– बी बी श्रेष्ठ
सारमा जीवनको भावाशय नबुझनेहरुको भीडमा हराउँदा जीवनप्रति नै वितृष्णा जागेर आउँदो रहेछ। जीवनको गहिराई र यसको पृष्ठभूमिमा अन्तरंग केलाउँदा यसको उपदेयताले जीवनका कर्ममा कतै पनि मेल नखाँदा घृणाले तिल्विलाउँछ। यहि पेरिफेरिमा जीवनका पलहरुले थकित मुद्धामा व्यतित गरिरहदाँ अन्तरआत्मामा सन्तोषका श्वास फेर्ने विषय नै प्राप्त भएन।
सोच अनुरुप जीवनका परिभाषालाई परिभाषित गरेता पनि यसको निचोड भनेको निरन्तरता शिवाय अन्य हुन सकेन। समयको गतिमा लय मिलाउन नसक्दा सोचको त्यो उचाईमा बिर्को लगाउनुको विकल्प रहनेछ। सोचमा छाईरहयो, जीवनको यो पलमा समाज र देशप्रतिको जिम्मेवारीता कति वहन भयो ? कसैले नसोचे पनि दिमागमा प्रश्न चिन्ह खडा भईदियो। दशकौं बिताएको यो समयमा अबको उर्वरता भनेको शिखरबाट निहुरिने मात्र हो। अवस्था, समय, उमेर र अनुभवले यहि पुष्टि गरेको छ। यहि समय व्यतित गर्दा सोचमा विविधता आएता पनि यति धेरै झस्काएको भने धेरै भएको छैन।
समाज, परिवार र देश के चाहन्छ, यसको जवसम्म उचित निष्कर्षमा पुग्न सकिँदैन, जीवनको ध्येय पुष्टि हुन सक्दैन। चक्रको यो निरन्तरतमा समावेश भएर त्यसको पालना गर्नु शिवाय अन्य जीवनमा केहि भोग्ने चेष्टा नगरेको मानव जाति त्यहि निरन्तरतामा नै जीवनको अर्थ लगाउनेहरु वेग्रल्ती भेटिन्छन। त्यही भीडमा हराएको जीवनमा केहि नविन सोचले मस्तिष्कमा राज गर्न खोजेता पनि त्यसलाई पाखा लगाउने दुश्प्रयास पटक-पटक भए, तर पनि यसमा सफलता हात लागेन, रातको अन्धकारमा होस् वा चिसो सिरटोमा प्रश्न सोधिरहयो, जीवनको ध्येय यहि नै हो त ? हैन भने किन जीवन फरक बनेन्, सोचमा नविनताको सिर्जना किन भएन ? कर्ममा जीवनको फरक ध्येय खोज्ने प्रयत्न किन गरिएन ?
भौतिकतालाई प्राथमिकता दिएको सोचमा स्वार्थताको झुण्डले जीवनलाई बन्धक बनाईदियो। आफनै अगाडिको गतिविधि र प्रक्रियालाई सोच्ने, बुझने र त्यसको अन्वेषणमा कदापी मन गएन। स्वार्थताले जीवन गाजेपछि जीवनको ध्येय ओझेल पर्ने रहेछ। जब जीवनको ध्येय बुझिदैन, त्यहाँ मानवता र यथार्थता मलिन हुँदो रहेछ। यहि परिवेशमा आमको जीवन व्यतित भइरहेको छ र कालान्तरसम्म हुनेछ। यहि नै आम जीवनको निरन्तरता रहेछ।
भोजनका लागि नजिक आएको कागले पनि कराई कराई जीवनको ध्येय सोधेको अनुभूति भएको छ। यहि अनुभूतिभित्र पाकेको र पोलेको मस्तिष्कलाई शितल र शान्त बनाउनका लागिी जीवनका सार खोज्ने अभिप्रायले त्यति सहज तरिकाले उपलब्धता पाउन सक्दैन, यो विषयमा पनि शुद्धता भएता पनि समाधान र खोजीमा देखिएको तरलता कुनै पनि पल बगेर जाने त हैन भन्ने चिन्ताले थप उकुशमुकुश बनाएको छ। हरेक पलमा सकारात्मकभन्दा नकारात्मक पक्षले गाँजेको सन्दर्भमा यो सोचको सकारात्मक विकासमा किन यी मस्तिष्कहरु चलायमान बन्न सकेन ? कि यो पक्षमा पनि नकारात्मक सोचले अन्तरघुलित बनाईदियो ? जीवनका सारमा एकाग्रता जब हुन थाल्दछ, हरेक हावाका कणले पनि जीवनको बोध गराउँदो रहेछ। यहि जीवनको बोधभित्र ध्येयको परिभाषा खोज्न विवश बनाउँदो रहेछ। हरेकतामा सारभन्दा पनि साधनमा नै रम्नेहरुलाई जीवनका पलहरु केहि समयका लागि सरस लागेता पनि जीवनका उत्तरार्धमा जीवनका ध्येयका बारेमा चिन्ता होला कि नहोला ? मस्तिष्कमा नमेटिने गरी जरा गाडिदियो ।
अनुकुलतामा जीवन खोज्नेहरु प्राप्तिमा खुशी र त्यागमा दुखी हुने एकमात्र सत्यतालाई अंगाली यो जंजालमा बाधिएका हुँदो रहेछ। एकबारको जीवन भन्दैमा आफनो उत्तरदायित्वबाट बञ्चित हुने परिपाटीको अन्त्य कहिले होला ? के मानवको जीवन जीवनको ध्येयको प्रश्नबाट सधै भोगिरहन सक्लान ? वा जीवनको अन्त्यमा यहि प्रश्नले भाग्न नदिई बिगत सम्झेर पश्चातापको भूमरीमा भाग्यमा दोष दिँदै लिप्त हुन सक्लान? मानवविकासको क्रमसँगै आफनो जिम्मेवारिता र दायित्व बोधले के कमैलाई मात्र छुने हो र ? वा सवैलाई छोलान् ?
जन्म पछिको मृत्यृ शाश्वत सत्य भएता पनि जन्म र मृत्यृ बीचको यो समयमा मानव जातिको उत्तरदायित्व र जिम्मेवारीता कसले वहन गर्ने होला ? व्यक्तिगत रुपमा आर्थिक, समाजिक र भौतिक रुपमा सम्पन्नताले मात्र के जीवनको ध्येय पुष्टि होला र ?
जन्म पछिको मृत्यृ शाश्वत सत्य भएता पनि जन्म र मृत्यृ बीचको यो समयमा मानव जातिको उत्तरदायित्व र जिम्मेवारिता कसले वहन गर्ने होला ? समाज विकासक्रमको चरणलाई नियाल्ने हो भने पनि यसमा कसै न कसैले जिम्मेवारिता र जीवनको ध्येय पूरा गरेको कारण नै वर्तमान समाज यो अवस्थामा आईपुगेको कुरालाई नकार्न सकिँदैन। सहजतामा मात्र जीवन खोज्नेहरुलाई आफनो जिम्मेवारिता वोध कहिले होला ? व्यक्तिगत रुपमा आर्थिक, समाजिक र भौतिक रुपमा सम्पन्नताले मात्र के जीवनको ध्येय पुष्टि होला र ?
साधन र साध्यका बीचमा जब हामी घोत्लिन र फरक पाउन सक्दैनौ। जीवन केवल नाममात्रको शिवाय केहि बन्न सक्दैन। जब साधन र साध्यको महत्वमा सार पाउन सक्ने चेतनाको विकास जब हुन्छ, यो जीवन जीवन लाग्दैन। यहि नलागेको जीवनमा जीवनका सार र ध्येय खोज्ने अकल्पनीय सोचले कहिले सम्म पूर्णता पाउँला ? पुस्तान्तरणको निरन्तरतामा रहेको व्यक्तिले सोध्दा जीवनको ध्येयको पुष्टि कसरी गर्न सकिएला र ? जीवनको ध्येय के हो भन्ने प्रश्नको उत्तर कसरी दिन सकिएला र ?



लोकपाटी न्यूज

