जनार्दनबाबु कट्टेल/काठमाडौं, ५ पुस। नेकपाको विवाद उत्कर्षतिर पुग्दा प्रधानमन्त्री ओलीले फेरि वामदेव कार्ड फालेका छन्। प्रधानमन्त्री ओलीले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई तत्काल पूर्वएमाले धारको पार्टी अध्यक्षको नेतृत्व लिन प्रस्ताव गरेपछि फेरि एकपटक गौतम तरंगित भएका छन्। वामदेवको तरंग तीन दिनयता देखिने गरी प्रस्फुटन भएको छ।
शुक्रबार प्रचण्ड–नेपाल समूहले पेरिसडाँडामा प्रदेश नं.–१ का नेता कार्यकर्ताको भेला आयोजना गर्यो। उक्त भेलामा गौतम उपस्थित थिएनन्। भेलापछि पत्रकारहरुले वामदेव उपस्थित नहुनुको कारणबारे जिज्ञासा राखे। नेताहरुले प्रदेशका नेता–कार्यकर्तालाई बिफ्रिङ गर्ने कार्यक्रम भएकाले सबै नेतालाई आउन नभनिएको भन्दै टालटुले जवाफ दिए। तर, त्यसको केही बेरमा नै गौतमको सचिवालयले भन्यो – ‘‘उहाँ पार्टीको बैठकमा जानुहुन्छ, पाँच नेताको बैठकमा पनि जानुहुन्छ। तर, भेलामा जानुहुन्न।’’
प्रधानमन्त्री ओलीले नेकपामा जारी विवादमा आफूलाई साथ दिए आफूसँग भएको अध्यक्ष पद वामदेवलाई हस्तान्तरण गर्ने वचन दिएका छन्। पार्टी सचिवालय, स्थायी समिति, केन्द्रीय समिति, पार्टी संसदीय दल र संसदमा समेत प्रष्ट अल्पमत र कमजोर अंकगणितमा रहेका ओली पछिल्लो समय झन्झन् कमजोर बन्दै गएका छन्। उनीनिकट नेताहरुसमेत ओलीलाई एक पद छोडेर भए पनि पार्टी एकता र आफूहरुले अस्तित्व बचाइदिन अनुरोध गर्न थालेपछि उनी थप अप्ठ्यारोमा पर्दै आएका छन्। ओलीले संसदीय प्रक्रिया टारेर भए पनि संकटमोचन गर्न राखेको प्रस्तावमा राष्ट्रपति विद्यादेवी भण्डारीसमेत सकारात्मक नभएपछि उनी थप संकटमा देखिएका छन्। यही अप्ठ्यारो टार्न उनले वामदेवलाई पूर्वएमालेतर्फको अध्यक्ष लिन प्रस्ताव गरेका छन्।
तत्काल पूर्वएमालेतर्फको अध्यक्ष लिन प्रस्ताव आएपछि वामदेव दोधारमा देखिएका छन्। वामदेव दोधारका मूलतः तीन कारण देखिन्छन्, १. ओलीले प्रस्ताव गरे पनि आफू सजिलो परिस्थितिमा आउनेबित्तिकै उनी प्रस्तावबाट पछि हट्नेछन्। यसअघि पनि ओलीले वामदेवलाई पटकपटक पदको लोभ देखाएर धोका दिँदै आएका छन्। २. ओलीले दिइहाले पनि वामदेवलाई अध्यक्ष लिन सजिलो छैन। किनकि नेकपामा अध्यक्ष हस्तान्तरण कि त बहुमतबाट हुनुपर्छ कि त सर्वसम्मतिबाट। वामदेवलाई अध्यक्ष पद हस्तान्तरण गर्न पार्टीमा ओलीसँग बहुमत छैन। सर्वसम्मतिमा जाँदा ओली पक्षकै नेताहरु यो प्रस्ताव मान्ने पक्षमा छैनन्। ईश्वर पोखरेल लगायतका नेताहरु विगतदेखि नै वामदेव नस्वीकार्ने अडान लिँदै आएका छन्। त्यस्तो परिस्थितिमा प्रचण्ड–नेपाल समूहभित्र पनि वामदेवको भूमिकाप्रति प्रश्न उठ्नेछ। ३. ओलीको प्रस्ताव मान्दा वामदेवलाई आफ्नैले छोड्ने खतरा थप बढ्नेछ। विभिन्न कारण देखाउँदै यसअघि नै वामदेवका अधिकांश केन्द्रीय सदस्य र सांसदहरुले वामदेवको साथ छोडिसकेका छन्।
नेकपाको विवाद सचिवालयबाट स्थायी समितिमा झरिसकेका कारण वामदेव कार्ड पहिलेभन्दा फितलो देखिएको छ। ९ सदस्यीय सचिवालयमा वामदेव ओलीतिर उभिँदा वा मौन बस्दा प्रचण्ड–नेपाल समूहलाई निर्णय गर्न चुनौती हुन्थ्यो। किनकि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ अहिलेसम्म मझधारमा उभिँँदै आएका छन्। वामदेव र बादल दुवै मझधारमा उभिँदा पनि सचिवालयमा प्रचण्ड–नेपालको बहुमत पुग्छ। तर, २ नेता तटस्थ बस्दा निर्णय गर्न चाहिँ कठिनाइ हुन्थ्यो। तर, बहस स्थायी समितिमा झरिसकेको र केन्द्रीय समितिको बैठक आव्हान भइसकेको परिस्थितिमा वामदेव कार्ड फितलो भएको छ।
४४ सदस्यीय स्थायी समितिमा कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल मात्र मिल्दा पनि प्रष्ट बहुमत पुग्छ। त्यसमाथि वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ पक्षको बलियो साथ रहेका कारण यो समूह पार्टीका सबै तहमा प्रष्ट बहुमतमा छ। स्थायी समितिमा वामदेवको अर्को कुनै नेता छैन। उनी ओलीतिर लाग्नु वा नलाग्नुले स्थायी समितिको समीकरणमा खास ठूलो अर्थ राख्दैन। त्यसकारण ओलीको वामदेव कार्ड ढिलोसमेत भइसकेको छ।
केन्द्रीय समितिमा पनि प्रचण्ड–नेपाल समूहको झण्डै दुईतिहाइ भएकाले समीकरणमा आउने फेरबदलले खास अर्थ राख्दैन। प्रचण्ड–नेपाल समूहले चाहेमा केन्द्रीय समिति बैठकबाट जस्तोसुकै निर्णय लिन सक्दछ।
वामदेव ओली कित्तामा उभिएमा नेकपा संसदीय दलको समीकरण के होला ? यसबारे पनि प्रचण्ड–नेपाल समूहमा खासै दुविधा छैन। यसअघि विशेष अधिवेशन आव्हान गर्न राष्ट्रपतिलाई बुझाएको पत्रमा गौतम आफैले हस्ताक्षर गरिसकेका छन्। त्यसकारण पनि उनी त्यसबाट उम्किन सजिलो छैन। कथंकदाचित वामदेव पछि हटेमा पनि प्रचण्ड–नेपाल समूहको संसदीय दलमा प्रष्ट बहुमत पुग्ने देखिन्छ।
वामदेवका झण्डै डेढ दर्जन सांसदमध्ये केही सांसद यसअघि नै ओली कित्तामा उभिइसकेका छन्। ओलीले वामदेवलाई नजिक बनाउँदै नेता र सांसद चोर्न अभियान यसअघि नै तीव्र पारिसकेका कारण संसदीय दलमा समेत वामदेव निर्णायक देखिएका छैनन्। उनले लिने निर्णयले प्रचण्ड–नेपाललाई दवाव राख्न त खोज्नेछ। तर, रोक्न भने सक्ने छैन।
तर, प्रचण्ड–नेपाल समूह पार्टी नफुटोस् भन्ने मनस्थितिमा रहेका कारण वामदेव कार्ड ओलीका लागि केही सहज हुन सक्छ। यसले ओलीलाई समय लम्बाउने रणनीतिमा सहयोग भने पुग्नसक्ने देखिन्छ। तर, वामदेव स्वयं प्रचण्ड र माधव नेपाललाई बिच्काएर ओलीतिर जाने सोंचमा देखिँदैनन्। त्यसकारण पनि ओलीको पछिल्लो कार्डले उनको संकटमोचन गर्नसक्ने देखिँदैन।



लाेकपाटी न्यूज

