कमरेड बादलको महान् गद्दारी !

Ram Bahadur Thapa Badal-2
लोकपाटी न्यूज

द्वितीय अन्तर्राष्ट्रियको समयमा एंगेल्सको मृत्युपछि जर्मनीको कम्युनिस्ट पार्टी विश्वकै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी थियो। त्यति बेला यो पार्टीलाई सामाजिक जनवादी मजदुर पार्टी भनिन्थ्यो। त्यो पार्टी विश्वका सच्चा क्रान्तिकारीहरुको ठूलो आशाको केन्द्र पनि थियो। द्वितीय कम्युनिस्ट अन्तर्राष्ट्रियले सम्भावित अन्तर साम्राज्यवादी विश्वयुद्धमा सबै देशका कम्युनिस्ट पार्टीहरुले अन्तर साम्राज्यवादी युद्धमा भाग नलिने, आ–आफ्ना देशका प्रतिक्रियावादी शासकहरुलाई असहयोग गर्ने, मजदुर आन्दोलनलाई अगाडि बढाउने, अन्तर्राष्ट्रिय रुपमा सर्वहारा पार्टीहरुको भाइचारा बलियो बनाउने आदि निर्णय गरेको थियो। त्यो निर्णय पालना हुन्छ कि हुँदैन भन्ने विषयमा लेनिनले शंका प्रकट गरेका थिए। हुन पनि त्यही भयो। ४ अगस्त १९१४ मा जर्मन सामाजिक जनवादीहरुले जर्मनको संसदमा मातृभूमिको रक्षा गर्ने भन्ने तर्कका साथ प्रतिक्रियावादी सरकारले ल्याएको युद्ध बजेटको समर्थन गरे र सर्वहारा अन्तर्राष्ट्रवादको विपक्षमा तरवार उठाए।

जर्मनको कम्युनिष्ट आन्दोलनमा यो गद्दारी कार्ल काउत्स्कीको नेतृत्वमा भएको थियो। काउत्स्की जर्मनको कम्युनिष्ट पार्टीका मात्र नेता थिएनन्, द्वितीय कम्युनिष्ट अन्तर्राष्ट्रियकै प्रधान नेता थिए। युद्ध बजेटको समर्थन प्रतिक्रियावादी संसदीय सरकारमा सहभागी हुनका निम्ति मार्गप्रशस्त गर्ने एउटा कार्ड मात्र थियो। मातृभूमिको रक्षा वा राष्ट्रियताको कुरा त देखाउने दाँत मात्र थिए। यसरी विश्वको सबैभन्दा ठूलो जर्मनीको संसदमा सशक्त प्रतिपक्षमा रहेको र विश्व कम्युनिष्ट आन्दोलनका एंगेल्सपछिका ठूला नेताले हाँकेको पार्टीको यसरी अकालमा मृत्यु भएको थियो।

कार्ल काउत्स्कीले नेतृत्व गरेको सो पार्टीले महान गद्दारी गरेपछि जर्मनी मात्र होइन, विश्वकै कम्युनिष्ट आन्दोलन नै तितरवितर र छिन्नभिन्न अवस्थामा पुग्यो। विश्व समाजवादी आन्दोलनले डरलाग्दो गरी धक्का खायो। कम्युनिष्ट आन्दोलनको कार्यदिशा नै बदलियो। लेनिन नेतृत्वको रुसको कम्युनिष्ट पार्टीले मात्र दोस्रो अन्तर्राष्ट्रियको निर्णय बमोजिम पार्टीलाई अगाडि बढायो। सर्वहारा अन्तर्राष्ट्रयवादको पक्षमा जोडदार आवाज बुलन्द गरायो। लेनिनको सो आवाजमा जर्मन कम्युनिष्ट पार्टीका दुईजना कार्ल लिष्टनेट र रोजा लग्जेम्वर्गले मात्र साथ दिए। सन् १९१९ मा जर्मनको प्रतिक्रियावादी सरकारले ती दुबै सर्वहारा आन्दोलनका महान आदर्शहरुको निर्ममतापूर्वक हत्या ग¥यो। यो परिघटना विश्व कम्युनिस्ट आन्दोलनमा महान् गद्दारीका नामले प्रख्यात छ।

०००००

नेपालमा २०५२ फागुन १ गतेदेखि २०६३ मंसीर ५ गतेसम्म ११ वर्ष लामो महान् जनयुद्ध सञ्चालन भयो। यसलाई नेपााली कम्युनिस्ट आन्दोलनमा महान् क्रान्तिका नामले चिनिन्छ। तर, शान्ति प्रक्रियामा प्रवेशसँगै नेकपाभित्र वैचारिक बहस प्रारम्भ भयो। त्यतिबेला मोहन वैद्य र रामबहादुर थापा ‘बादल’ले प्रचण्डमाथि क्रान्तिलाई धोका दिएको गम्भीर आरोप लगाएका थिए। तर, परिणामले झण्डै ८ वर्षपछि बरु रामबहादुर थापा ‘बादल’ संसद बिघटन र प्रतिगमनको कित्तामा उभिएका छन्।

२०७० को आम निर्वाचनमा प्रचण्ड नेतृत्वको माओवादीलाई हराउन बादलले सक्रिय भूमिका खेलेका थिए। उनको विश्लेषण थियो, ‘प्रचण्ड लालगद्धार हुन्। यिनले क्रान्तिलाई धोका दिए।’ तर, २०७३ मा माओवादीमा फर्किएदेखि यता बादल सम्पूर्ण रुपले सत्ताको लालसामा देखिएका छन्। उनको प्रतिगामी सोंचको पारो यतिसम्म माथि चढ्यो कि उनले आफ्नै सहयोद्धा नेत्रविक्रम चन्दलाई आतंककारी करार गर्दै विद्रोही नेकपालाई प्रतिबन्धित गरिदिए। उनको कदमको चौतर्फी आलोचना भयो। तर, बादलले आफूलाई समीक्षा गर्न जरुरी ठानेनन्।

२०७३ को एकतापछि बादलसँग रहेका वरिष्ठ नेताहरु देव गुरुङ, पम्फा भुसाल, हितमान शाक्यहरु क्रान्तिकारी धार बचाउन लागिरहे। २०७५ मा नेकपा बनेपछि नयाँ केन्द्रीय समितिमा बादलनिकट ५४ नेताहरु थिए। तर, २०७७ पुस ९ गतेसम्म पुग्दा ५३ जना नेताहरुले बादलको साथ छोडिसकेका छन्। तिनै एक्ला बादलले अलिकति लोकलाज पनि पचाएर संसद बिघटन प्रधानमन्त्रीको महान् कदम भएको निष्कर्ष निकालेका छन्। यसलाई वामपन्थी विश्लेषकहरुले नेपाली कम्युनिस्ट आन्दोलनमा अर्को महान् गद्दारीको संज्ञा दिन थालेका छन्।

०००००

तत्कालीन माओवादीको २०६२ असोजमा सम्पन्न चुनवाङ बैठकमा बादलले आफूले इतिहासमा गम्भीर गल्ती गरेको भन्दै आफू प्रचण्डमा बिलिन भएको घोषणा गरेका थिए। उनले आफ्नो एकमात्र ध्येय क्रान्ति भएको र क्रान्तिका पक्षमा जस्तासुकै भूमिका खेल्नसक्ने प्रण पनि गरेका थिए। बैठकमा बादलले आफू षड्यन्त्रकारी नभएको दलिल पेश गर्दै आफूलाई सफाइका लागि आग्रह गरेका थिए।

चुनवाङ बैठकमा बादलले भनेका थिए – कमरेडहरू, सायद म अलि भावनाको उत्कर्षमा आएँ। तर, मलाई लाग्छ, मैले सही गरिराखेको छु। कमरेडहरू, मेरो यति मात्रै कमजोरी छैन। म अझ बढी कमजोरी स्वीकार गर्न चाहन्छु। हामीले यो पार्टी निर्माण र क्रान्तिको सुरुआत गर्ने क्रममा एक–अर्काबीच वाचा गरेका थियौँ कि दुनियाँका सबै जल्लादले जतिसुकै आँधीबेहरी सृष्टि गरे पनि हाम्रो यो आत्मीयता र सम्बन्ध कहिल्यै टुट्ने छैन। हामी सिद्धिने छौँ तर हामी झुक्ने छैनाैं, टुट्ने छैनौँ। हामीले गरेका वाचा पटक–पटक स्मरण पनि गरेका हौँ। तर, कमरेडहरू हुरी आयो, तुफान आयो र ती हुरीबतासले हामीमा दरार पैदा गर्‍यो। त्यो दरारबाट धेरै धमिरा पसे र आज हाम्रो पार्टी, सम्बन्धमा धमिरा लागेको जस्तो भयो। त्यो पूरा भत्किएको, ध्वस्त भएको त छैन तर धमिरा पस्यो त्यो दरारबाट। मलाई लाग्छ, त्यसमा मेरो मुख्य कमजोरी रह्यो। मैले कमरेड प्रचण्डलाई भन्ने गर्थें, म उचाइ होइन कमरेड, म शिखर होइन। म शिखर हुन चाहन्न र मेरो त्यो विशेषता पनि होइन। म त आधार हुँ कमरेड। म त एउटा जग हुँ। सायद त्यो उचाइलाई कायम राख्न जग मजबुत हुनुपथ्र्यो। जग मजबुत भएन भने उचाइको अर्थ रहँदैन। त्यो गल्र्यामगुर्लुम ट्वीन टावरजसरी ढल्छ। त्यो उचाइ धेरै भयो भने जग भासिन्छ। विडम्बना, हाम्रो सम्बन्धमा एउटा चिज धमिरा बनेर घुस्यो। त्यहाँ लिनप्याओ घुस्यो। हाम्रो सम्बन्ध अब होक्जा र लिनप्याओको भयो वा बनाइदिए। साँच्ची यो हो त ? होक्जा र लिनप्याओ को हो त ? इतिहासका तथ्यहरूले साबित गर्छन्। हामी होक्जा हाैं ? लिनप्याओ हो त म ? मैले कमरेड अध्यक्षको सत्ता उल्ट्याउन खोजेकै हो त ? मैले इतिहासमा यसको जवाफ दिनुपर्छ।

तर, आज तिनै बादल प्रतिगमनको पक्षमा उभिएर समाजवादी क्रान्तिप्रति पिठ्यु फर्काएका छन्। नेकपाभित्र समाजवादी क्रान्तिको तयारीमा लाग्ने कि दलाल नोकरशाही पुँजीवादकै पक्षमा उभिने भन्ने बहस पेचिलो भन्दै जाँदा अन्ततः उनी दलाल पुँजीवादको पक्षमा उभिएपछि उनको बचेखुचेको शाख पनि सकिएको उनीनिकट नेताको तर्क छ। ‘संसद बिघटनलाई उहाँ प्रतिगमन हो भन्नसम्म सक्नुहुन्छ’ नेकपाका एक नेताको विश्लेषण छ, ‘बादल वैचारिक रुपले पूर्णतः स्खलित भइसकेका छन्। उनीबाट क्रान्तिको अपेक्षा गर्न सकिन्नँ।’ के बादलले महान् गद्दारी गरेकै हुन् त ? यो त इतिहासले मूल्यांकन गर्नेछ।

(९ असोज २०७७, काठमाडौं।)

यो पनि पढ्न नछुटाउनुहोला

प्रतिक्रान्तिलाई रोक्न निर्वाचनमा जाने निर्णय लिएका हौंः गृहमन्त्री थापा

कमरेडहरु ! मैले आधार गुमाएँ, के म लिनप्याओ नै हुँ त ?

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्