काठमाडौं। गायन प्रतिभा प्रोत्साहन कार्यक्रम हल अफ फेमको सिजन २ आगामी पुस ११ गते शनिबारदेखि सुरु हुने भएको छ। एमएनटीभी अष्ट्रेलियाको आयोजनामा हुन लागेको यो सिंगिंग रियालिटी शोको प्रशारण हिमालय टेलिभिजनबाट पनि गरिनेछ।
विश्वभरका सैयौं प्रतिस्पर्धीबाट छनोट भएका टप ५० गायन प्रतिभाहरुबीचको यो प्रतिस्पर्धा निकै रोचक हुने अपेक्षा छ। कोभिड १९ कोरोना महामारीले विश्व नै ठप्प भएको बेला घोषणा गरिएको अन्तर्राष्ट्रिय अनलाईन प्रतिस्पर्धामा निर्णायकको रुपमा वरिष्ठ गायक दिप श्रेष्ठ, कन्दरा व्याण्डका चर्चित गायक विवेक श्रेष्ठ र रेजिना रिमाल रहनुहुनेछ।कार्यक्रमको सञ्चालन पूर्वमिस नेपाल सदिक्षा श्रेष्ठ र मिस नेपाल ओसेनिया २०२० जेमिना श्रेष्ठले संयुक्त रुपमा गर्नेछन्। रोचक त के छ भने जेमिना श्रेष्ठ अष्ट्रेलियामा रहेर नै कार्यक्रमको सञ्चालन गर्नेछिन् भने निर्णायक मण्डलका एक सदस्य गायक विवेक श्रेष्ठ पनि अष्ट्रेलियामै छन्।
एमएनटीभी अष्ट्रेलियाका Brand and Marketing Manager हल अफ फेम सिजन २ का Chief Executive Producer /dg रमन झाले गायन प्रतिस्पर्धामा निर्णायकको मत नै अन्तिम हुने जानकारी दिए। झाले भने, हामीले निर्णायकको मतलाई ७० प्रतिशत र दर्शकहरुको प्रतिक्रियालाई ३० प्रतिशतका आधारमा
निर्णय गर्नेछौं।
निर्णायकमध्ये एक वरिष्ठ गायक दिप श्रेष्ठले आफ्नै मौलिकताका कारण हल अफ फेम दर्शकहरुको मन जित्न सफल हुने भन्दै देश बाहिर रहेका प्रतिभाहरुले कार्यक्रमबाट विशेष प्रोत्साहन प्राप्त गर्ने बताए। उनले भने,हुनतः संगीतको सिमाना हुँदैन भनिन्छ। नेपाल भन्दा बाहिर रहेका नेपालीहरुको प्रतिभा सम्मानमा यो एउटा कोशेढुंगा बन्नेछ। हल अफ फेम सिजन २ मा सहभागी हुन कुनै उमेरको बन्देज लगाइएको थिएन भने विश्वका विभिन्न १२ देशबाट प्रतिस्पर्धीहरुले सहभागिता जनाएका छन्।
गत नोभेम्बर १५ सम्ममा आएका आवेदनमध्येबाट निर्णायक मण्डलले टप ५० को छनोट गरेका हुन्। हिमालय टेलिभिजनमा राति ८ बजेदेखि ९ बजेसम्म प्रशारण हुने हल अफ फेम सिजन २ को समापन आगामी माघ २४ गते शनिबार हुनेछ। कार्यक्रमको निर्माणमा विश्वस्तरको गायन प्रतिस्पर्धाहरुमा आफ्नो कला देखाइसक्नुभएका निर्देशक लक्ष्मण पौडेलको संलग्नता छ। विजेताले ५ लाख रुपैयाँ बराबरको पुरस्कार पाउनेछन् जसमा १ लाख नगद र गीत रेकर्डिंग, म्युजिक भिडिया निर्माण, अन्तर्राष्ट्रिय प्रबद्र्धन लगायत समावेश गरिएको छ।



लोकपाटी न्यूज

