विचार र संगठनको तागतको औचित्यबारे प्रष्ट्याउँदै एंगेल्स लेख्छन्, ‘‘हाम्रा निम्ति सोचिदिने दार्शनिकहरु र लडिदिने सर्वहाराहरु भएपछि संसारमा त्यस्तो कुनै शक्ति होला, जसले हाम्रो प्रगतिको यात्रा रोक्न सकोस् ?’’ एंगेल्सको उक्त भनाइले सर्वहारा/श्रमजीवी वर्गको मुक्ति र कम्युनिस्ट समाजको निर्माणका लागि विचार र संगठनको अविभाज्य सम्बन्धमा जोड दिन्छ।
मार्क्सवाद प्रकृति, जीवन, समाज र चिन्तनको शरीर विज्ञान हो, जसले मानव जातिको मुक्तिका आकांक्षाहरुको प्रतिनिधित्व गर्दछ। यस अर्थमा यो वैज्ञानिक, क्रान्तिकारी र मान्छेको दर्शन हो कि यसले कुनै हवाइकल्पनामा होइन, ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोणको जगमा उभिएर प्रकृति, जीवन, समाज र चिन्तनका क्षेत्रमा विवेचना गर्दछ। यस अर्थमा नै यसलाई वैज्ञानिक दर्शन भनिएको हो।
मार्क्स–एंगेल्स पूर्वका धेरै विद्वानहरुले दर्शनका बारेमा आ–आफ्नै मत राखेका छन्। तर, मार्क्सवाद नै यस्तो दार्शनिक सिद्धान्त, प्रणाली र पक्षधरता हो, जसले पहिलोपल्ट मान्छेलाई केन्द्रमा राखेर आफ्नो दृष्टिकोण प्रस्तुत गर्यो। यो कुनै कल्पना, भावना वा उत्तेजनामा होइन, भौतिक विज्ञान र समाज विकासका नियमहरुमा आधारित छ। यसले नियमसंगत ढंगले धक्कापूर्ण क्रान्तिमा विश्वास गर्दछ। नियमसंगत ढंगले प्रकृति, जीवन, समाज र चिन्तनका क्षेत्रमा वैज्ञानिक मत जाहेर गरेकै कारण आज पनि मार्क्सवाद विश्वको सर्वशक्तिमान दर्शनका रुपमा विद्यमान छ।
जसरी पुँजीवादी दर्शनले सामाजिक उत्पादनको प्रक्रियामा आफूलाई नयाँ–नयाँ आयाममा विकसित गर्दै आएको छ। सर्वहारा वर्गको दर्शनले पनि अनिवार्यतः उत्पादन पद्धतिको विकासको समरुपतामा आफूलाई विकसित गर्नु अपरिहार्य हुन्छ। मालेमावादको संश्लेषण त्यही ऐतिहासिक अनिवार्यताको उपज हो। आज नेपालको कम्युनिस्ट आन्दोलन जुन उचाइमा छ, यसको एक मात्र कारण नेपाली भूमिमा मालेमावादको रक्षा, प्रयोग र विकासको सफलता हो।
तर, जनमतका दृष्टिले यति व्यापक रुप लिएको नेपालको कम्युनिस्ट आन्दोलन पछिल्लोसमय विचारधारात्मक रुपमा दिशाविहीन बन्ने खतराको सम्मुख छ। दलाल नोकरशाही पुँजीवादले पैदा गरेका चुनौतीहरु छिचोल्न क्रान्तिकारी संकल्प गर्नुपर्नेमा संघर्षको केन्द्रमा रहेको कम्युनिस्ट पार्टी र यसको नेतृत्व नै दलाल पुँजीवादसँग सहवरण गर्न लालयित त छैन ? भन्ने प्रकारका प्रश्नहरुले सर्वहारा÷श्रमजीवी वर्ग तरंगित छ। संविधानले समाजवादको तयारीमा लाग्न स्पष्ट दिशावोध गरे पनि कम्युनिस्ट पार्टीभित्र विद्यमान एउटा शक्ति त्यतातिर सोच्न, तयारी गर्न र हिँड्न लालयित देखिएको छैन।
जनमतका दृष्टिले नेपाली कम्युनिस्ट आन्दोलन जहाँ छ, वैचारिक आदर्श, मूल्य–मान्यता र संकल्पका दृष्टिले त्यो ठाउँमा भेटिँदैन। जनताको अपेक्षा र नेतृत्वको चिन्तनमा आएको अन्तरविरोधले चुचुरोमा रहेको कम्युनिस्ट आन्दोलनबारे अनेकौं विश्लेषण गर्न थालिएको छ। यद्यपि, नेतृत्वको एउटा पंक्ति वेगसँग दलाल पुँजीवादको अन्धकारतिर कुदिरहेको आन्दोलनलाई क्रान्तिकारी दिशातिर फर्काउन प्रयासरत पनि छ। यस्तो परिस्थितिमा नयाँ पुस्तामा मार्क्सवादप्रति पुनर्जागरण पैदा गर्ने हेतुले हामी विगत चार महिनादेखि मार्क्सवादको अध्ययन–अध्यापनलाई अभियानकै रुपमा सञ्चालन गरिरहेका छौं।
मार्क्सवाद कुनै कोरा शास्त्रीय विषय होइन, जसको अध्ययनबाट कान पवित्र पार्न सकियोस्, मन आनन्दित होस्, मानिसले आत्मसन्तुष्टि लिन सकोस्। बरु, मार्क्सवाद त यस्तो जीवन दर्शन हो, जसले मानव जातिको मुक्तिका निम्ति विचारको व्यवहारमा प्रतिविम्बनको अपेक्षा र संकल्प दुवै गर्दछ। यस अर्थमा मार्क्सवादको अध्ययन गर्नुको अर्थ प्रकृति, समाज, जीवन र चिन्तनका क्षेत्रमा संश्लेषण गरिएका ज्ञानहरुसँग साक्षात्कार हुनु, नयाँ–नयाँ तथ्यको खोजीका लागि ढोका खोल्नु, विचारको आलोकमा आचारमा रुपान्तरणको वैचारिक र भौतिक आधार तयार पार्नु एवं मानव जातिको मुक्तिका निम्ति आफूलाई दृढसंकल्पित गर्नु हो। यस अर्थमा यो वर्गीय विचार आचारको दर्शन हो।
यसै मान्यतालाई आत्मसाथ गर्दै विगत चार महिनादेखि हामी मार्क्सवादको पद्धतिसंगत अध्ययन, विश्लेषण र आचार एवं व्यवहारमा रुपान्तरण गर्ने संकल्पमा छौं। यस अवधिमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लगायत नेपालका विभिन्न कम्युनिस्ट धाराका नेता–कार्यकर्ता हाम्रो अभियानमा जोडिनुभएको छ। मार्क्सवादी विचार र आचारमा देखिएको खडेरीका सन्दर्भमा हामीले सुरु गरेको अभियान औचित्यपूर्ण छ र रहनेछ।
यस अवधिमा नेकपाका अध्यक्ष प्रचण्ड, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी समितिका सदस्यहरु जनार्दन शर्मा, देवेन्द्र पौडेल, बेदुराम भुसाल, नेपाल सरकारका मन्त्री पद्मा अर्याल लगायत पार्टी केन्द्रीय समिति र अन्य विभिन्न जिम्मेवारीमा रहनुभएका नेता कमरेडहरुले हामीलाई दिशानिर्देश गर्नुभएको छ। साथै मार्क्सवादलाई जीवन व्यवहारको अंगका रुपमा अवलम्बन गर्नुभएका प्रशिक्षक एवं विज्ञहरुको सद्भाव र सहयोगले हामी उत्साहित छौं। उहाँहरुको कक्षाबाट नयाँ पुस्तामा राम्रो विचार सम्प्रेषण र उर्जा प्राप्त भएको अनुभूति भएको छ।
चार महिनाको अवधिमा हामीले करिब १२ सय नेता कार्यकर्तालाई मार्क्सवादी कक्षामा प्रशिक्षित गरेका छौं। हजारौं साथीहरु उत्साहका साथ हाम्रो अभियानमा हातेमालो गर्न लालयित हुनुहुन्छ। उहाँहरु सबैलाई हामीले विभिन्न चरणका कक्षामा सहभागी गराउने योजनामा छौं। साथै सहभागीहरुमध्येबाट इच्छुक विद्यार्थीलाई प्रशिक्षकका रुपमा विकास गर्न पनि हामी क्रियाशील र प्रतिवद्ध छौं। यसले हाम्रो अभियानलाई थप तीव्रता दिनेछ।
यस क्रममा देशको विभिन्न कुनामा रहनुभएका साथीहरुले स्वतस्फूर्त रुपमा महत्वपूर्ण जिम्मेवारी लिएर अभियानको सफलताका निम्ति अहोरात्र खटिरहनुभएको छ। उहाँहरुको उत्साह, इच्छाशक्ति, अध्ययनप्रतिको रुचि, जीवन र समाज बदल्ने संकल्प एवं इमान्दारिताले आगामी यात्राका लागि थप बल मिलेको छ। उहाँहरुको इच्छाशक्ति र उर्जा नेपालको कम्युनिस्ट आन्दोलनमा विचारधारात्मक इट्टा थप्न फलदायी हुने हाम्रो विश्वास छ।
चार महिनाको प्रयोग र अनुभवका आधारमा हामीले मार्क्सवादी ज्ञान केन्द्रको निर्माणमार्फत् आगामी गतिविधि संगठित गर्ने सोंच बनाएका छौं। हामी यही उर्जा र संकल्पका साथ कम्युनिस्ट आन्दोलनका अभियात्री र शुभेच्छुकहरुमा मार्क्सवादी ज्ञानको भोक जगाउने, विचार र व्यवहारको सन्तुलनका निम्ति अभिप्रेरित गर्ने, पद्धतिसंगत अध्ययनको बानी बसाल्ने, कम्युनिस्टहरुमा पठन संस्कृतिलाई पुर्नजागृत गर्ने अभियानमा छौं। यस अभियानमा विगतझैं भविष्यमा पनि यहाँहरुको सद्भाव र सहकार्यको अपेक्षा गर्दछौं, धन्यवाद।
(१९ भदौ २०७७, काठमाडौं।)



मनहरि तिमिल्सिना

