पर्वत। नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड माधव नेपाल समूहको पर्व जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला आइतबार कुस्मा बजारमा सम्पन्न भएको छ। भेलाले प्रतिनिधिसभा विघटनको ‘असंवैधानिक घोषणा’ खारेज र जनताको मताधिकार सम्मानका लागि संसद पुनःस्थापना गर्नुपर्ने माग गरेको छ।
भेलालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य गुप्तबहादुर हमाल ठकुरीले प्रधानमन्त्री केपी शर्मा ओलीले स्वेच्छाचारी ढंगले चालेको कदमको जति नै भर्सना गरे पनि कम हुने बताए। उनले केपी शर्मा ओली निरंकुताको मतियार रहेको बताए।
कार्यक्रममा नेकपा अनुशासन आयोगका पूर्व केन्द्रीय सदस्य गणेश शर्मा पौडेलले ओलीले म नै राज्य हो भन्ने सोचेर चालेको कदम जनतामाथिको विश्वासघात भएको बताए। पौडेलले जनताको मतलाई प्रधानमन्त्री ओलीले अपमान गरेको बताउँदै निरंकुशताका बिरुद्ध सशक्त रुपमा प्रतिवाद गर्न र संविधान बचाउन आव्हान गरे।
भेलामा बोल्दै प्रदेश कमिटिका सदस्य मोति पौडेलले केपी ओलीले चालेको कदम पूर्ण रुपमा असंवैधानिक, प्रतिगामी र निरंकुश उन्मुख भएकाले प्रतिनिधी सभा पूर्नस्थापित गर्नुपर्नेमा जोड दिए। भेलामा नेकपाका नेता कृष्ण प्रसाद पराजुली, प्रदेश कमिटि सदस्य केशव कुँवर, मनरुपा सुवेदी, जेष्ठ कम्युनिष्ट मञ्चका पूर्वसदस्य तोयनाथ चालिसे, नेकपाका नेता उदय सुवेदी लगायतले सम्बोधन गरेका थिए।
नेकपा पर्वतका सचिव सुदिप कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन कार्यालय सदस्य भक्त कुँवर र स्वागत कार्यालय सदस्य पदमपाणि शर्माले गरेका थिए।
भेलाले ५ बुँदे प्रस्ताव पारित गर्दै आगामी पुस १४ गते जिल्लामा बिरोध कार्यक्रम सम्पन्न गर्ने भएको सचिवालय सदस्य खुम सुवेदीले जानकारी दिए। नेकपा विवाद चलिरहेको बेला पर्वतमा भएको यो भेलालाई निकै चासोपूर्वक हेरिएको थियो। पर्वत जिल्लामा माधव नेपाल प्रचण्ड पक्ष बलियो भएको दाबी गरिएको छ। भेलामा १३५ मध्ये ८१ जना जिल्ला कमिटी सदस्यहरुको उपस्थिति रहेको दाबी गरिएको छ।



लोकपाटी न्यूज

