एसियाको सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी, देशको राजनीति र सत्ताको केन्द्रमा रहेको नेकपा यतिबेला विचारधारात्मक बहस र राजनीतिक संकटको चुचुरोमा छ। विद्यमान बहस सकारात्मक दिशातिर मोडिँदा नेपाली कम्युनिस्ट आन्दोलनले विचार, राजनीति र संगठनका क्षेत्रमा गुणात्मक प्रगति हासिल गर्ने अवसर पनि छ। तर, बहस र विधिले नकारात्मक बाटो मोड्दा सिंगो नेपाली कम्युनिस्ट आन्दोलन विभाजित र बदनामित हुने खतरा पनि त्यत्तिकै छ। त्यसैले नेकपाभित्र विद्यमान संकट र बहसका सन्दर्भमा केही कुरा उल्लेख गर्दछु।
प्रधानमन्त्रीज्यू,
गत २०७४ असोज १७ गते तपाई र प्रचण्ड मिलेर राष्ट्रिय सभागृहमा जतिबेला पार्टी एकताको संकल्पसहित चुनावी गठबन्धनको घोषणा गर्दै हुनुहुन्थ्यो, त्यतिबेला पार्टीका नेता–कार्यकर्तामा अद्वितीय खुसी छचल्किएको थियो, प्रतिस्पर्धी राजनीतिक शक्तिहरुमा निकै ठूलो कम्पन पैदा भएको थियो, देशभित्र र बाहिर आशाको किरण छाएको थियो। आजभन्दा तीन वर्षअगाडि प्रचण्ड र तपाई मिलेर गरेको त्यो काम साहसिक थियो, ऐतिहासिक थियो। तसर्थ, तपाईहरुको निर्णयका पछाडि सिंगो मुलूक उभिएझैं अनुभूत हुन्थ्यो।
असोज १७ को निर्णयपछि सिंगो मुलूक निर्वाचनमा होमियो। तत्कालीन एमाले र तत्कालीन माओवादीभित्र आंशिक असन्तुष्टि थिए। पूर्वमाओवादीभित्र जो असन्तुष्ट थिए, उनीहरु एकताकै क्रममा बाहिरिए। तर, तपाईका आफ्ना भनिएका र ठानिएका केही पात्रहरु पार्टीभित्रै रहेर एकता असफल पार्ने प्रयत्नमा रहे। आज नेकपाले जुन अन्तरविरोध र कचिंगलको सामना गरिरहेको छ, यस्तो परिस्थिति निर्माणमा असन्तुष्ट भएर पनि नेकपाभित्रै रहेका त्यस्ता नेताहरुको हात छ, जसको एकता प्रक्रियामा ‘भविष्यको अंकगणित’ बिग्रिएको थियो। त्यसबाहेक कम्युनिस्ट आन्ददोलन र देशले एकताको स्वागत गर्यो। ‘अब दुखका दिन गए’ भन्ने कल्पनामा रमाएर निर्वाचनको महासंग्राममा होमिएका ती कार्यकर्ता र क्रान्तिकारी जनता आज सबैभन्दा दुखी छन् र ‘नेकपाको पक्षमा उभिनु कतै सुखका दिन जानुजस्तो त भएन ? भन्दै पूर्पूरो समातिरहेछन्।
प्रधानमन्त्रीज्यू,
नेपाली जनताले वाम गठबन्धनलाई अभूतपूर्व अवसर दिएकै हुन्, जुन अवसरको राम्रो सदुपयोग गर्न सकेको भए हामी आज अर्कै परिस्थितिमा उभिएर बहस गरिरहेका हुन्थ्यौं। वाम गठबन्धन र कम्युनिस्ट एकताको गरिमालाई तपाईले प्रधानमन्त्रीका लागि भर्याङका रुपमा दुरुपयोग नगरेको भए आज सिंगो नेकपा एकता, विकास र समृद्धिको अपेक्षित चुचुरोमा हुन्थ्यो। तर, अढाइ वर्षको अन्तरालमा सरकारले गरेका कामका कारण जनताले कम्युनिस्ट आन्दोलनकै बिकल्प खोज्नसक्ने भयावह परिस्थिति उपस्थित भएको छ। परिस्थिति यस्तो बन्दैछ कि तपाईको हठ र असफलतासँगै हाम्रो पुस्ता र नेपालको कम्युनिस्ट आन्दोलन नै सती जानुपर्ने वा कठोर निर्णयमार्फत् नेकपालाई मार्क्सवादी बाटोमा फर्काउनुपर्ने एक विकल्प मात्र हामीसँग बाँकी छ।
गत २०७५ जेठ ३ गते पार्टी एकताको ऐतिहासिक घोषणा हुँदा तीन महिनाभित्र पार्टी एकताका सम्पूर्ण काम सम्पन्न गर्ने घोषणा गरिएको थियो। तर, अढाइ वर्ष बितिसक्दा पनि तल्लो तहसम्म एकताको काम सम्पन्न हुन सकिरहेका छैन। पार्टी ‘भेन्टिलेटर’मा हुँदा त्यसको प्रत्यक्ष प्रभाव नेकपाका हजारौं जनप्रतिनिधि र लाखौं कार्यकर्ताको कार्यसम्पादन र जनताको प्रगतिमा परिरहेको छ। यस्तो परिस्थितिका लागि कार्यकारी अध्यक्ष प्रचण्डलाई पनि आंशिक दोष दिन सकिएला। तर, हलो अड्काएर गोरु चुट्ने तपाईको प्रवृत्तिले पार्टी गतिहीन बन्न पुग्यो। आउँदो निर्वाचनसम्म नेकपाको यही स्थिति रहिरहे तपाई–हाम्रासामु पूर्पूरो समातेर आफ्नै विगत सराप्नुबाहेक अर्को बिकल्प हुँदैन कि भन्ने चिन्ताले लाखौं कार्यकर्ता ढुक्कसँग निदाउन सकिरहेका छैनन्। तर, यस्तो संकटका बिच पनि तपाई बालुवाटारमा कसरी मस्तसँग निदाउन सकिरहनुभएको छ ?
प्रधानमन्त्रीज्यू,
जतिबेला तपाई प्रधानमन्त्रीको सपथ लिँदै हुनुहुन्थ्यो, सिंगो देश श्वाससमेत फेर्न बिर्सेर तपाईको सफल कार्यकालको मीठो सपनामा लठ्ठिएको थियो। तर, प्रकारान्तरले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा जनताको ध्यान भ्रष्टाचारबाट अन्यत्र मोडेर देशलाई लुटतन्त्रमा धकेल्ने हतियार सावित भयो। प्रधानमन्त्रीज्यू, तपाईलाई लाग्दैन, म भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार हुन दिन्नँ, इमान्दार भएर देश र जनताको सेवामा समर्पित हुने प्रतीज्ञा गर्दछु’ भन्ने भित्तेनाराले तपाईलाई नै गिज्याइरहेको छ ?
आज नेकपा दुर्घटनाको डिलमै छ। देशको प्रधानमन्त्री र पार्टीको पनि अध्यक्ष हुनुको नाताले नेकपाभित्र विद्यमान समस्याको मूल जिम्मेवारी तपाईले नै लिनुपर्ने हुन्छ। तर, तपाई ‘रोम जल्दा निरो बाँसुरी बजाएर बसेजस्तै’ नेकपाको संकट समाधानका निम्ति होइन, संकटलाई थप अन्यौलतामा धकेल्ने काम गरिरहनुभएको छ। पार्टीभित्र विद्यमान बहसबाट भाग्ने र समाधानको ढोका बन्द गर्ने, खुला बहसको प्रक्रिया लत्याएर अध्यारा कोठाबाट कुटिल चालको प्रयत्न गर्ने, लोकतान्त्रिक विधि र प्रक्रिया लत्याएर हठलाई नै शक्तिसामु नझुक्ने आदर्शका रुपमा सिरानी हाल्ने र नेकपालाई ‘भेन्टिलेटर’मा राख्ने तपाईका गतिविधि नेपालको कम्युनिस्ट आन्दोलन र देशको समृद्धि एवं विकासकै निम्ति घातक छ। तर, के तपाईले मेरो कारणले देशमा गलत नतिजा र नजिर स्थापित भइरहेको भन्ने कुराको कहिल्यै आत्मसमीक्षा गर्नुभएको छ ?
प्रधानमन्त्रीज्यू,
नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले आफ्नो राजनीतिक प्रस्तावमा सरकारले अढाइ वर्षको कार्यकालमा किन अग्रगामी गति लिन सकेन, जनताको आशा निरासा हुँदै किन आक्रोशमा परिणत हुँदैछ भन्ने कुराको ठोस चित्रण गर्नुभएको छ। त्यो प्रचण्डको मात्र दस्तावेज नभएर आम नेपालीका मनमनमा उब्जिएका प्रश्नहरुको संश्लेषण मात्र हो। तर, किन तपाई ती कमजोरीतिर फर्किन किन तयार हुनुहुन्नँ ? आरोपहरुको खण्डन तर्कले होइन, तथ्यले हुनुपर्दछ भन्ने कुरामा तपाईको ध्यान किन जाँदैन ? तथ्यकै कुरा गर्दा हुन त अधिकांश समय तपाईले तथ्यांकका नाममा मिथ्यांकको सहारा लिएका दृष्टान्त पनि कम वियोगान्त छैनन्।
राजनीतिक जीवनमा इतिहासले पटकपटक अवसर दिन सक्दैन। जसले आएको अवसरको चुहावटरहित उपयोग गर्न सक्दछ, त्यो नै शिखरमा पुग्छ। तपाईलाई इतिहासले एउटा अभूतपूर्व अवसर दिएको थियो, देशको समृद्धिको अवसर, सुशासनको अवसर, नेपालमा शक्तिशाली कम्युनिस्ट केन्द्र बनाएर समाजवादको जग हाल्ने अवसर। तर, त्यो अवसरको सदुपयोग हुन सकेन। किताब किन्न दिएको पैसाले लागूऔषध खाएजस्तो, खाना पकाउन दिएको सलाई खरको घरमा कोरेजस्तो तपाईले पनि जनताको शर्तवद्व अभिमतलाई गलत कामका निम्ति प्रयोग गर्नुभयो। आज तपाईले भ्रष्टाचारको दर ओरालो लागिरहेको अभिव्यक्ति दिइरहँदा देशमा भ्रष्टाचारको तथ्यांक मात्र उकालो लागेको छैन, देशको स्वाभिमान पनि दिनहुँ ओरालो लागिरहेको छ। के तपाईलाई यतातिर हेर्ने फुर्सद छ ?
कम्युनिस्ट आन्दोलन र देश कसैको निजी सम्पत्ति होइन। यो तपाईले बैठकको सहमतिका लागि दिइएको पत्रमा तोकआदेश लगाउने प्राइभेट कम्पनी पनि होइन। यो त आम श्रमजीवी वर्गको मुक्तिदाता हो, लाखौं कार्यकर्ता र करोडौं जनताको रगत र पसिनाबाट सिर्जित अविछिन्न र हजारौं टाउकाहरुको केन्द्रकरणमार्फत् प्राप्त हुने वैचारिक उर्जा र शक्ति हो। यस्तो शक्तिलाई भेन्टिलेटरमा राखेर तपाईले कस्तो समाजवादको कल्पना गर्दै हुनुहुन्छ ? कस्तो समृद्धि र सुशासनको वकालत गर्दै हुनुहुन्छ ? के यो कम्युनिस्ट पार्टी र लोकतान्त्रिक आन्दोलनको आदर्श र अभ्यासभित्र पर्दछ ?
प्रधानमन्त्रीज्यू,
लाखौं कार्यकर्ताको अनुमान थियो, तपाईसामु निजी र पारिवारिक मामिलाहरुको व्यवस्थापनको जिम्मेवारी छैन। तपाई त्यो जिम्मेवारीबाट मुक्त हुनुहुन्छ। तसर्थ, तपाईंको आँखाले सबै युवाहरुलाई आफ्ना छोराछोरी देख्नेछ, ती सबैको भविष्य निर्माणका लागि तपाईको ‘एकलव्य संकल्प’ हुनेछ। तर, परिस्थिति त्यस्तो रहेन। राज्यका साधन स्रोत कब्जा गरेर देशलाई खोक्रा बनाउनेहरु तपाईको आँखामा प्रिय बन्दै गए, अनि तपाई आफूलाई तिनीहरुकै ‘बा’का रुपमा उभ्याउँदै राज्य नै अमुक गिरोहलाई सुम्पिदिनुभयो। आज तपाईका छोराहरु तपाईको नाकमा बसेको झिंगो धपाउन तपाईमाथि तरबार बजारिरहेछन्। यो दृश्यले तपाईका आलोचकहरु मात्र होइन, शुभेच्छुकहरु पनि ‘क्वाँक्वाँ’ रुन मात्र सकिरहेका छैनन्।
जसले आज तपाईलाई ‘बा’का रुपमा काँध थापिरहेका छन्, क्षणिक रुपमा त उनीहरु तपाईका सहयोगी होलान्। तर, उनीहरुले देशलाई खोक्रो बनाइरहेका छन्। आज तपाईको वरिपरि जुन झुण्ड र समूहको केन्द्रीकरण देखिन्छ, तिनीहरु समाजको आँखामा भ्रष्टको सूचिमा दर्ज भएका छन्। त्यस्तो समूहबाट समाजवादको आधार निर्माणको त कुरै छोडौं, तपाईको गुटसमेत बलियो हुन सक्दैन। अनि, तपाई त्यस्तो घेरामा रमाएर कस्तो शक्तिको कल्पना गरिरहनुभएको छ, कस्तो सपना देखिरहनुभएको छ, जसले तपाईको संकटमोचन गर्न सकोस्।
प्रधानमन्त्रीज्यू, तपाई नेकपाको अध्यक्ष पनि हुनुहुन्छ। नेकपाभित्र विद्यमान विवादकै पृष्ठभूमिबाट मार्क्सवादी पार्टी निर्माण र समाजवादको आधार तयार पार्ने यो एउटा महत्वपूर्ण अवसर पनि हो। तर, तपाईका लागि त्यस्ता बहसमा कुनै रुचि देखिँदैन। तपाईले आफ्नाविरुद्ध गरिने विमर्श र आलोचना नयाँ मार्गचित्र निर्माणका लागि महत्वपूर्ण साधन हुन सक्छन् भन्ने कल्पना पनि गरेको देखिँदैन। के बैठकमा भागेर नेकपाको विद्यमान समस्या समाधान हुन्छ ? के सैद्धान्तिक प्रश्नहरुको आग्रहयुक्त खण्डन र प्रतिशोधले कम्युनिस्ट आन्दोलन बलियो हुन्छ ? के समस्या समाधानको सबैभन्दा भरपर्दो माध्यम र सर्वमान्य प्रणाली विश्लेषणका आधारमा गरिने संश्लेषण होइन ? अहिले त अल्पमतमा परेका कारण तपाई भाग्नुहोला। तर, भोलि तपाई बहुमतमा हुँदा अल्पमतमा रहेको शक्ति यसरी नै भागिरह्यो भने तपाईका लागि के बिकल्प हुन्छ ? तपाई पनि कम्युनिस्ट पार्टी बिघटन भएको टुलुटुलु हेरेर बस्नुहुन्छ कि त्यसको रक्षाका निम्ति ठोस कदम चाल्नुहुन्छ ?
समाजवाद र राष्ट्रको समृद्धिका दृष्टिले मात्र होइन, निर्वाचनका दृष्टिले समेत नेकपा संकटपूर्ण परिस्थितिमा छ। अहिले त तपाई सत्ताको केन्द्रमा हुनुहुन्छ। तर, अढाई वर्षपछि त तपाईको रुचि नभए पनि संवैधानिक बाध्यताका कारण निर्वाचनको सामना गर्नुपर्ने हुन्छ। त्यस्तो परिस्थितिमा यही ‘गति र मति’का आधारमा नेकपा निर्वाचनमा जाँदा परिणाम के होला ? त्यसले कस्तो सन्देश देला ? उक्त नतिजापछि नयाँ पुस्तामा कम्युनिस्ट आन्दोलनप्रति कस्तो दृष्टिकोण बन्ला ?
लाखौं कार्यकर्तालाई बेरोजगार राखेर, पार्टीलाई निर्जीव बनाएर तपाई कस्तो प्रतिस्पर्धात्मक लोकतन्त्रको कुरा गर्दै हुनुहुन्छ ? कि देश यती, ओम्नी र अन्य व्यापारिक गिरोहलाई चलाउन दिएजस्तै नेकपा पनि त्यस्तै गिरोहको हातमा सुम्पिने विचार छ ? प्रधानमन्त्रीज्यू, तत्कालका लागि तपाईलाई पार्टी नचाहिए पनि निर्वाचनताका त पार्टी पक्कै चाहिएला ? यस्तो निर्जीव पार्टीले एकैचोटी निर्वाचनको सामना गर्दा आउने परिणाम कस्तो होला ? कि मार्क्सवादी विचार, लेनिनवादी संगठनात्मक प्रणाली, लोकतान्त्रिक चरित्र र सामूहिक निर्णय एवं व्यक्तिगत उत्तरदायित्व र विधि–प्रक्रियालाई लत्याएर नेकपा पनि अढाई वर्षका लागि ठेक्कामा दिँदै हुनुहुन्छ ? नेकपालाई अरु बेला ठेक्कामा लगाएर चुनावको बेला मात्र सत्ताको भर्याङ बनाउने सोंच हो कि ?
प्रधानमन्त्रीज्यू,
प्रचण्ड–नेपाल पनि कमजोरीरहित नेता होइनन्। तर, आज नेकपाले जुन संकटको सामना गरिरहेको छ, त्यसको प्रमुख कारक तपाई हो, तपाईको गैरमार्क्सवादी दृष्टिकोण हो, निरंकुशतावादी सोंच र चरित्र हो, अहंकारवादी कार्यशैली हो, अल्पज्ञानलाई सर्वज्ञानका रुपमा बुझ्ने दृष्टिभ्रम हो। तसर्थ, आरोप–प्रत्यारोप होइन, आत्मसमीक्षा गर्नुस्, त्याग गर्नुस् र मुलूकलाई निकास दिनुस्। अन्यथा, जीवनको भर्भराउँदो उमेरमा लोकतन्त्र र समाजवादका निम्ति तपाईले गरेको संघर्ष जीवनको उत्तरार्धमा गरेका कमजोरीहरुको कालो पर्दाले ढाकिनेछ, अस्तु !



मनहरि तिमिल्सिना

