्दैन। बरु, त्यसले राष्ट्रवादको नाममा नश्लवाद हुँदै फासीवादमा पुर्‍याउँछ।’’

प्रचण्डको राष्ट्रवादले महिलाको अधिकार खोज्छ, दलितहरुमाथिको विभेद र अपमानको अन्त्यको वकालत गर्दछ। अनि, जनजाति, मधेसी, मुस्लिमलगायतका जाति र समुदायको पहिचान एवं अधिकार स्थापित गर्दै राज्यमा बराबरीको हक खोज्दछ। प्रचण्डको राष्ट्रवादले हिमाल, पहाड, तराई–मधेसको सुदृढ राजनीतिक र भावात्मक एकताको वकालत गर्दछ। उनको राष्ट्रवाद राज्यद्वारा लादिने कानुनी एकता होइन, सबै भूगोल, जाति र समुदायबीच पैदा हुने स्वेच्छिक र भावनात्मक एकता हो, जसको केन्द्रमा राज्य रहन्छ।

ओलीको राष्ट्रवादले भन्छ, ‘‘राष्ट्रियता भनेको भूगोल हो, सीमाना हो। राष्ट्रिय अखण्डता र भौगोलिक एकता हो। भूगोल र सीमाना बलियो भयो भने राष्ट्रियता स्वतः बलियो भएर जान्छ।’’ उनका दृष्टिमा विदेशी हस्तक्षेपबाट मुक्त राष्ट्र नै असली अर्थमा राष्ट्रियता हो। यसले नै नागरिकको आत्म स्वाभिमान बढाउँछ र एकतालाई अक्षुण्ण राख्छ। तर, राष्ट्रियताको ओली परिभाषासँग प्रचण्ड सहमत छैनन्। प्रचण्ड भन्छन्, ‘‘राष्ट्रियताभित्र भूगोल र सीमानाको आफ्नै महत्व छ। तर, राष्ट्रियताको मुख्य पक्ष निश्चित भूगोल र सीमानाभित्र बस्ने नागरिकहरुको बलियो आत्मिक एकता हो। आन्तरिक एकता सुदृढ गरेर मात्र बाह्य चुनौतीको सामना गर्न सकिन्छ, स्वाधीनता र अखण्डताको रक्षा गर्न सकिन्छ।’’

ओलीको राष्ट्रवादले पहाडि खस–आर्य मनोविज्ञानको वकालत गर्दछ। उनको राष्ट्रवाद नाजी जातिको एकल अधिपत्यको हिटलरको नश्लीय राष्ट्रवादको वरिपरि घुमेको देखिन्छ। आफू जुन समुदायमा जन्मे र हुर्किए, जुन सभ्यता र संस्कृतिबाट आए, त्यसलाई नै सिङ्गो नेपालको सभ्यता, संस्कृति र स्वाभिमान ठान्ने उनको चिन्तन छ। यो राष्ट्रिय चिन्तन नभएर नश्लीय चिन्तन नै हो। आदिवासी, जनजाति, मधेसी, महिला, दलित लगायतका वर्ग र समुदायमाथि उनी जे–जस्ता आरोपहरु लगाउँदै आएका छन्, यसले उनी राष्ट्रिय चिन्तन र धाराको प्रतिनिधित्व गर्दैनन् भन्ने कुरालाई नै प्रमाणित गर्दछ।

ओलीको जस्तै मधेसी राष्ट्रवादको वकालत गर्ने प्रवृत्ति पनि नेपाली राजनीतिमा विद्यमान छ। मधेसलाई मात्रै नेपाल देख्ने, मधेसीको एकल अधिकारलाई मात्रै राष्ट्रियताका अर्थमा परिभाषित गर्ने यो प्रवृत्ति पृथकतावादका रुपमा अगाडि आएको छ। यो प्रवृत्तिले मधेसमा मधेसी समुदायबाहेक अरु कसैको अस्तित्व स्वीकार्न गर्न सक्दैन। यो पनि राष्ट्रवादको क्षेत्रीय स्वरुपमा उदाएको निरङ्कुशतावाद नै हो। अन्ततः यो पृथकतावादी चिन्तनले पनि राष्ट्रियतालाई बलियो नभएर थप कमजोर बनाउँछ।

ओलीद्वारा अघि सारिएको पहाडि राष्ट्रियता र मधेससम्बद्ध दलहरुद्वारा अघि सारिएको मधेसी राष्ट्रियता राष्ट्रवादका नाममा अघि सारिएका नश्लीय चिन्तन नै हुन्। यी दुवै प्रवृत्तिले सबै जाति, धर्म, लिङ्ग, समुदाय र भूगोलको समान अधिकार, आत्मसम्मान र बराबरीको हकमाथि नियन्त्रणको सोंच राख्दछन्। यी प्रवृत्तिले निश्चित भूगोल र समुदायको प्रतिनिधित्व त गर्दछन्। तर, सिङ्गो राष्ट्रको भौगोलिक र नागरिक आकाङ्क्षाको प्रतिनिधित्व गर्न सक्दैनन्। क्षणिक दृष्टिले अन्धराष्ट्रवादप्रति नागरिकको आकर्षण रहन्छ र ती प्रवृत्ति शक्तिशाली पनि बन्दछन्। तर, प्रकारान्तरले त्यसले दुर्घटना नै निम्त्याउँछ।

राष्ट्रियताकै नारा अघि सारेर जर्मनीमा हिटलरको सत्तागमन भयो। नागरिकको समर्थनबाट औधी हौसिएर उनी निरङ्कुशताको अभ्यासतिर लागे, यहुदीहरुमाथिको निर्मम दमन र अत्याचार एवं समाजवादी रुसमाथिको उनको गिद्देदृष्टिले फासीवादी बाटो हुँदै अन्ततः हिटलर पतन भए। तात्कालीन दृष्टिले अन्धराष्ट्रवादले नागरिकको ध्यान खिच्न सफल भए पनि प्रकारान्तरमा त्यो पतन भएरै जान्छ भन्ने हिटलरको शासन काल एक ज्वलन्त उदाहरण हो। ओलीको अहिलेको प्रवृत्ति र राजनीतिक कदमहरु त्यतैतिर परिलक्षित छन्।

प्रचण्डका दृष्टिमा राष्ट्रियताका दुई आयाम छन्। पहिलो, देशभित्र बसोबास गर्ने सम्पूर्ण भूगोल र नागरिकको सुदृढ एकता र दोस्रो, बाह्य हस्तक्षेप र अतिक्रमणबाट मुक्त देश। उनले यसलाई आन्तरिक र बाह्य राष्ट्रियताको एकत्वको अर्थमा परिभाषित गर्दै आएका छन्। जतिबेला देशभित्रको एकता सुदृढ हुन्छ, त्यति बेला मात्रै बाह्य हस्तक्षेप र अतिक्रमणबाट देशलाई मुक्त पार्न सकिन्छ। देशभित्रकै भूगोल, जाति, समुदाय र मनोविज्ञानलाई खण्डित गरेर, अपमान गरेर वा दमनमा राखेर बाह्य शक्तिविरुद्ध लड्न सकिँदैन। आन्तरिक एकता सुदृढ गरेर बाह्य हस्तक्षेपका विरुद्ध दृढतापूर्वक उभिने नीतिलाई नै प्रचण्डले प्रगतिशील राष्ट्रवाद भन्दै आएका छन्। प्रचण्डको राष्ट्रियता ‘भाइ फुटे, गवार लुटे’ नेपाली किंवदन्तीबाट मुक्त नेपालको सपना हो।

जतिबेला मण्डेलाले रङ्गभेद अन्त्यको नारा उठाए, त्यतिबेला शासकहरु उनलाई राष्ट्रिय एकता कमजोर बनाएको, जातीय सद्भाव खल्बलाएको र राज्यविरुद्ध गम्भीर अपराध गरेको अभियोग लगाएका थिए। आज फरक सन्दर्भमा प्रचण्ड र नेकपाले वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गिक मुक्तिको मुद्दा उठाएका छन्, जुन मण्डेलाले उठाएको जातीय विभेदको अन्त्य र सुदृढ राष्ट्रियताको मुद्दा नै हो। यद्यपि आजको दुनियाँ, सामाजिक मनोविज्ञान र मानव चेतना मण्डेलाको समयको जस्तो पक्कै छैन। रङ्गभेद विरुद्धको लडाइँमा मण्डेलाजस्ता आरोपहरुको सामना गरे, प्रचण्ड र नेकपा नयाँ सन्दर्भमा तिनै आरोपहरुको भिन्न ढङ्गले सामना गरिरहेको छ।

ओलीको राष्ट्रियतासम्बन्धी नीति असाध्यै अस्थिर र ढुलमूले चरित्रको देखिन्छ। जतिबेला महाकाली सन्धि हुँदै थियो, नेपाली राजनीतिले असमान र अपमानपूर्ण महाकाली सन्धिको प्रमुख हर्ताकर्ताका रुपमा ओलीलाई चिन्यो। त्यसयताका अधिकांश राजनीतिक र कूटनीतिक परिघटनामा उनी दक्षिणप्रति नरम नीति राखेरै राजनीतिको केन्द्रमा आए। राजनीतिक परिस्थितिले उनका सामु सत्तालाई राष्ट्रियताको कूँजीसँग जोड्नैपर्ने बाध्यता आइलाग्यो। ठीक त्यही बिन्दुमा उनी राष्ट्रिय स्वाभिमानको पक्षमा उभिए। उनको राष्ट्रवादले देशभित्रको आन्तरिक एकता र अधिकारलाई सम्बोधन गर्न सकेन। त्यसैको परिणामस्वरुप अहिले उनी पहाडे राष्ट्रवादको धरोहरका रुपमा नेपाली राजनीतिमा छन्।

ओलीको राष्ट्रवादलाई हिटलरको राष्ट्रवादसँग तुलना गर्न सकिन्छ। पछिल्लोसमय उनीमा विकसित अहङ्कार, अरु दल र नेताहरुमाथि गरेको अपमान र रोषपूर्ण व्यवहारले उनी अधिनायकवादी कित्तातिर धकेलिँदै गएको प्रमाणित हुन्छ। अर्कोतिर उनले राष्ट्रवादको प्रश्नलाई सत्तारोहणको हतियारको रुपमा प्रयोग गर्दै आएका छन्। नाकाबन्दीका बेला देशभक्तिको बैशाखी टेकेका ओली बालुवाटारमा सामन्त गोयलसँगको भेट, भारतीय संस्थापन पक्षसँगको बढ्दो हिमचिम, चुच्चे नक्शाको खारेजी र प्रतिनिधि सभाको बिघटनसम्म आइपुग्दा उनको छवि फेरि एकपटक धुमिलिएको छ। राजनीतिलाई नजिकबाट बुझ्ने र ‘ओली ग्रन्थी’को नाभी भेट्नेहरु भन्छन्, ‘‘ओली दिल्लीद्वारा हुर्काइएका बुख्याचा हुन्, जसलाई देशभक्तिको पक्षमा उभिने नेताहरुलाई तर्साउन भारतले आवश्यकताअनुसार उपयोग गर्दछ।’’

ओलीले उठाएको राष्ट्रियताको बहस हिटलरकै नाजीवादी प्रभुत्ववादमा आधारित देखिन्छ। ओलीको सोचले राष्ट्रिय एकता बलियो पार्दैन। बरु जातिहरुबीच नयाँ द्वन्द्व, क्षेत्रीय असन्तुलन र घृणालाई नै जन्म दिन्छ। यसको अन्तिम रुप नश्लवाद हुँदै निरङ्कुशतावाद नै हो। अनि, प्रचण्डले अघि सारेको प्रगतिशील राष्ट्रवादको मुद्दा हिमाल, पहाड र तराई–मधेसलाई जोड्ने सेतु हो, देशभित्र विद्यमान सबै भूगोल, जाति, भाषा, समुदाय र लिङ्गलाई बलपूर्वक होइन, स्वेच्छिक र आत्मिक एकताको सूत्रमा बाँध्ने दृष्टिकोण हो। तसर्थ, ओलीको नश्लवादलाई प्रचण्डको प्रगतिशील राष्ट्रवादसँग तुलना गरेर हेर्नु राष्ट्रियताकै निम्ति घातक हुन जान्छ।

जनताद्वारा प्राप्त बहुमतलाई लत्याएर ओली निरंकुशताको जुन बाटो हिँडिरहेका छन्, त्यो सर्वनाशको बाटो हो। तर, यी सबै काम ओली आफ्नै विवेकले गरिरहेका छैनन्। उनको ‘प्रधानमन्त्रीय गन्थ्री’लाई राम्रोसँग नापेका शक्तिकेन्द्रले फेरि एकपटक ‘ओली बुख्याँचा’को प्रयोगमार्फत् नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र र नयाँ संविधानमाथि प्रहार गरेका छन्। यो लडाइँमा जनताको सर्वसत्तावादको पराजय र जनताको विजय निश्चित छ, जसरी रुसी क्रान्तिकारीहरुले हिटलरको फासीवादलाई जनताको शक्तिको बलमा पराजित गरेका थिए।

(२१ पुस २०७७, काठमाडौं)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्