काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी भएका छन्। शनिबार भएको निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै उनी वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन्।
आइतबार बिहान आएको मतगणनाको अन्तिम नतिजाअनुसार विजयी भएका ढकालले एसोसिएटमा ५२२, वस्तुगतमा ५९ तथा जिल्ला नगरमा ५२ मत पाएका छन्। उनका प्रतिस्पर्धी प्रधानले भने एसोसिएटमा ३७५, वस्तुगतमा ३९ र जिल्ला– नगरमा ५३ मत पाए। महासंघ चुनावमा वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्षसहित कुल ६३ पदका लागि १२७ उम्मेदवार चुनावी मैदानमा थिए।
शनिबार सार्वजनिक मतपरिणाम अनुसार एसोसिएट्स तर्फ ढकाल पक्षका रामचन्द्र संघइ निर्वाचित भएका छन्। वस्तुगततर्फको उपाध्यक्षमा प्रधान पक्षका अञ्जन श्रेष्ठ र जिल्ला–नगरतर्फ दिनेश श्रेष्ठ विजयी भएका छन्।
महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने भएकाले सो पदमा भने मतदान भएन। जसअनुसार शेखर गोल्छा स्वतः अध्यक्ष चयन भएका छन्।
वरिष्ठ उपाध्यक्षका लागि ढकाल र प्रधान प्यानल नै बनाएर निर्वाचनमा उत्रिएका थिए। महासङ्घको मतदानका लागि जिल्ला र नगरका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा, एशोसिएटका लागि कार्की ब्याङ्केट र वस्तुगतका लागि महास्घको केन्द्रीय कार्यालयमा मतदान गरिएको थियो।



लोकपाटी न्यूज

