प्राईम बैंकको बोनस शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

लोकपाटी न्यूज

काठमाडौं । आइतवार प्राइम कमर्सियल बैंकले प्रस्ताव गरेको १५ प्रतिशत बोनस शेयर सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।

यो दिन उक्त कम्पनीको शेयर कारोबार सर्वाधिक दोस्रो कम्पनीको रुपमा भइरहेको छ । पहिलोमा नेपाल लाइफको सर्वाधिक रकमको कारोबार भएको छ भने दोस्रोमा उक्त कम्पनीको भइरहेको छ ।

आइतवार अपरान्ह १ बजेर ५० मिनेटसम्ममा उक्त कम्पनीको रू. ३१ करोड ५५ लाख २१ हजार बराबरको शेयर कारोबार भएको छ । यस अवधिसम्म कम्पनीको शेयरमा खरीद चाप देखिएको छ ।

सो अवधिसम्ममा २ लाख ५१ हजार ४७३ कित्ता शेयर खरीदको माग छ भने १ लाख ५२ हजार १०७ कित्ता विक्रीको माग रहेको छ । खरीद चाप बढी भएकाले कम्पनीको शेयरमूल्य पनि यस अवधिसम्म प्रतिकित्ता रू. २३ ले बढेर रू. ४४९ पुगेको छ ।

प्रस्तावित लाभांश पारितका लागि कम्पनीले १३औं वार्षिक साधारसभा पुस २९ गते बोलाएको छ । उक्त सभा प्रयोजनका लागि पुस २० गते बुुक क्लोज गरिने भएकाले पुस १९ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्ने भएका हुन् ।

हाल उक्त कम्पनीको चुक्तापूँजी रू. १३ अर्ब ९८ करोड ५२ लाख ४९ हजार छ । सोही पूँजीको आधारमा १५ प्रतिशत बोनस कम्पनीले वितरण गर्न लागेको हो ।