अर्थतन्त्रका विविध शाखाहरुमध्ये डिजिटल अर्थतन्त्र कान्छो शाखा हो। इन्टरनेटका माध्यमबाट आफ्नो व्यापार व्यवसायको बिस्तार, प्रर्बद्धन, विकास, संरक्षण गर्ने कार्यलाई डिजिटल अर्थतन्त्र भनिन्छ। सूचना र प्रविधिका विविध नयाँ यन्त्र, उपकरण तथा प्रणालीको प्रयोगबाट यसलाई सञ्चालन गरिने भएकाले यसलाई प्राविधिक तथा नौलो अर्थतन्त्रका नामले चिनिन्छ। विश्व अर्थतन्त्रमा यसको धारणा सन् १९९० मा जापानको आर्थिक संकट समाधान गर्न त्यहाँका अर्थशास्त्रीले प्रयोगमा ल्याएका हुन्। यस अर्थतन्त्रको सफल प्रयोग युरोपियन युनियनमा वर्तमान समयमा भइरहेको छ।
बाकीँ विश्वमा यसको प्रयोगको दरमा दिनानुदिन बढिरहेको कुरा विश्व बैकं, अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रतिवेदनले बताइराखेको छ। आगामी दिनमा विश्व अर्थतन्त्रमा डिजिटल अर्थतन्त्रको एकाधिकार रहने कुरामा कुनै शंका रहेको छैन। जुन कुरालाई वर्तमान समयका गुगल, एप्पल, ट्वीटर, फेसबुक, एमाजोन, दराजजस्ता अनलाइन बजार व्यवस्थापनले संकेत गरेका छन्। विश्व अर्थतन्त्रमा डिजिटल अर्थतन्त्रको प्रयोग १९९० को दशकमा भएता पनि नेपालमा यसको प्रयोग २१ औं शताब्दीबाट सुरुवात भएको पाइन्छ।
डिजिटल अर्थतन्त्रको प्रयोग विकसित देशमा सरल सहज तरीकाले भइरहेको छ। नेपालमा यसको प्रयोगमा विविध प्रकारका समस्याहरु रहेका छन्। जस्तैः विद्युतीकरण, तीव्र गतिको इन्नटरनेट सुविधा तथा प्राविधिक जनशक्ति आदि। वर्तमान समय विज्ञान प्रविधिको रहेको हुनाले यसैमा आधारित भएर आफ्नो आर्थिक गतिविधि सञ्चालन गर्न नसक्ने देश आर्थिक रुपमा पछाडि पर्ने देखिन्छ। नेपालमा यस अर्थतन्त्रको निकै नै धेरै सम्भावना रहेको छ। यहाँका ४० लाख बढी युवाहरु वैदेशिक रोजगारीमा रहेका छन्, जसले कमाएको पैसालाई सहज रुपमा उनीहरुको घर परिवारसम्म पुर्याउनु साथै विदेशबाट नै स्वदेशमा लगानी गर्न यसले महत्वपूर्ण भूमिका प्रदान गर्नेछ। यसैगरी नेपालको बढ्दो वैदेशिक व्यापार घाटालाई केही हदसम्म नियन्त्रण तथा कम गर्न यसले सहयोग गर्ने सम्भावना छ।
नेपालमा २० वर्ष अगाडिबाट यसको प्रयोगको अभ्यास थालिएको भएता पनि चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमले प्राथमिक क्षेत्रमा समावेश गरेको छ। यसबाट पनि नेपाल सरकारले डिजिटल अर्थतन्त्रलाई आफ्नो अर्थतन्त्रको एक हांगाका रुपमा स्वीकार गरेको पाइन्छ। नेपाल विश्व अर्थतन्त्रमा एक उदयीमान देशमा रुपमा पछिल्लो समयमा परिचित भएको परिवेशमा सरकारले डिजिटल अर्थतन्त्रका आधारशिला तयार पार्न लाग्नु आवश्यक छ। सन् १९८० भन्दा अगाडि विज्ञान, प्रविधि तथा कम्प्युटर शिक्षा पछाडि रहेको भारत आज डिजिटल अर्थतन्त्रमा नेपालभन्दा धेरै अगाडि बढेको छ। जसको एउटै कारण प्राविधिक शिक्षामा गरिएको लगानी हो। डिजिटल अर्थतन्त्रमा नेपालको सम्भावनालाई पछिल्लो समयको स्वास्थ्य महामारीमा भएका आर्थिक गतिविधिले प्रमाणित गरेको छ ।
डिजिटल अर्थतन्त्रका सकारात्मक प्रभावहरुलाई यसरी उल्लेख गर्न सकिन्छ।
१. इन्टरनेटको प्रयोग तथा व्यापारमा बिस्तार,
२. डिपजटल वाणिज्यशास्त्रको विकास र बिस्तार,
३. डिजिटल उत्पादन पद्धतिको विकास,
४. पारदर्शिता, शुशासन तथा कार्यदक्षताको विकास तथा प्रर्बधन,
५. सामाजिक आर्थिक पूर्वाधार विकासमा समय र खर्चको बचत हुने,
६. वस्तु बजारका सम्पूर्ण समस्याहरु सजिलै समाधान गर्न सकिने, इत्यादी।
नेपालमा डिजिटल अर्थतन्त्र किन ?
विश्व अर्थतन्त्रमा नेपाल विकासोन्मुख मुलुकका रुपमा आफूलाई प्रस्तुत गरेको वर्तमान समयमा डिजीटल अर्थतन्त्रको सान्दर्भिकता रहेको छ। नेपाली अर्थतन्त्र परनिर्भर अर्थतन्त्रका रुपमा रहेको समयमा यसलाई विज्ञान र प्रविधिको माध्यमबाट आत्मनिर्भरताको बाटोमा अगाडि बढाउन पनि यसको आवश्यकता रहेको छ। नेपाली अर्थतन्त्रका हरेक क्षेत्रहरु जस्तैः कृषि तथा पशुपालन, उद्योग, व्यापार, पर्यटन, सञ्चार, शिक्षा, स्वास्थ्य, आदि क्षेत्रमा यसको आवश्यकता रहेको छ। नेपालको पछिल्लो समयको आवधिक योजना तथा बजेटले स्थापना गर्न चाहेको समृद्ध नेपाल, खुसी नेपाली नारा शतप्रतिशत पूरा हुनेछ।
वर्तमान समयमा नेपालमा प्रतिसय जनसंख्यामा १३० वटा मोबाइल फोन तथा ६५ जनामा इन्टरनेटको सुविधा पुगेको छ। वर्तमान समयमा विश्वका हरेक आर्थिक गतिविधिहरु अनलाइनका माध्यमबाट हुने गरेका छन्। यसबाट नेपाल पछाडि परेको अवस्थामा देशको आर्थिक विकासको गतिमा ‘पोलियो’ लाग्ने भएकाले पनि नेपालका तिनै तहका सरकारको पहिलो प्राथमिकता डिजिटल अर्थतन्त्रको पूर्वाधार विकास हुनुपर्दछ। हामीले हाम्रा सबै उत्पादनहरुलाई विश्व अर्थतन्त्रका उत्पादनसँग प्रतिस्पर्धा गराई थप ज्ञान, सीप तथा दक्षता हासिल गर्नका लागि पनि सरकार जर्बजस्त रुपमा भए पनि यस अर्थतन्त्रमा जानुको विकल्प छैन। डिजिटल अर्थतन्त्रका पूर्वाधार विकास गरी यसलाई अभ्यासमा लैजान सकेको अवस्थामा अबको १० वर्षमा नेपालको कुल ग्राहस्थ उत्पादनमा १२ देखि १८ प्रतिशत योगदान गर्नेछ।
नेपालको निजी क्षेत्र डिजिटल अर्थतन्त्रको विकास तथा बिस्तारका लागि सक्षम रहेको छ, जसलाई भरपुर प्रयोग गरी मुलुकको अर्थतन्त्रलाई समृद्ध बनाउनका लागि सरकारी, सहकारी र निजी तीनवटै पिलरहरुले आपसमा सर्हकार्य गरी अगाडि बढ्नुपर्छ। नेपाली अर्थतन्त्रमा रहेका विविध समस्याहरु समाधान गर्नमा डिजिटल अर्थतन्त्रले प्रमुख भूमिका निर्वाह गर्न सक्छ। नेपालमा डिजिटल अर्थतन्त्रको आवश्यकताका कारणहरु यसप्रकार छन्।
१. शैक्षिक बेरोजगारी
पछिल्लो तथ्याङ्कअनुसार नेपालको बेरोजगारी दर ३८ प्रतिशत रहेको छ। जसको ४० प्रतिशत शैक्षिक बेरोजगारी रहेको छ। यस्तो अवस्थामा नेपाल सरकारलाई आफ्ना नागरिकलाई रोजगारी प्रदान गर्न कठिन छ। यसकारण सरकारका लागि बेरोजगारी समस्या समाधान गर्ने उपयुक्त विकल्प भनेको डिजिटल अर्थतन्त्रको पूर्वाधार विकास तथा बिस्तार हो। शैक्षिक रुपमा सक्षम रहेर बेरोजगार रहेको जनशक्तिलाई नेपाल सरकारले यस क्षेत्रमा व्यवस्थापन गर्न सक्ने प्रबल सम्भावना रहेको छ। यस कारणले गर्दा पनि डिजिटल अर्थतन्त्र नेपालको बेरोजगारी समाधान गर्ने बलियो आधार बन्नेमा शंका छैन।
२. गरिबी निवारण
सरकारी तथा निजी क्षेत्रबाट प्रवाह हुने सेवा तथा कारोवारलाई विद्युतीय माध्यमबाट सञ्चालन र व्यवस्थापन गर्न डिजीटल नेपाल फ्रेमवर्कले डिजिटल प्रविधिको व्यापक उपयोगमार्फत् मुलुकमा सुशासन कायम गरी सार्वजनिक सेवा प्रवाह, समाज तथा तथा अर्थतन्त्रका बृहत्तर आयामको रुपान्तरण गर्नेछ, जसका माध्यमबाट अर्थतन्त्र सरल तथा सहज माध्यमबाट अगाडि बढ्ने छ भने यसले आम नागरिकको आम्दानी पनि बढाउनेछ। जसको सिधा नतिजा हाम्रो गरिबीको दर बिस्तारै घट्नेछ। अर्थतन्त्रका सबै क्षेत्रमा अनलाईन गतिविधि बढाउन सकेको खण्डमा योग्य व्यक्ति जिम्मेवार पदमा रहने भएकाले यसले नेपाली गरिबीको संख्यालाई बिस्तारै घटाउन सहयोग गर्नेछ।
३. पर्यटन उद्योगको विकास
नेपालमा पर्यटन उद्योग सम्भावना निकै नै रहेको तथ्यलाई बाँकी विश्वले स्वीकार गरिसकेको छ। त्यसकारण पनि नेपाली पर्यटन उद्योग र डिजिटल अर्थतन्त्र एक अर्काका परिपूरकमा रुपमा अगाडि बढाउन जरुरी छ। अनलाइन प्रविधिको प्रयोग गरेर नेपालको जैविक विविधता, पर्यावरणीय सौन्दर्यता, धार्मिक, सांस्कृतिक, ऐतिहासिक क्षेत्रको प्रचार प्रसार गर्न सकिन्छ। जसका माध्यमबाट नेपाली अर्थतन्त्रमा रहेका चक्रीय आर्थिक सामाजीक समस्याहरु दीगो रुपले समाधान गर्ने प्रबल सम्भावना रहेको छ। वर्तमान समयमा कुल ग्राहस्थ उत्पादनमा २ प्रतिशतको योगदान गरेको यस क्षेत्रमा डिजिटल अर्थतन्त्रको प्रयोग सफल रुपमा गर्न सरकार तथा निजी क्षेत्र चुक्नु हुँदैन। आज विश्वका बिभिन्न देशहरुले अनलाइनका माध्यबाट पर्यटन क्षेत्रको विकास गरिहेका छन्, जस्तैः सिगांपुर, स्वीट्जरलैण्ड।
४. कृषिको आधुनिकीकरण
नेपाल एक कृषि प्रधान देश भइकन पनि आशातित गतिमा यस क्षेत्रमा प्रगगि गर्न सकिरहेको छैन। जसका पछाडि विविध कारणहरु रहेका छन्। जसमध्ये एक प्रमुख कारणका रुपमा यस क्षेत्रसँग सम्बन्धित पक्षले आफ््नो बजार बिस्तार गर्नका लागि आफूलाई डिजिटल प्रविधिमा जोड्न नसक्नु पनि हो। हामी हाम्रो कृषि प्रणालीले उत्पादन गरेको उत्पादनलाई डिजिटल माध्यबाट उपभोग, वितरणका पक्षमा सुधार ल्याउन सकिने प्रस्तत सम्भावनाहरु रहेका छन्। यसले एकातर्फ बजारको बिस्तार हुन्छ भने अर्कोतिर यसैका माध्यमबाट थप रोजगारीका अवसरहरु सिर्जना भई आन्तरिक श्रम बजार मजबुत बन्नेछ। यसकारण नेपाली कृषि क्षेत्रको कारोवारलाई पनि डिजिटल अर्थतन्त्रको मोडलमा लैजान ढिलाई गर्नु हुँदैन।
अत्यमा, देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याउन सक्ने डिजिटल अर्थतन्त्रलाई व्यवहारिक जीवनमा सफल कार्यान्वयन गराउन सक्नुपर्छ। अर्थतन्त्रमा आशातित गतिमा परिवर्तन ल्याउनका लागी हरेक देशले आफ्नो घरेलु अर्थतन्त्रमा हरेक क्षेत्र तथा पक्षलाई डिजिटलमा रुपान्तरण गर्न ढिलाई गर्नु हुँदैन। नेपाल सरकारले आफनो अर्थतन्त्रलाई डिजिटल बनाउनका लागि डिजिटल नेपाल फ्रेमवर्क २०७६ गत वर्ष कार्तिक ५ बाट नै प्रयोगमा ल्याइसकेको छ। यसअनुसार नेपाल सरकारले पहिलो चरणमा पर्यटन, व्यापार, शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा डिजिटल अर्थतन्त्रलाई प्रयोग गर्ने रणनीति अपनाएको छ।
वर्तमान समयमा डिजिटल अर्थतन्त्रले विश्वको कुल ग्राहस्थ उत्पादनमा वार्षिक १६ प्रतिशतको योगदान गरिरहेको छ। वर्तमान समयमा डिजिटल अर्थतन्त्रलाई आत्मसाथ गर्दै निमार्ण भएका गुगल, एप्पल, फेसबुक, ट्वीटर, एमाजोनको वार्षिक बजेट विश्वका विकसित देशका हाराहारीमा रहनुले पनि यसको सान्दर्भिकता पुष्टि गरेको छ।



लोकपाटी न्यूज

