पूर्व पत्नीविरुद्ध मनोज गजुरेल कानुनी उपचारमा जाँदै

लोकपाटी न्यूज

काठमाडौं। हाँस्यकलाकार मनोज गजुरेलले दोस्रो विवाहको चर्चा चल्दै गर्दा आफू पूर्वपत्नीबाट पीडित भैरहेको बताएका छन्। उनले सामाजिक संजालमा एक स्टाटस पोष्ट गर्दै पूर्वपत्नीको अनावश्यक गाली–बेइज्जतीबाट पीडित भैरहेको बताएका हुन्।

उनले लेखेका छन्, ‘झन्डै ३ वर्ष अगाडि नेपालको कानुन अनुसार डिभोर्स गरेर सम्बन्ध सकिएको कुरा यहाँहरुलाई विदितै छ। तर कानुनी रुपमा आआफ्नो बाटो लागिसकेपछि पनि अर्को पक्षबाट विभिन्न माध्यमबाट गाली बेइज्जतीको क्रम रोकिएन।

एउटा सार्वजनिक र जिम्मेवार नागरिकको नाताले मौन रहेँ। दुई सन्तानको जिम्मा लिएर बसेको अभिभावकको नाताले चुप रहेँ।’ सकिएको सम्बन्धको आधारहीन आरोप प्रत्यारोपले आफ्ना छोराछोरीलाई समेत ठूलो असर पर्न थालेको आफूले महसुस गरेको बताएका गजुरेलले सहनुको सीमा नाघेकोले आफूसँग कानुनी विकल्प बाहेकको बाटो नरहेको समेत बताएका छन्।

केहीदिन अगाडि दोस्रो विवाह गर्न लागेको सार्वजनिक गरेका थिए। उनको उक्त विषयलाई लिएर सामाजिक संजालमा विभिन्न टिप्पणी समेत भइरहेका छन्।

३ वर्ष अगाडि पत्नी मीना ढकालसँग कानुनी रुपमा डिभोर्स गरेका उनले अहिले आएर विवाहको निर्णय गरेका हुन्। उनले विवाह गर्न लागेको दुलहीको बारेमा भने केही कुरा बाहिर ल्याएका छैनन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्