-कुलप्रसाद भुसाल
प्रिय कमरेड केपी शर्मा ओली तपाईले डल्लाका डल्ला साबुन र ट्याङ्कीका ट्याङ्की पानीले पखाल्नु भो रे, धुनुभो रे तर सफा बनाउन सक्नु भएन रे? तपाईंले प्रयोगमा ल्याउनु भएको साबुन साँच्चिकै साबुन थियो त ? कि तपाईंले साबुन भनेको आफूले वाशिङटन जान चढ्ने भनेको बयलको मललाई साबुन र मुत्रलाइ पानी सम्झनु भयो र ? अनि हरेक पटकको भेट्मा तपाईंले बयलगाडी सिद्धान्तको बयलको मल मुत्र दलेर संघीयता र गणतन्त्रको आन्दोलनको नेतृत्वबाट बनाएको एउटा क्रान्तिकारी छविलाई धुमिल र दुरगन्धीत बनाउने प्रयत्नशील हुनु भो कि ? प्रिय प्रम ज्यू !
सोच्नुस् त प्रिय कमरेड ! तपाईंको नाम एशियाका भ्रष्टतम प्रम भनेर ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन भन्छ, नेपालीको डद्ध५ हिस्सा नेपालको मुख्य समस्या भष्टाचारलाई मान्छन् किन ? आखिर सत्ता तपाई साबुन पानी धारीले चलाइरहनु भाछ किन पखाल्नु भएन ? कोरोनाको कहरले रोग भोक र शोकमा परेको यो परिस्थितिमा सरकार निरोको धुन बजाउदै भन्छ,समृद्ध नेपाल सुखी नेपाली, अनि उता उखु किसान आफ्नो उखुको मोल नपाएर आन्दोलन गर्दागर्दै सडकमा ज्यान गुमाएका छन खै त प्रिय कमरेड सुखी नेपाली ? कि कमरेडको आसेअपासे, चम्चे, धुपौरे, जय हो ओलि बा भन्नेहरुको व्यक्तिगत र पारिवारिक समृद्धिलाई तपाईंले नेपाल र नेपालीको समृद्धि ठान्नु भयो कि?
प्रिय प्रम सिद्धान्तहिन बिचारहिन सरकारले आसेपासे र बिचौलियाको हितमा काम गर्छ भन्छन ! तपाईंको सरकार भ्रष्टाचारको संरक्षक बनेको छर्लङ्ग हुँदा पनि तपाईं चुइक्क नगर्ने बरु आफ्नो पार्टीको तुलनात्मक रुपमा इमानदार र सदाचार भएका सहयोध्दाहरुलाई अपमानित गर्ने काम तपाईबाट भै रहनुले तपाईं पार्टी एकता र मुलुकको अग्रगमन दुबै तपाईको चाहना होइन भन्ने पुष्टि हुँदैन र?
अनि सुन काण्ड,वाइडवडी, ओम्नि प्रकरण ,सेक्युरिटी प्रीन्टिङ प्रेसको ठण् करोड कान्ड,यति प्रकरण, गोकर्णको जग्गा हड्पने काममा तपाईंकै आसेपासेको संलग्नता देख्दा देख्दै किन चुपचाप बस्नु भो त कमरेड ? त्यहाँ तपाईंको शून्य सहनशीलताको साबुन पानी प्रयोग भएको भए कस्तो हुन्थ्यो होला? तर दुखद कुरा प्रिय कमरेड ओली भ्रष्टाचारमा मुछिएका सहयात्रीहरुको प्रतिरक्षामा तपाईं स्वय चट्टानझै उभिनु भयो !
पार्टी भित्रको समान्य खिचातानीलाई बहाना बनाइ तपाईं संघीय संसदको विघटन गरे भन्नुभएको छ र यो काममा तपाईले राष्ट्रपतिको दुरुपयोग पनि गर्नु भयो। यसबाट के सावित हुन्छ भने तपाईं सत्ता र शक्तिको उन्मादमा आफै राज्य हुँ र मेरो वचन कानून हो भन्ने भ्रममा पुग्नु भयो। एकातिर तपाई नगर्ने चुनावको घोषणा गर्नुहुन्छ अर्को तिर तपाईं धमाधम झापाको घरमा खेतीपाती गर्न खेताला भर्ना गरे झैँ मन्त्रि भर्ना गर्नुहुन्छ, अनि तपाईंको गुट्को (खैर पार्टी नै सहि) केन्द्रीय सदस्यमा भर्ना खोल्नु हुन्छ। हैन पार्टी बैठक भन्ने कुन चराको नाम हो तपाईंलाई थाहा छैन? तपाईंको यो स्वेच्छाचारी ता अहङ्कारको आवेग आसेपासेले गाएको भजन सुनेर मस्त भैरहँदा लाग्दो हो यो मुलुकको संविधानको धारा मैले जे व्याख्या गर्छु त्यही सत्य हुनेछ।
त्यो तपाईंको भ्रम मात्र हो, यस्तो दुस्साहस तपाईं भन्दा अघि ज्ञानेन्द्र शाहले पनि गरेका थिए। उनको के हालत भयो तपाईं जानकार हुनु हुन्छ! प्रमको कुर्सीमा तपाईंलाई चढाउनेले झराल्न पनि सक्छन्। तपाईंलाई बाम एकता भएको बेला त झापामा चुनाव जित्न राप्रपासँग तालमेल गर्नुपरेको बिर्सनु भयो! अनि तपाईं घमण्डले बेलुन फुलैझै भएर आफूलाई प्रम बनाउने संघीयसंसद भङ्ग भो भन्ने दम्भ काहाँबाट आयो ?
प्रिय कमरेड त्यति धेरै लोकप्रियताको घमण्ड छ भने आउनुहोस् जन-चाहना अनुसारको मिलेर संसदको अधिवेशन डाक्न राष्ट्रपतिलाई अनुरोध गर्नुहोस् संविधान संसोधन गरौं प्रत्यक्ष निर्वाचित कार्यकारीको विधान बनाउन सहमत हुनुस्, जनमत लिनुस्, सत्ता चलाउनुहोस् होइन भने प्रिय भिरबाट हामफाल्ने गाईलाई कसैले काध थाप्दैन! तपार्ईंलाई आगामी पिढीले इतिहासकै एउटा कलङ्कित पात्रको रुपमा चिन्नेछ। समय बाँकी छ अझै सच्याउने ठाउँ बाँकी छ आगे मर्जी हजुरको धन्यवाद !



लोकपाटी न्यूज

