- प्रिया देवकोटा
विश्व नै कोरोना भाइरससँग लडिरहेको बेला नेपालमा पनि चैत १० गतेदेखि लकडाउन सुरु भयो। लकडाउन सुरु भएपछि सम्पूर्ण रुपमा नेपाल बन्द नै भयो। सबै मानिसहरु चाहेर होस् या नचाहेर घरभित्रै बस्न बाध्य भए। यसरी घरभित्र बसिरहनु सजिलो छैन। मानसिक तनावले मानिसलाई सताइरहन्छ। नयाँ केही गर्ने सोंचमा थिए। अलिअलि राजनितिमा चासो राख्ने भएर होला कता कता मार्क्सवाद बुझ्न मन लागिरहेको थियो। कसरी अघि बढ्ने, कुन पुस्तक पढ्ने सोचिरहेकी थिएँ।
त्यत्तिकैमा एक दिन लोकपाटी मिडियाबाट मार्क्सवाद पढाउँदै छौं भन्ने खबर पाएँ। ढुङ्गा खोज्दा देवता भेटेझैं भयो मेरा लागि चाहिँ। करिब १६०० ईच्छुक साथीहरुमध्ये पहिलो र दोस्रो चरण गरी २५० जनालाई छानिएको रहेछ। त्यसमा म पनि पर्न सफल भएँ। बन्दाबन्दीको बेला देशका ७७ वटा जिल्लादेखि नै म लगायत सबै साथीहरु जोडिनुभएको रहेछ।
त्यसपछि नियमित ४० दिन जति अनलाइन कक्षा सञ्चालन भयो, त्यहाँ धेरै नयाँ कुरा सिक्ने र बुझ्ने मौका पाएँ। मार्क्सवाद नजिकबाट बुझ्दै जाँदा जीवन र जगतलाई हेर्ने मेरो दृष्टिकोण नै फेरियो। मेरा लागि केही बुझाइ र अनलाइन कक्षाका अनुभव एकदम नौलो थियो। प्रविधिको प्रयोगबाट आज घरमै बसेर पढ्न पाउँदा खुसी पनि लाग्यो।
मार्क्सवाद भनेको सामाजिक, आर्थिक विश्लेषणको विधि हो, जुन समाज विकासको भौतिकवादी नियमसँग सम्बन्धित छ। भौतिक विज्ञान र समाज विज्ञानका बीचमा रहेको अन्योन्याश्रित सम्बन्धले नै प्रकृति र मानिसलाई जोड्दछ। त्यही प्रकृति र मानिसको विकास, त्यसका सम्बन्ध र विकासको प्रक्रियालाई बुझ्ने र समाज बदल्ने एउटा युगान्तकारी दर्शन हो मार्क्सवादी दर्शन। त्यसलाई दार्शनिक रुपमा द्वन्दात्मक तथा ऐतिहासिक भौतिकवादका रुपमा बुझ्न सकिन्छ।
मार्क्सवाद हामी सबैका लागि महत्वपूर्ण विषय हो। यो कुनै राजनीतिमा लागेकाले मात्र बुझ्ने वा उनीहरुका लागि मात्र आवश्यक विषय होइन। मार्क्सवाद सामाजिक नियम र परिवर्तन चाहने हरेक व्यक्ति र आम जनताले बुझ्न अति आवश्यक छ।
मार्क्सवाद अन्तर्गत बिभिन्न विषयवस्तु पर्दछन्। जसमध्ये पहिलो नम्बरमा हामीले दर्शनको विषयमा पढ्यौं। म विज्ञानको विद्यार्थी, त्यसैले मेरा लागि यो सबै एकदम रमाइलो र नौलो विषय थियो। दर्शन पढ्न थालेपछि थाहा भयो, दर्शनको उत्पत्ति मानव ज्ञानको विकाससँगै भएको रहेछ। करिब १५ अर्ब वर्ष पहिले ब्रह्माण्डको स्वनिर्माण भएको थियो।
मार्क्सवादी दर्शनका अनुसार दर्शनका मुलतः दुई मौलिक प्रश्न छन्। १. वस्तु (पदार्थ) पहिलो कि चेतना ? वस्तुले चेतना जन्मायो कि चेतनाले वस्तु ? ईश्वरले प्रकृति बनाए कि प्रकृति र मान्छेले ईश्वरको कल्पना गर्यो ? २. के संसार बोधगम्य छ, अर्थात् के संसारलाई बुझ्न सकिन्छ ? यी २ वटा गम्भीर दार्शनिक प्रश्नको उत्तर खोज्ने क्रममा नै दर्शनका फरक धारा अस्तित्वमा आए।
जीवन र जगत पञ्चतत्व (पृथ्वी, जल, वायु, तेज र आकाश) बाट बनेको मान्ने दार्शनिकहरु भौतिकवादी हुन्। पहिलो भौतिकवादी दार्शनिक भारतीय दार्शनिक बृहस्पति हुन्। उनको दर्शनलाई चार्वाक वा लोकायत दर्शन भनिन्छ।
यी दुई प्रश्नमा पदार्थलाई पहिलो ठान्नेहरु भौतिकवादी हुन्, चेतनालाई पहिलो ठान्नेहरु आदर्शवादी वा आध्यात्मवादी हुन्। आज संसारमा जति पनि दार्शनिक धाराहरु छन्, मुलतः ती सबै धारा भौतिकवादी वा अध्यात्मवादी दर्शनको कित्तामा उभिन्छन्। यहाँ दर्शनको मुल प्रश्न अस्तित्व र त्यसको बोधगम्यतासँग आएर जोडिन्छ।
३५ दिन लामो अनलाइन कक्षामा दर्शनअन्तर्गत दर्शनको परिचय, उत्पत्ति र विकास, दार्शनिक सिद्धान्त, दर्शनशास्त्रको पद्धति, दर्शनको पक्षधरता, दर्शनको विषयवस्तु र महत्त्व, आदर्शवाद र यसका रुपहरु, द्वन्दात्मक भौतिकवाद र यसका रुपहरु, पदार्थ र गति, दिक र काल, भाषा र चेतना, भौतिकवादी द्वन्दवादका प्रवर्गहरु, मार्क्सवादी दर्शनका पूर्वाधारहरु, मार्क्सवादको विकासका चरणहरु, तत्वमिमांशा र ज्ञानमिमांशा, ज्ञान प्राप्तिका स्रोतहरु, सही विचार कहाँबाट आउँछ ? जस्ता विषयहरु अध्ययन गरियो।
यसैगरी ३५ दिन लामो कक्षामा ऐतिहासिक भौतिकवादअन्तर्गत वर्ग, वर्गको परिभाषा, उत्पत्ति र विकास, वर्गसंघर्ष, सामाजिक क्रान्ति र बलप्रयोग, समाज विकासका चरणहरु, राज्यको उत्पत्ति, विकास र यसको औचित्य लगायतका विषयमा अध्ययन गरियो। यसका साथै उत्पादन सम्बन्ध र त्यसको दर्शनसँग सम्बन्धबारे पनि दर्शनको कक्षामा अध्ययन गरियो।
कक्षामा राजनीतिक अर्थशास्त्रमा अर्थशास्त्रको परिचय, विभिन्न अर्थशास्त्री र उनीहरुले अघि सारेको विचार, मूल्यको श्रम सिद्धान्त, उत्पादन पद्धति, उत्पादन पद्धतिका चरणहरु, आधार र अधिरचना, पूँजीवाद र यसका विशेषताहरु, ज्याला र श्रमको मूल्यमा अन्तर, पूँजीवादमा मूल्यको नियम, अतिरिक्त मूल्यको सिद्धान्त, पूँजीवादी संकट र वर्गसंघर्ष, साम्राज्यवाद, उदारवाद, नवउदारवाद, साम्राज्यवाद, भूमण्डलीकृत साम्राज्यवाद, समाजवादी अर्थव्यवस्था, समाजवादी अर्थतन्त्रका विशेषताहरु, समाजवादी आर्थिक प्रणाली, समाजवादी राज्यको भूमिका लगायतका विषयहरु अध्ययन गरियो।
त्यसैगरी वैज्ञानिक समाजवादका क्षेत्रमा समाजवाद र यसका रुपहरु, वैज्ञानिक समाजवाद र यसका विशेषता, राज्यको भूमिका र पक्षधरता, कम्युनिष्ट पार्टी र यसका विशेषता, कम्युनिष्ट घोषणापत्र, क्रान्तिका मोडेल, क्रान्तिको कार्यदिशा, रणनीति र कार्यनीति, सर्वहारा अन्तर्राष्ट्रवाद, मार्गनिर्देशक सिद्धान्त, वर्गबिहीन समाजको अवधारणा, राज्यको बिलोपीकरण, साम्यवादी ध्येय र विशेषता, लेनिनवादी संगठनात्मक सिद्धान्त, असल कम्युनिष्ट कसरी बन्ने र नेपालमा मार्क्सवादको रक्षा, प्रयोग र विकास लगायतका विषय अध्ययन गरियो।
इतिहासअन्तर्गत ऐतिहासिक विद्रोह, फ्रान्सेली राज्यक्रान्तिदेखि विश्वभरि भएका क्रान्तिकारी आन्दोलन, समाजवादी सत्ता र त्यसका विभिन्न मोडेलबारे कक्षामा अध्ययन गरियो। नेपालको कम्युनिष्ट आन्दोलनलाई समेत ४ भागमा बाँडेर अध्ययन गर्ने अवसर मिल्यो। यसले नेपालको कम्युनिष्ट आन्दोलनका घटनाक्रम, चलेका बहस र गरिएका निर्णयहरुबारे केही ज्ञान दिलाएको छ।
यसका साथै कक्षामा विज्ञान प्रविधिका क्षेत्रमा भएका मूख्य आविस्कार, विज्ञान र दर्शनको सम्बन्ध र विज्ञानप्रति कम्युनिष्टहरुको सम्बन्धबारे पनि बुझ्ने अवसर मिल्यो। साथै नेपालमा कृषि र कृषिमा प्रविधिको प्रयोग र नेपाली अर्थतन्त्र लगायतका विषय पनि हाम्रो कक्षाका विषयहरु थिए। प्रत्येक कक्षामा हुने अन्तरक्रियाले हाम्रो अध्ययनलाई थप रोचक बनाउन मद्दत मिल्यो।
यसरी ३५ दिन लामो मार्क्सवादी अनलाइन कक्षाले मार्क्सवादका आधारभूत विषय बुझ्न र स्वअध्ययनको प्रक्रियालाई तिब्रता दिन मद्दत मिलेको छ। आशा छ, यो कक्षाले मेरो व्यक्तिगत र राजनीतिक जीवनमा एउटा शक्तिशाली प्रेरणाको काम गर्नेछ।



लोकपाटी न्यूज

