काठमाडौं। नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले फिल्ममा काम गर्दा मेकरले दुर्व्यवहार गरेको बताएकी छन्।करिअरका शुरुवाती दिनमा आफू दुर्व्यवहारमा परेको खुलासा गरेकी हुन्। उनले बारम्बार आफूमाथि दुर्व्यवहारमा परेको बताए पनि यतिबेला भने उनको मुद्दा चर्चामा छ।
तर, साम्राज्ञीको भनाइपछि अभिनेता तथा निर्माता भुवन केसीले असहमति जनाउँदै ‘जुन थालमा खायो, त्यही थालमा दुलो पारेको’ बताएका थिए। भुवनको अभिव्यक्तिले साम्राज्ञी आफ्नो डेब्यु फिल्म ‘ड्रिम्स’ बाट हिट भएको तर यही फिल्मका मेकरलाई गाली गरेको बुझाउँथ्यो। भुवनले साम्राज्ञीलाई अभिनयसम्म गर्न नजान्ने भन्दै आरोप लगाएपछि यी दुईको सामाजिक सञ्जालमै सानोतिनो दोहोरी चल्यो।
साम्राज्ञीले पुनः अर्को जवाफी भिडियोमार्फत् निर्माता भुवन केसीले जापान अवार्डका क्रममा गाला टाँसेर बोल्न खोजेको, घिनलाग्दो व्यवहार प्रस्तुत गरेको आरोप लगाइन्। साम्राज्ञीले नामै तोकेर सीधै भुवनलाई आरोप नलगाए पनि भुवनप्रति लक्षित गर्दै भिडियो सार्वजनिक गरेकी छिन्। आरोपको भुवनले कुनै खण्डन गरेका छैनन्। साम्राज्ञीले उठाएको ‘गम्भीर बहस’मा अरु नायिकाहरु भने मौन रहेका छन्।



लोकपाटी न्यूज

