जनअधिकारको वकालत गर्ने नेकपाका स्थायी समिति सदस्य मणिचन्द्र थापा संसद बिघटनपछिको ओली सरकारमा खानेपानीमन्त्री भएका छन्। संसद बिघटनपछि थपिएका मन्त्रीहरुको नियुक्ति असंवैधानिक भएको भन्दै सर्वोच्चमा परेको रिट सुनुवाइको प्रक्रियामा छ। यता, देशका सबै राजनीतिक दल र नागरिक समाज ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै सडक संघर्षमा छ। तर, जनअधिकारको वकालत गर्दै आएका र सांसदसमेत नरहेका नेता थापा आफ्ना प्रतिवद्धताहरु भुल्दै सरकारमा पुगेका छन्। थापा त्यस्ता नेता हुन्, जसले बारम्बार सर्वहारावर्गीय राजनीति र संस्कृतिको वकालत गर्दै आए। नेता थापासँग कुराकानीमा आधारित रहेर २०७६ असोज १७ गते रातोपाटीमा प्रकाशित भएको लेख सान्दर्भिक ठानेर यहाँ पुनःप्रकाशित गरेका छौं।
महान नेता किन गद्दार हुन्छ ?
नेकपाको सांगठनिक कार्यविभाजन हुँदा पार्टीले मलाई साहित्य, कला तथा संस्कृति विभाग प्रमुखको जिम्मा दिएको छ। नयाँ जिम्मेवारीसँगै हामीले काम शुरु गरेका छौँ। यो विभागले तत्काल पात्र र प्रवृत्तिभन्दा पनि दुई विभागलाई मिलाउने अर्थात् पूर्वएमाले र पूर्वमाओवादीमा रहेका विभागहरुको एकीकरणको काम गर्छ। पूर्वमाओवादीमा यस्ता विभागहरुको सोच थिएन र भिन्दै विभाग पनि थिएन। करिब–करिब सबै जनवर्गीय संगठन र मोर्चाहरुमार्फत् नै गीत संगीत, साहित्य र कलाको काम हुने गर्दथ्यो। अहिले नेकपामा त्यस्तो छैन। सांगठनिक रुपमा हामी नयाँ तरिकाले काम गर्दैर्छौँ।
नेकपाका ३२ विभागमध्ये कला, साहित्य र संस्कृति विभाग पनि एउटा हो। अन्र्तराष्ट्रिय जगतमा ठूलो महत्व पाउने यो विभागलाई हामीकहाँ त्यति धेरै महत्व दिइएको छैन। नेपाली राजनीतिमा गीत, संगीत, साहित्य, संस्कृति ‘सफ्ट पावर’जस्तो छ। पार्टीमा ‘हार्ड पावर’ चलनचल्तीमा छ। हामीकहाँ शक्तिमुखी, व्यक्तिवादी, सत्तामुखी र पैसामुखी राजनीति हावी छ। गीतसंगीत, साहित्य र संस्कृतिलाई सामान्य रुपमा लिइने गरिन्छ। तर, कला, साहित्य र संस्कृति भनेको देशको पहिचान हो। यो कसैले बनाएको नभई ऐतिहासिक पहिचान हो। त्यसैले भूँइतहको जनतासम्म यसको सम्बन्ध रहन्छ।
हामीले नेपाललाई बहुजाति, बहुभाषिक, बहुसाँस्कृतिक मुलुक भनेका छाैं। यसको मुख्य विशेषता भनेको गीत, संगीत, साहित्य, कला र संस्कृतिमा विविधता हो। यसले जातीय, क्षेत्रीय, साँस्कृतिक विशेषता झल्काउँछ। यस्तो विविधताले देशको समग्र पहिचान देखाउँछ। त्यसैले हामीसँग अब नयाँ गहन जिम्मेवारी छ। विभागले नेपालको राष्ट्रिय संस्कृति के हो ? यसको विविधता के हो ? यसलाई कसरी प्रवद्र्धन गर्ने र जनतासँग जोडिरहने भन्ने खोज अनुसन्धान गर्न आवश्यक छ। यो गहन जिम्मेवारी हामीले पूरा गर्नुपर्नेछ।
नेपालमा २००७ सालदेखि जनयुद्ध र जनआन्दोलनसम्म हुँदा राजनीति रुपमा टूलाठूला क्रान्ति भए। यसलाई हामीले राजनीतिक परिवर्तन भन्याैं। धेरै नेताहरु जेलमा बसे। हामी ती नेताहरुलाई पालैपालो ‘महान’ नै भन्याैं। तर, नेताहरुमा रुपान्तरण देखिएको छैन। मूलतः राजनीतिक क्रान्तिसँगै परिवर्तनका अरु आयाममा हामीले ध्यान दिन सकेनौँ। स्वयं व्यक्तिमा परिवर्तन आएन अथवा राजनीतिक पार्टीका नेताहरुमा परिवर्तन आएन भने समाजमा पनि परिवर्तन हुँदैन। जनताको विश्वास जित्न सकिँदैन। नेता आफैं र जनताले महशुस गरेको कुरा हो यो।
अहिलेको आवश्यकता भनेको समग्र पार्टीलाई परिर्वतन गर्ने हो। जनतालाई रुपान्तरण गर्ने हो। यहाँ रुपान्तरण भनेको जनताको अनुकूल व्यवस्था हुने भनेको हो। कोही पनि जनताभन्दा माथि हुनुहुन्न भनेको हो। राजनीति नेपालको संस्कार, संस्कृति, पद्धति, सभ्यताको अनुकूल हुनुपर्छ भनेको हो। राम्रो संस्कृति निर्माण भए यसले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दालाई पनि सहयोग गर्छ।
अब राजनीतिक प्रक्रिया पनि संस्कृतिअनुरुप हुनुपर्दछ। त्यहाँ परिवर्तनको आवश्यकता छ, हुनुपर्छ। किनकि हामी कम्युनिष्ट आन्दोलनको कुरा गर्छौँ। पार्टीभित्र विजातीय तत्वहरु विकसित भए अथवा कम्युनिष्ट पार्टीभित्र गैरसर्वहारा वर्गको चिन्तन भयो भने त्यसलाई बारम्बार सफाइ गर्नुपर्छ। र सांस्कृतिक क्रान्ति गरिराख्नुपर्छ। रुपान्तरण एवं शुद्धीकरणको आन्दोलन चलाउनुपर्छ। यसलाई नै सांस्कृतिक रुपान्तरण भनिएको हो। अहिलेसम्म यस्तो महत्त्वपूर्ण पक्ष नेपालका सबै राजनीतिक दलको प्राथमिकतामा परेको विषय होइन। जुन दुखद कुरा हो।
व्यक्तिवादी राजनीति जहाँ–जहाँ बढी हुन्छ, त्यहाँ गीत, संगीत, साहित्य, कला अथवा रुपान्तरणको विषयले प्रधानता पाउँदैन। यो विडम्बना हामीले देखिरहेका र भोगिरहेका छौं। अहिले जनताले नेताहरुले कति सेवा दिन सके र विकास कति भयो भन्ने कुरा मात्रै हेरेका होइनन्। नेपालको एकल प्रयासले मात्रै समग्र विकास सम्भव छैन। त्यसमा अन्तर्राष्ट्रिय सहयोग र त्यसको विकास मोडेलले पनि प्रभाव पार्छ।
जनताले हामी नेताका चरित्र, सोच र शैली हेरिराखेका छन्। राजनीतिक पार्टीका नेता–कार्यकर्ताको चरित्र जनताको चरित्रभन्दा फरक भएको छ। हुनुपर्ने चाहिँ नेताको चरित्र श्रमजिवी वर्गको चरित्रजस्तो हुनुपथ्र्यो। हामीलाई भोट दिने जनताको चरित्रसँग र मेल खाने खालको र हामीले हाम्रा नीति, कार्यक्रम, प्रतिबद्धताहरुमा गरेका वाचाहरु अनुकूल हुने गरी नेताको चरित्र मेल खानुपथ्र्यो। तर, हाम्रा नेतामा जनमैत्री र जनताका सेवक हुँ भन्नेखालका चरित्र हुनेपर्नेमा त्यसको ठीक विपरीत शासकीय चरित्र देखापर्यो। जनता तलका र आफूमाथिको भन्ने सामन्ती सोच नै हावी भएको देखियो। जनताले अहिले जब्बर रुपमा प्रश्न उठाइराखेको विषयहरुमध्येका पनि मुख्य यहीँ हो। नेताहरुको चरित्रमा परिवर्तन आएन भन्ने आमजनताको बुझाइ र त्यसबारे तीब्र आलोचना छ। नेताहरु देश र जनताका सेवामा प्रतिवद्ध नेतृत्वका प्रतिविम्बन होइन, उनीहरु शोषणकारी शासनव्यवस्थाका शासकहरुलाई नै माथ खुवाउने गरी नवधनाढ्यमा परिणत भए भनेर जनस्तरमा प्रश्न उठिराखेको छ।
जो जनताले हामीलाई भोट दिए, ती जनताको भोट र हामीले बोकेको राजनीतिक चरित्रबिच तालमेलको अभाव देखियो। यही नै हो सबैभन्दा पेचिलो प्रश्न उठेको। यो प्रश्न चरित्र र संस्कृतिसँग बढी जोडिएको छ। तर, जनतालाई चित्तबुझ्ने जवाफ कसैले दिन सकेको छैन।
मलाई लाग्छ, राजनीतिक पार्टीहरुमा सांस्कृतिक रुपान्तरणको प्रक्रिया धेरै ढिला भयो। इतिहास हेर्यौं भने हरेक आन्दोलनबाट ठूलठूला नेता जन्मिए। राजनीतिक परिवर्तन भए। तर, ती परिवर्तन संस्थागत हुन सकेनन्। कस्तो विडम्वना छ भने आन्दोलनबाट हामीले भन्ने र बुझ्ने गरेको एउटा ‘महान नेता’ जन्माउँछ, त्यसको पाँच–सात वर्षपछि त्यहीँ ‘महान नेता’ गद्धार ठहरिन्छ। नेतामाथिको जनताको विश्वास अविश्वासमा बदलिन्छ। ऊ जनताको रुचाएको नेतामा पर्दैन। यसको पछाडि कारण हो–नेताहरुमा संस्कृतिको परिर्वतन भएन।
सैद्धान्तिक रुपमा हेर्दा हाम्रो विभागले सांस्कृतिक रुपान्तरण र सांस्कृतिक आन्दोलनबारे पार्टीमा वैचारिक बहस र नीति निर्माण गर्ने हो। त्यहीँ नीति पार्टी र सरकारलाई लागू गर भनेर सुझाव दिने हो। र, जनतालाई पनि फरक ढंगले प्रशिक्षित गर्ने, सांस्कृतिक, वैचारिक रुपान्तरणको अभियान चलाउने र त्यो खालको अध्ययन, अनुसन्धान गर्ने हो।
सांस्कृतिक माहोललाई नयाँ ढंगले अगाडि बढाउनुपर्छ भन्ने हामीले सोचेका छाैं। तर फेरि विभागका आफ्ना सीमाहरु छन्, त्यो सीमामै रहेर हामीले काम गर्नुपर्ने हुन्छ। अपेक्षाकृत रुपमा हुन नसकेको सांस्कृतिक रुपान्तरणका क्षेत्रमा हामीले काम त गर्नैपर्ने हुन्छ। सांस्कृतिक रुपान्तरण र सांस्कृतिक आन्दोलनका लागि पार्टीमा तलदेखिमाथिसम्म त्यस्तै खालका संरचना पनि चाहिन्छन्। सांस्कृतिक रुपान्तरण एकपटक पूरा गरेर हुने पनि होइन, निरन्तर चल्ने प्रक्रिया हो।
विभाग सञ्चालनका केही कठिनाई पनि छन्। पार्टी नै राम्रोसँग सञ्चालन नभइरहेको बेला विभागहरु सञ्चालन गर्न कठिन त हुन्छ नै। विभाग सञ्चालन गर्न पार्टीको सहयोग कस्तो र कति हुन्छ भन्ने कुरा पनि महत्त्वपूर्ण हुन्छ। यस कार्यका लागि आर्थिक, भौतिकलगायत सबैखाले सहयोग चाहिन्छ। यो एउटा पक्ष भयो। तर, विभागको महत्व नै स्थापित गर्ने हाम्रो पहिलो चुनौती छ। त्यो चुनौती सामना गर्दै कला, साहित्य र संस्कृति विभागलाई अगाडि बढाउछाैं। पार्टीले अनुकूल वातावरण बनाइदिएर काम गर्न दिए पक्कै पनि यो विभागले सांस्कृतिक रुपान्तरमा ठूलो भूमिका खेल्न सक्छ भन्ने हामीलाई विश्वास छ।



लोकपाटी न्यूज

